टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै


काठमाडौँ, ११ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ । यस्तै दुई स्वर्ण र तीन कास्यसहित कोरिया चौथो तथा एक स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

यसैगरी इटाली, अस्टे«लिया, फ्रान्स, हङ्गेरी, ट्युनिसिया, अस्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड र उज्बेकिस्तानले एक एक स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ४२ देशले पदक प्राप्त गर्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसक्नुभएको छ । दुवै जना पराजित भइसक्नुभएको छ । परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुहुनेछ । रासस

यो पनि – ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरुमा कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो डोज ३९ हजार ८७९ ले लगाएकोमा दोस्रो डोज १३ हजार १७२ ले मात्रै लगाएका छन् । कोभिडसिल्ड अन्यलाई बाँकी रहेको छ ।

त्यस्तै भेरोसेल ५३ हजार ४९३ ले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये १० हजार ७६६ ले दोस्रो मात्रा पनि लगाएको तिवारीले जानकारी दिनुभयो । हालसम्म चितवनको जनसङ्ख्याको १३.५ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकिएको छ । जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ९७ हजार रहेको छ । समग्र देशको तुलनामा चितवनको खोप कभरेज बढी भएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “समग्र देशको सात प्रतिशत हाराहारीलाई खोप लगाउँदा चितवनमा १३.५ प्रतिशतलाई खोप लगाइएको छ ।”

जिल्लामा खोप अभियान निरन्तर हुने भएको छ । यही साउन ११ गतेदेखि भेरोसेल र १४ गतेदेखि जन्सनको खोप अभियान सञ्चालन हुन लागेको छ । यी दुवै अभियान सम्पन्न भएपछि ५० वर्षभन्दा कम उमेर समूहका लागि अभियान सञ्चालन हुने भएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले भन्नुभयो, “खोप अब नियमित हुन्छ, सबैले खोप पाउने अवस्था सिर्जना भएको छ ।” उहाँले अगाडि भन्नुभयो, “आफ्नो समूहको पालो कुर्नुहोस्, धैर्य गर्नहोस्, सबैले खोप पाउनुहुन्छ ।” राज्यले नै प्राथमिकता तोकेर खोप वितरण गरिरहेको भन्दै उहाँले आ–आफ्नो समूहमा खोप लगाउन सबैसँग आग्रह गर्नुभयो ।

यसैबीच साउन ४ गतेदेखि सञ्चालित खोप अभियानमा मौज्दात सकिएका कारण स्थगन भएर भेरोसेल खोपको पहिलो मात्रा बाँकी रहेकालाई साउन ११ गतेबाट १३ गतेसम्म खोप लगाइने भएको छ । प्रमुख तिवारीका अनुसार ५५ वर्ष र सोभन्दा बढी उमेर समूहका, विद्यालय र विश्वविद्यालयका शिक्षक, कर्मचारी र प्राध्यापक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिलाई यो खोप लगाइने छ ।

यस्तै साउन १४ गतेदेखि जन्सनको खोप लगाउन शुरु गरिने तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ्गता भएका, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जन्सन खोप लगाइने छ । अबका दिनमा खोप अभियान नियमित हुने भएकाले खोप तालिकाको प्रचारप्रसार र खोप केन्द्रको व्यवस्थापन सम्बन्धित पालिकामा रहेको नगर खोप समन्वय समिति नै गर्ने छ । यस्तै वडा खोप समन्वय समितिले सम्बन्धित वडाको खोपको व्यवस्थापन र प्रचारप्रसार गर्ने तिवारीले बताउनुभयो । ––– रासस

प्रतिक्रिया दिनुहोस