२५ किलो सालकको खबटासहित दुई पक्राउ


प्रहरीले २५ किलो सालकको खबटासहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौँको टोलीले रामेछाप प्रहरीको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीबाट उनीहरुलाई पक्राउ गरेको हो । वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि विशेष सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो ।

ब्युरोले आज एक सूचना जारी गरी उनीहरुलाई थप कारवाहीका लागि जिल्ला डिभिजन वन कार्यालयमा बुझाएको छ । उनीहरुको साथबाट प्रहरीले २५ किलो सालकको खबटा बरामद गरेको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिनुभयो ।प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसैबीच विगत केही समयदेखि व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै त्यसको कर चुक्ता गर्न भन्दै रकम माग गरेको खुल्न आएकाले त्यस्ता गतिविधिप्रति सावधानी अपनाउन प्रहरीको साइबर ब्युरोले अनुरोध गरेको छ । बैंक तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको पाइएपछि यस्ता भ्रामक कुरामा विश्वास नगरी ठगी हुनबाट बच्न ब्युरोले आज एक सूचनामार्फत अनुरोध गरेको हो । सामाजिक सञ्जाल भाइबर, ह्वाट्स्एप, इमो लगायतबाट भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी प्रलोभनमा पार्दै ठगी हुने गरेको उक्त ब्युरोले जनाएको छ ।

यो पनि – ४४ लाख भेरोसेल खोप लिन जहाज आज चीन जाने

सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप भोलि चीनबाट ल्याइने जानकारी दिनुभयो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

यो पनि – पछिल्लो २४ घण्टामा थप १५११ जनामा कोरोना संक्रमित,१६८९ जना कोरोना संक्रमणमुक्त

काठमाडौं,३१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११२०८ पीसीआर र ३९७१ एन्टीजेन परीक्षणमा  १५११जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८८ हजार १८७ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार ६८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो पनि – बेलायतमा एकै दिनमा तीस हजारभन्दा बढी कोरोना सङ्क्रमित

३१ भदौ (रासस ÷सिन्ह्वा) ः बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बृद्धि भएको बताइएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार यहाँ एकैदिनमा ३० हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । यहाँको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार गएको २४ घन्टामा ३० हजार ५९७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सङ्क्रमित हुनेको संख्या अघिल्लो हप्ताको तुलनामा निकै बढेको बताइएको छ ।

यससँगै बेलायतमा कुल सङ्क्रमितको संख्या ७३ लाख १२ हजार ३७१ पुगेको छ । यहाँ केही दिनयता खुकुलो गरिएको लकडाउनपछि सङ्क्रमित संख्या दैनिक उकालो लाग्दै गएको हो । यसैगरी पछिल्लो २४ घन्टामा थप २०१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनमा यहाँ दैनिक मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको पाइएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

यो पनि -चीनको सिचुआनमा भूकम्प ः तीनको मृत्यु, ६० घाइते

३१ भदौ (रासस÷सिन्ह्वा) ः चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ । घाइतेहरु सवैलाई स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यवसायीक उद्धारकर्मीहरु परिचालन गरिएको र अन्य स्वयमसेवक तथा स्थानीय बासिन्दाहरु पनि खोजी तथा उद्धार कार्यमा खटिएको जनाइएको छ ।

त्यसैगरी अरु चार हजार ६०० उद्धारकर्ताहरु तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । प्रारम्भीक विवरणका अनुसार ७३७ घरहरु भत्कीएका छन भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ । त्यसैगरी सात हजार २९० घरमा सामान्य क्षति भएको छ ।
घर बाहेक अन्य भाैितक संरचनाहरुमा पनि क्षति पुगेको देखिएको छ । खोजी तथा उद्धारसँगै क्षतिको विवरण संकलन गर्ने कार्य पनि भइरहेकाले पूर्ण विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस