नेप्सेमा भारी वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट


धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ ।  ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकम पनि आज उल्लेख्य वृद्धि भएको छ । कूल २२३ कम्पनीको चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर उकालो लागेको छ । होटल तथा पर्यटन २२.५ र सामूहिक लगानी कोष ०.२४ विन्दुले घटेको छ । यस्तै, बैंकिङ ७२.१४, व्यापार २.७१, विकास बैंक १३, जलविद्युत् ७१.६, निर्जीवन बीमा ४८.४२, उत्पादन ७१.८६, अन्य ६.६, लघुवित्त ८६.२३, जीवन बीमा ३०.८६ र लगानी ०.०४ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद बिक्री भए । यस्तै, ग्लोबल आइएमई बैंक रु ४९ करोड ४४ लाख ३९ हजार , एनसिसी बैंक रु ३४ करोड ७८ लाख ९८ हजार ५६८, अरुण काबेली पावर रु ३४ करोड दुई लाख ६५ हजार ५३७ र एनआइसि एशिया बैंक रु ३३ करोड ८० लाख ४५ हजार ३५१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार विशाल बजार कम्पनी, ङादी ग्रुप अफ पावर, सर्पोट माइक्रोफाइनान्स राधी विद्युत् कम्पनी पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हमालयन ऊर्जा विकास कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लक्ष्मी उन्नती कोष ३.९५, कुमारी इक्विटी फण्ड ३.७०, लक्षमी बैंकको ऋणपत्र ३.३०, ओरियन्टल होटल २.८८ र प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए । आजको कारोवारपछि बजार पूँजीकरण रु ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख ३३ हजार ७५६ बराबर पुगेको छ । रासस

यो पनि – नेपाल एयरलाइन्सको जहाजले हरेक महिना मलेसियाबाट शव ल्याउने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित नेपाली राजदूतावासको आग्रहमा महिनामा एक उडानबाट शव ल्याउन निगमको जहाज प्रयोग हुँदै आएको हो ।त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन् । राष्ट्रिय ध्वजाबाहक भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि मलेसियालगायत अन्य गन्तव्य मुलुकबाट निगमले नेपालीको शव ल्याएकोे थियो।

निगमका एक उच्च अधिकारीका अनुसार हरेक महिनाको कम्तीमा एक उडानबाट शव ल्याउन त्यहाँस्थित नेपाली दूतावासले पत्राचार गर्दै आएको छ । निगमले सबैभन्दा बढी मलेसियाबाट र अन्य खाडी मुलुकबाट पनि शव ल्याएको थियो । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको मलेसियामा हाल साढे तीन लाख नेपाली श्रमिक रहेको बताइन्छ ।

निगमको जहाजले गत शनिबार एकै उडानमार्फत २४ शव र तीन अस्तु नेपाल ल्याएको थियो भने गत २०७७ माघ १० मा एकैपटक १८ शव ल्याइएको थियो । कोभिड–१९ महामारी नियन्त्रणका लागि नेपालमा जारी निषेधाज्ञाका बेला निगमले हरेक महिना शव ल्याइरहेको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका नेपालीको मृत्यु भएपछि त्यहाँ शव अलपत्र अवस्थामा थियो ।

निगमको क्वालालम्पुरमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएकामा नेपाली कामदारको शव लिनाकै लागि वाइडबडी जहाज प्रयोग गर्ने गरिएको हो । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । रासस

यो पनि – नेपाल एयरलाइन्स जहाजमार्फत मलेसियाबाट २४ जना नेपालीको शव नेपाल ल्याइयो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ । निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ । गत असार २५ गते पहिलो उडानमार्फत आठ लाख मात्र खोप नेपाल ल्याइएको थियो । त्यस्तै साउन १ गते थप मात्राको खोप ल्याइएको थियो ।

यो पनि – ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरुमा कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो डोज ३९ हजार ८७९ ले लगाएकोमा दोस्रो डोज १३ हजार १७२ ले मात्रै लगाएका छन् । कोभिडसिल्ड अन्यलाई बाँकी रहेको छ ।

त्यस्तै भेरोसेल ५३ हजार ४९३ ले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये १० हजार ७६६ ले दोस्रो मात्रा पनि लगाएको तिवारीले जानकारी दिनुभयो । हालसम्म चितवनको जनसङ्ख्याको १३.५ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकिएको छ । जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ९७ हजार रहेको छ । समग्र देशको तुलनामा चितवनको खोप कभरेज बढी भएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “समग्र देशको सात प्रतिशत हाराहारीलाई खोप लगाउँदा चितवनमा १३.५ प्रतिशतलाई खोप लगाइएको छ ।”

जिल्लामा खोप अभियान निरन्तर हुने भएको छ । यही साउन ११ गतेदेखि भेरोसेल र १४ गतेदेखि जन्सनको खोप अभियान सञ्चालन हुन लागेको छ । यी दुवै अभियान सम्पन्न भएपछि ५० वर्षभन्दा कम उमेर समूहका लागि अभियान सञ्चालन हुने भएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले भन्नुभयो, “खोप अब नियमित हुन्छ, सबैले खोप पाउने अवस्था सिर्जना भएको छ ।” उहाँले अगाडि भन्नुभयो, “आफ्नो समूहको पालो कुर्नुहोस्, धैर्य गर्नहोस्, सबैले खोप पाउनुहुन्छ ।” राज्यले नै प्राथमिकता तोकेर खोप वितरण गरिरहेको भन्दै उहाँले आ–आफ्नो समूहमा खोप लगाउन सबैसँग आग्रह गर्नुभयो ।

यसैबीच साउन ४ गतेदेखि सञ्चालित खोप अभियानमा मौज्दात सकिएका कारण स्थगन भएर भेरोसेल खोपको पहिलो मात्रा बाँकी रहेकालाई साउन ११ गतेबाट १३ गतेसम्म खोप लगाइने भएको छ । प्रमुख तिवारीका अनुसार ५५ वर्ष र सोभन्दा बढी उमेर समूहका, विद्यालय र विश्वविद्यालयका शिक्षक, कर्मचारी र प्राध्यापक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिलाई यो खोप लगाइने छ ।

यस्तै साउन १४ गतेदेखि जन्सनको खोप लगाउन शुरु गरिने तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ्गता भएका, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जन्सन खोप लगाइने छ । अबका दिनमा खोप अभियान नियमित हुने भएकाले खोप तालिकाको प्रचारप्रसार र खोप केन्द्रको व्यवस्थापन सम्बन्धित पालिकामा रहेको नगर खोप समन्वय समिति नै गर्ने छ । यस्तै वडा खोप समन्वय समितिले सम्बन्धित वडाको खोपको व्यवस्थापन र प्रचारप्रसार गर्ने तिवारीले बताउनुभयो । ––– रासस

प्रतिक्रिया दिनुहोस