सामाजिक सञ्जालमा ‘युवाहरु चर्चित हुने नाममा बिना अध्ययन बोल्छन्’


नेपाली युवा सामाजिक सञ्जालमा ‘भाइरल’ हुने नाममा बिना अध्ययन बोल्ने गरेको पाइएको छ । ग्लोबल युथ पार्लियामेन्टले शुक्रबार साँझ यहाँ आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा वक्ताले युवाले कतिपय मुद्दामा बिना अध्ययन र तथ्य बोल्ने तथा अफवाह फैलाउने गरेको बताइएको हो ।  राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवालाई भ्रमबाट जोगाउन शिक्षामा लगानी गर्नुपर्ने बताउनुभयो । “बिना अध्ययन युवा बोल्दा समाजमा गलत सूचना प्रभाव भइरहेको छ, यसलाई रोक्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ पत्रकार टीकाराम यात्रीले अभियानकर्मीले प्राप्तिको आकांक्षा नराखी काम गर्न सक्दा समाजले उनीहरुबाट लाभ लिन सक्ने बताउनुभयो । समाजमा अफवाह फैलाएर नयाँ पुस्तालाई गलत बाटोतिर तानिरहेको उहाँको भनाइ थियो । मानवअधिकारवादी एवं पत्रकार राजन कुइँकेलले सामाजिक अभियानका नाममा अभियानकर्मीले आफू लोकप्रिय हुन गलत सूचनाको सहारा लिने गर्दा समाजमा बिग्रह ल्याउने सुनाउनुभयो । संसारमा आपत्विपत्, प्रकोप र महामारीजस्ता समयमा ल्याइने गलत सूचनाको बाढीले युवासहित समाजको तप्कालाई भ्रममा राख्ने गरेको उहाँको भनाइ थियो ।

नायिका रेखा थापाले विगत लामो समयदेखि युवालाई राजनीतिक दलले प्रयोग मात्र गरेको र उनीहरुको व्यक्तित्व निर्माणमा बेवास्ता गरेकाले आज समाजमा त्यसको असर देखिएको बताउनुभयो । ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले विषयवस्तु माथि राम्रो ज्ञान नराखी प्रचारको लागि मात्र गरिने कामले समाजलाई गलत बाटोमा हिँडाउने सुनाउनुभयो । कार्यक्रमका अन्य वक्ताले विरोधको पछाडि प्रमाणित तर्क, त्यसको विकल्प र समाधन दिनेभन्दा पनि आफू लोकप्रिय बन्न चर्को विरोध गर्ने र कुतर्क पेश गर्नेहरु नै अभियानकर्मीका रुपमा चर्चामा रहेको बताउनुभएको थियो ।

यो पनि – बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा क्षति

अनौखी खोला र धारापानी नदीको बाढीले शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका शङ्कर साउदको माछापोखरी र बङ्गुरको खोर बगाएको छ । दुई दिनअघि आएको बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा रु आठ लाख बढीको क्षति भएको छ । खोरमा पालिएका बङ्गुर र माछापोखरीमा रहेका माछा बाढीले बगाएपछि क्षति व्यहोर्नु परेको साउदले बताउनुभयो । “ऋण निकालेर माछापालन र बङ्गुरपालनमा लागेको थिए”, उहाँले भन्नुभयो, “बाढीले बगाएर बिजोग पारेको छ ।” बाढीले विद्युत्का पोलसमेत बगाएका कारण दुई दिनदेखि बेलडाँडी गाउँमा विद्युत् सेवा अवरुद्ध रहेको स्थानीयवासी सुरत साउदले बताउनुभयो ।

विद्युत्का पोल बगेपछि २०० परिवार अँध्यारोमै बस्न बाध्य भएको उहाँले जानकारी दिनुभयो । मणिका धाम जाने सडकसमेत नदीले कटान गरी बगाएकाले स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ । चुरे क्षेत्रमा भएको बर्षाका कारण तराई क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढी आएको थियो ।

यो पनि – पहिराले अवरुद्ध बुडर–जोरायल सडक सञ्चालन

वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिराले अवरुद्ध भएको सडक स्थानीयवासी, प्रहरी तथा स्काभेटरको सहायतामा आज बिहानदेखि सञ्चालन भएको अस्थायी ट्राफिक पोष्ट बुडरका प्रमुख हर्क साउदले जानकारी दिनुभयो । पहिराका कारण उक्त सडक खण्डका विभिन्न ठाउँमा आएका पहिरा पन्छाइएपछि त्यहाँको यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस