पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार


काठमाडौँ, १२ भदौ (रासस) : साहित्य सन्ध्याले नियमित मासिक ४१९औँ शृङ्खलाका अवसरमा विभिन्न पाँच स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । भर्चुअलरुपमा आयोजित सो कार्यक्रममा रु पन्ध्र हजार राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अनिता लामा र रु पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ डा राजेन्द्रप्रसाद अधिकारीले पाउनुभयो ।

यस्तै रु १० हजार राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’ द्वारा डा शेषराज आचार्यलाई सम्मानित गरियो भने रु १० हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं पुरस्कार तथा सम्मान’ द्वारा नियात्राकार प्रतीक ढकाललाई दिइयो । ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ द्वारा तिलबहादुर कार्कीलाई सम्मानित गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ती पुरस्कार हस्तान्तरण गर्नुभएको हो । साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विधान आचार्य र यशोदा अधिकारी रहेको तीन सदस्यीय ‘स्रष्टा चयन समिति’ को छनोटबाट पुरस्कार दिइएको थियो ।

यो पनि – बाढीपीडित परिवारलाई स्वास्थ्य सामग्री वितरण

कञ्चनपुर, १२ भदौ (रासस) : दोदा नदीको बाढीले घर डुबानमा परेपछि सुरक्षित स्थानमा राखिएका पुर्नवास नगरपालिका–५ सिमरीका ६० परिवारलाई आज स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुर र नगरपालिकाले संयुक्तरूपमा बाढीपीडित परिवारलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । भीमसेन सत्सङ्ग भवनमा राखिएका बाढीपीडित परिवारलाई मास्क, स्यानिटाइजर, साबुन, जीवनजल, सिटामोललगायतका सामग्री वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर धामीले बताउनुभयो ।

पानीको मुहान दूषित भई टाइफाइड, पखाला, रुघाखोकी, भाइरल ज्वरोलगायतका सङ्क्रामक रोग लाग्नबाट बाढीपीडित परिवारलाई जोगाउनका लागि स्वास्थ्य सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । “पानी शुद्धीकरण गरेर मात्रै पिउनका लागि प्रयोगमा ल्याउन भनेका छौँ”, उहाँले भन्नुभयो, “बाढीले सिर्जित गरेको समस्याका कारण बिरामी कोही पनि नपरोस् भन्ने मनसायका साथ कार्य अगाडि बढाएका छौँ ।”

शुक्रबार बिहान ३ बजे दोदा नदीको बाढी बस्तीमा छिरेपछि घर डुबानमा परेका झण्डै ७० बढी परिवारलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसका स्वयंसेवकले उद्धार गरी सुरक्षित स्थानमा सारेका थिए । बाढीको पानी घट्दै गएपछि डुबान क्षेत्रमा समेत पानी सुक्दै गएको छ । स्थानीय बासिन्दाका डुबानमा परेका परिवारका घरभित्र लेदो माटो ल्याएर थुपारिदिँदा बस्न सक्ने अवस्था छैन ।

घरभित्र रहेको लेदो माटो हटाउने काममा स्थानीय बासिन्दा जुटेका छन् । स्थानीय बासिन्दका अनुसार डेढ दशकअघिसमेत यसैगरी बस्तीमा नदीको बाढी छिरेको थियो ।

प्रतिक्रिया दिनुहोस