काबुलमा ४२ नेपाली उडानको प्रतीक्षामा


काठमाडौँ, ९ भदौ (रासस) : अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ । कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्धरूपमा उद्धारको पर्खाइमा रहनुभएका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका तर त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनका निरन्तर समन्वय भइरहेको मन्त्रालयले आज साँझ विज्ञप्ति निकालेर जनाएको हो । मन्त्रालयले अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा आफ्नो नामसहितको विवरण दर्ता गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ ।

यो पनि – कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरिने

काठमाडौँ, ९ भदौ (रासस) : नवगठित नेकपा (एकीकृत समाजवादी) ले मुलुक र जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन अपिल गरेको छ । नेकपा एमालेबाट अलग भएका नेताहरु सम्मिलित सो दलका तर्फबाट आज निर्वाचन आयोगमा सनाखत गरिएपछि प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता सङ्घीय संसद्का सदस्यलगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन गरिएको छ ।

कम्युनिष्ट आन्दोलनलाई बदनाम बनाउँदै समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गरिएको सो दलले जनाएको छ । सनाखतमा सङ्घीय संसद्का ३४, नेकपा (एमाले)को केन्द्रीय कमिटीमा रहेका ५९ सदस्य निर्वाचन आयोगमा पुग्नुभएको थियो ।

यो पनि : सङ्घीयतालाई जोगाउन जस्तोसुकै त्याग गर्ने– जसपा अध्यक्ष यादव

मोरङ, ९ भदौ (रासस) : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन जस्तोसुकै त्याग गर्न पछि नपर्ने बताउनुभएको छ ।पार्टीको आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले मुलुकमा विसं २००७ र २०४६ का परिवर्तनलाई उल्टाउने कार्य भएको इतिहास रहेको हुनाले वर्तमान उपलब्धिलाई संस्थागत गर्नुपर्ने जिम्मेवारी पार्टीको काँधमा रहेको विचार व्यक्त गर्नुभयो ।

उहाँले जनताले पाएको अधिकारलाई जोगाउनु, संरक्षण र संस्थागत गर्नु पार्टीको पहिलो लक्ष्य भएको चर्चा गर्दै विभेद र असमानतालाई हटाउन संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष यादवले मुलुकको आर्थिक विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, जलस्रोत र पर्यटन क्षेत्रको विकास गरी नेपाललाई दातृराष्ट्र बनाउन हामीसबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।अध्यक्ष यादवले पूर्वअध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्नु भनेको तर उहाँ पियन बन्न खोज्नु भएकाले चोइटिएर जानुभएको उल्लेख गर्नुभयो ।

पार्टीका वरिष्ठ नेता अशोककुमार राईले पूर्वसरकारले संसद् विघटन गर्ने कार्य सङ्घीयतामाथिको खड्ग प्रहार भएकाले विरोध गरेको चर्चा गर्दै कार्यकर्ताले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको सदैव विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।नेता राईले आगामी निर्वाचनका लागि अहिलेदेखि नै तयारी थाल्न आग्रह गर्दै चारमहिने पार्टी सुदृढीकरण र जनपरिचालन (सुज) अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

पार्टीका कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादवले मुलुकको मुख्य शत्रु भनेको गरिबी हो भन्दै तराई, पहाड र हिमालका जनतालाई एकजुट बनाई समृद्धि ल्याउने बताउनुभयो ।उहाँले सरकारले सबै जनतालाई कोरोनाको खोप, बाढीपीडितलाई राहत र चुरे संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो । अभिमुखीकरणमा प्रदेशका १४ जिल्ला कार्यकर्ताको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस