खगोल विज्ञानमा अनुसन्धान गर्न दुबईस्थित एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता


काठमाडौँ, ११ भदौ (रासस) : नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदानप्रदान गर्न दुबईस्थित एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता गरेको छ । सम्झौतापछि सोसाइटीले सो विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत अन्तरिक्ष विज्ञानका विद्यार्थीलाई यस क्षेत्रमा हासिल गरेका ज्ञानका विषयमा तालिम दिइएको छ । सोसाइटीले १४औँ वर्ष पूरा गरी १५औँ वर्ष प्रवेश गरेका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुरेश भट्टराईले सो विश्वविद्यालयसँग दुई वर्षअघि सम्झौता गरी यस क्षेत्रमा काम गर्ने जनशक्ति आदानप्रदान गर्ने वातावरण बनेको जानकारी दिनुभयो ।

सोसाइटीले दुबईका विद्यार्थीलाई क्षुद्रग्रह खोज्नसमेत सिकाएको छ । कोरोना महामारीका कारण नेपालले भने सो विश्वविद्यालयसँग सिक्ने अवसर नबनेको सोसाइटीले जनाएको छ । कार्यक्रममा दुबईको विश्वविद्यालयमा अन्तरिक्ष विज्ञानमा प्राध्यापन गर्दै आउनुभएका शरत्राज नन्दराजन अंसारी श्यामलाले दुई संस्थाबीचको सहकार्यले खगोल र अन्तरिक्ष विज्ञान विषयमा फाइदा पुगेको बताउनुभयो ।

मेक इञ्जीनियरिङका अर्केट महर्जनले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा टेलिस्कोपको उपयोगिताका बारेमा प्रकाश पार्नुभयो । पुल्चोक इञ्जीनियरिङ क्याम्पसका उपप्राध्यापक डा सुदीप भट्टराईले नेपालमा अन्तरिक्ष विज्ञान अध्ययन, अध्यापन पुल्चोकमा भइरहेको जानकारी दिनुभयो । यस विषयमा चारवर्षे स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थीले एक वर्षपछि सो तह पूरा गर्न लागेको उहाँले सुनाउनुभयो । त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक दयानिधि छत्कुलीले नेपालमा खगोल विज्ञानको अध्ययन अध्यापन हुन थालेपछि यस विषयमा रुचि राख्नेको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो ।

सोसाइटीका आजीवन सदस्य प्रेमराज जोशीले सुदूरपश्चिम प्रदेशका विद्यालय तहका विद्यार्थीमा खगोल विज्ञानका विषयमा चासो बढेको बताउनुभयो । विद्यार्थी र शिक्षकको पहुँचमा टेलिस्कोप नभएकाले अध्ययन अनुसन्धानमा बाधा पुगेको उहाँको भनाइ थियो ।

विसं २०६४ मा नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी जनचेतनामूलक गतिविधि गर्ने उद्देश्यले सोसाइटीको स्थापना गरिएको थियो । सोसाइटीको स्थापनापछि यस क्षेत्रमा अध्ययन एवं अनुसन्धानका लागि वातावरण बनेको हो ।

यो पनि – कुश्माकी एक महिलाको कुवेतमा मृत्यु

पर्वत, ११ भदौ (रासस) : रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उहाँको मृत्युको कारण खुलेको छैन ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उहाँले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ । बयालीस वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ । दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने आइसकेको छैन । पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ ।

यो पनि – गौरा पर्व सुरु, आज पहिलो दिन बिरुडा भिजाइँदै

– विमलबहादुर विष्ट र विनोदसिंह विष्ट डोटी, ११ भदौ (रासस) : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । यस पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।

डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा आज यहाँको प्रसिद्ध पर्व गौरा देवीको प्रसाद बिरुडा भिजाइँदै छ । गौरा पर्वको पहिलो दिन आज यहाँका विवाहित महिलाले नजिकैको धारा तथा पँधेरामा गएर पाँच प्रकारका गेडागुडी (गहत, मकै, गुराउँस, कलौ र गहुँ) बाट बनाइएका बिरुडा भिजाउन थालेका छन् । गौरापर्व मनाउने समुदायका महिलाले निरहार बसी आ–आफ्नो घरमा तामा वा पित्तलका भाँडामा बिरुडा अर्थात् पाँच थरिका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिकरूपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउने चलन रहेको दिपायल सिलगढी नगरपालिका–४ की खिमादेवी विष्टले बताउनुभयो ।

गौरा पर्व अर्थात् भाद्र महिनालाई हरियाली अनि पानीका थोपाहरुसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाले सौभाग्यका रूपमा मनाउने चलन रहेको जोरायल गाउँपालिका–४ गड्सेराका स्थानीयवासी तथा पण्डितडिल्लीराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “भदौ महिना हरियालीसहित शुभ महिना मानिन्छ, यो महिना विवाहित महिलाको सौभाग्य महिनाका रूपमा हेरिन्छ ।”

जिल्लाका विभिन्न ठाउँमा गौरा पर्व मनाउने चलन रहे पनि सबैभन्दा बढी जोरायल, गड्सेरा, दिपायल राजपुर, फलेडीलगायतका ठाउँमा मनाउने गरिन्छ । भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्र शुक्ल षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिककार्य आयोजना गरेर मनाइने चलन रहेको सायल गाउँपालिकाका ज्योतिष (पण्डित) चेतराज उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार गौरा पर्व विशेषगरी छिमेकी मुलुक भारत कुमाउँ तथा यहाँ परापूर्वकालदेखि नै मनाइँदै आएको छ । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीले आफ्नो सतित्व रक्षार्थ निरहार रही गरेका उपासनाको फलस्वरुप तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी त्यही सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती रहेको यहाँका बूढापाका बताउँछन् ।

बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिकरूपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याइन्छ । गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने परम्परा रहेको दिपायल सिलगढी–२ का स्थानीयवासी तथा पण्डित मेखराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

ठाउँअनुसार गौरा पर्वका अवसरमा सुदूरपश्चिमका बासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने चलन छ । मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख, शान्ति प्राप्त हुने, इष्ट कुलदेवता प्रशन्न हुने र परिवारमा सुख, शान्ति हुने जनविश्वास रहेको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । सुदूरपश्चिमेलीले दशैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन् । त्यसैले गौरामा एकै छिन भए पनि डेउडामा रमाउन परदेशिएका पनि घरपरिवार सम्झिएर फर्किने गर्छन् । गौरामा विवाहित चेली पनि माइत आउने चलन छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्ला र कुमाउँमा परापूर्वकालदेखि नै मनाइँदै आएको पर्व हो । यस वर्ष भने कोरोना महामारीका कारण गौराको खासै रौनक देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस