रोजगारीका लागि अमेरिका पुगेका २८ वर्षीय नेपाली युवाको मृत्यु


पर्वत, १७ साउन (रासस) : रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो । विगत पाँच वर्षअघि मात्र अमेरिका पुग्नुभएका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आउनुभएको थियो । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उहाँलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्दले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताउनुभयो ।

यो पनि – गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

–गणेश खनियाँ, टोकियो, १७ साउन (रासस) : गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनुभएको छ । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उहाँ निर्वाचित हुनुभएको हो । जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको थियो ।

निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो । नवनिर्वाचित पौडेलले तीन हजार ३८ र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गर्नुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित हुनुभएको छ । यसपटक कूल २९ पदका लागि ५९ ले उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस