एफएनजे युके वर्ष पत्रकारिता पुरस्कारबाट पत्रकार खनाल सम्मानित


लण्डन, १३ साउन (रासस) : नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गरेको छ । पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेलले ५०२ पाउण्ड राशि, निवर्तमान अध्यक्ष नरेश खपाङ्गी मगरले सम्मानपत्र र वर्तमान अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गर्नुभएको हो ।

खनालको हिमालखबर डटकममा विसं २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह’ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको अध्यक्ष अर्याल बताउनुभयो । पत्रकारिता, वृत्तचित्र निर्माण र पुस्तक लेखनमा पनि सक्रिय खनालले तीनवटा पुस्तक प्रकाशित गरिसक्नुभएको छ ।

पुरस्कार ग्रहण गर्दै पत्रकार खनालले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययनका बेला र पत्रकारिता अभ्यासका क्रममा असल सम्पादकहरुसित काम गर्न पाएका कारण आफू अहिले यस स्थानमा आइपुग्न सक्षम भएको बताउनुभयो । साथै उहाँले आफूलाई यो पुरस्कार प्रदान गर्ने युके शाखालाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस अवसरमा शाखाका निवर्तमान अध्यक्ष मगरले बेलायतमा रहेका नेपाली पत्रकारबाट खोजमूलक समाचार सामग्री लेखनमा प्रोत्साहन दिन पुरस्कार स्थापना गरिएको जानकारी दिनुभयो । शाखाले बेलायतमा कार्यरत नेपालीमूलका पत्रकारद्वारा सम्प्रेषित उत्कृष्ट समाचारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले यसै वर्षदेखि सो पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको राशि एकल भए ५०२ पाउण्ड र दुई जनालाई भए जनही २५१ पाउण्ड साथै सम्मानपत्र राखिएको बताउनुभयो । पुरस्कृत पत्रकार छनोटका लागि डा कृष्ण अधिकारीको संयोजकत्वमा डा प्रियवदा पौड्याल, खपाङ्गी मगर र डा जगन कार्की रहेको छनोट समिति गठन गरिएको थियो ।

यो पनि – राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

सिन्धुली, १३ साउन (रासस) : सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गर्नुभएको थियो । नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडाँै कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस