याक्थुङ मुनचइत चोक सयङको महाधिवेशन कात्तिकमा हुने


काठमाडौँ, १२ भदौ । याक्थुङ मुन चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ) को चौंथो महाधिवेशन आगामी २९ र ३० कार्तिकमा ललितपुरस्थित चुम्लुङहिममा हुने भएको छ । सयङको शुक्रबार राजधानीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङको संयोजकत्वमा लोकेन साँवा र लक्ष्मी योङ्हाङ सदस्य रहेको विधान मस्यौदा समिति गठन गरेको छ । त्यसैगरी कोषाध्यक्ष राजशुक्र लिम्बुको संयोजकत्वमा कृष्णराज नेम्बाङ, मनु लिम्बू, हाङ चेम्जोङ र पुष्पा तिलिङ मादेन सदस्य रहेको आर्थिक उपसमिति गठन गरेको छ ।

त्यस्तै आदिवासी जनजाति चलचित्र महासंघमा दिनेश लिङ्देन र रुपा आङ्बुहाङलाई प्रतिनिधि र पर्ययवेक्षकमा लक्ष्मी योङ्हाङ र बिबि लिम्बुलाई सिफारिस गर्ने पनि बैठकले निर्णय गरेको छ । महासचिव वनेम बिक्रम फागोको संयोजकत्वमा सन्देश सुब्बा, सैलेन्द्र थेबे, डिआर हाङ्सरुम्बा र रुपा आङ्बुहाङ सदस्य रहेको संस्थाको स्मारिका प्रकाशन समिति समेत गठन भएको छ ।

यो पनि – ‘महामारीमा मिडिया’ सार्वजनिक

काठमाडौँ, ११ भदौ  : कोभिड–१९ को महामारीले नेपाली सञ्चार क्षेत्रमा पारेको असरसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च – नेपालले प्रकाशन गरेको रिपोर्टले कोभिड–१९ का कारण लकडाउन हुँदा सञ्चार क्षेत्र आर्थिकरुपले समस्यामा परेको र त्यसको असर पत्रकारमा परेको देखाएको छ ।

अध्ययन प्रतिवेदनमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापामाध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन कमी भएको, आमसञ्चारमाध्यमको आम्दानी घटेको, पत्रकारलाई जागिरबाट निकालिएको र समयमा पारिश्रमिक नपाएको उल्लेख छ । यस्तै, पारिश्रमिक घटाइएको, बिदा दिइएको, बिना पारिश्रमिक पनि पत्रकारले काम गरेको उल्लेख छ । रिपोर्टअनुसार प्रकाशन तथा प्रसारण भएका आमसञ्चार माध्यमका लागि सामग्री सङ्कलन गर्न कठिनाई भएको र त्यसको प्रभाव गुणस्तरसमेतमा परेको थियो ।

कोभिड–१९बाट पत्रकार सङ्क्रमित हुनुका साथै निधन भएको, पत्रकारमा मनोवैज्ञानिक असर परेको र पत्रकारिताको भविष्यप्रति अन्योल सिर्जना भएको रिपोर्टमा उल्लेख छ । आर्थिक समस्या र स्वास्थ्य सम्वेदनशीलता हुँदाहुँदै पनि पत्रकार समाचार सङ्कलन तथा प्रकाशन तथा प्रसारणमा खटिएको पनि रिपोर्टले देखाएको छ । सङ्कटका बेला आम्दानी कम भए पनि मिडियालाई टिकाउनु नै महत्वपूर्ण पक्ष रहेको मिडिया सञ्चालकको भनाइ छ ।

अध्ययन अनुसार विपद्लाई सामना गर्ने गरी नेपाली मिडियाको पूर्वतयारी नभएको र त्यसो हुँदा मिडिया सञ्चालक र पत्रकार मारमा परेको पनि देखाएको छ । छापामाध्यमका सञ्चालकले अनलाइनलाई जोड दिएको र जागिर गुमाएका पत्रकारले अनलाइनलाई विकल्पका रुपमा लिएको पनि रिपोर्टमा उल्लेख छ ।

मिडिया र पत्रकारलाई सहयोग गर्न सरकारले रेडियो टेलिभिजनको नविकरणमा छुट दिएको, प्रदेशमा पत्रकारलाई बिमा, लेखनवृत्तिका साथै जनचेतनामूलक सामग्रीमार्फत सहयोग गरेको तर पत्रकारले त्यसभन्दा बढी सहयोगको अपेक्षा गरेको पनि रिपोर्टमा उल्लेख छ ।

प्रतिवेदनमा सङ्घ, प्रदेश र स्थानीय तहले विपद्मा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने कुरालाई मनन् गरी स्वतन्त्र र व्यावसायिक आमसञ्चारमाध्यमको अस्तित्व कायम राख्न सहयोग हुने गरी नीति निर्माण गर्नुका साथै विपद्को अवस्थामा तत्काल राहत तथा सहयोग हुने कार्यक्रम ल्याउन सुझाव दिइएको छ ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेश दाहालले गुणात्मक विधि अपनाएर तयार पारिएको अध्ययन प्रतिवेदनले लकडाउनका बेला सातवटै प्रदेशका मिडिया र पत्रकारले भोग्नुपरेका समस्या तथा चुनौतीलाई मिहिनरुपमा बुझ्न सहयोग पुग्ने बताउनुभयो ।

प्रदेशगत अध्ययन २०७७ साल मङ्सिरसम्म प्राप्त जानकारीका आधारमा गरिएको छ भने रिपोर्टको मूल लेखमा २०७८ साल साउनसम्मको विवरण समावेश गरी आगामी दिनमा विपद्को सामना गर्न सरकार, आमसञ्चारमाध्यम, पत्रकार, पत्रकारका सङ्घसङ्गठनलगायतले निर्वाह गर्नुपर्ने भूमिकाबारे सुझाव दिइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले कोभिड–१९ बाट थिलोथिलोमा परेको मिडिया क्षेत्रको पुनःउत्थानका लागि अभियान नै चलाउनुपर्ने बताउनुभयो । फेडरिक इवर्ट स्टिफटुङ्ग (एफइएस) नेपालका आवासीय प्रतिनिधि जोनाथन मेन्जले कोभिड–१९ का कारण मिडियाको चक्र र व्यावसायिक पक्षमा धेरै परिवर्तन आएको भन्दै सङ्कटका बेला गुणस्तरीय पत्रकारिताको विशेष महत्व हुने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस