भौतिकरुपमै विश्व पर्यटन दिवस मनाइने


बयालिसौँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । कोभिड–१९ महामारीकैबीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरुपमा दिवस मनाउने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्था लागिपरेका हुन् । सोही प्रयोजनका निम्ति पर्यटन मन्त्रालय मातहतका निकाय प्रमुखबीच हालै भर्चुअल बैठक गरियो । पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अध्यक्षतामा भएको सो बैठकले दिवस भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको मन्त्रालयले जनाएको छ । ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै कम सङ्ख्याका उपस्थितिमा दिवस मनाइने बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार बोर्डको हलमा औपचारिक समारोह आयोजना हुनेछ ।

पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुने उक्त कार्यक्रमको ‘फेसबुक लाइभ’मार्फत देशभरका पर्यटन व्यवसायीमाझ सन्देश प्रवाह गरिने ऐरले बताउनुभयो । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । गत वर्ष भर्चुअलरुपमा पर्यटन मन्त्रालयमा न्यून सङ्ख्यामाझ दिवस मनाइएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिकरुपमै कार्यक्रम गर्न लागिएको हो । दिवस भव्यरुपमा मनाउन पर्यटन सचिव यादवप्रसाद कोइरालाका अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । हरेक वर्ष नेपालको हिमशृङ्खलामा रमाउन, हिमाल आरोहण गर्न, पदयात्रा र धार्मिक पर्यटन गर्न तथा अन्य विभिन्न सम्पदा अवलोकन गर्न लाखौँ पर्यटक नेपाल आउने गर्छन् तर कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् ।

पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । अघिल्लो सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।

यो पनि – सञ्चार विधेयक फिर्ता लिन माग

नेपाल पत्रकार महासङ्घले गण्डकी प्रदेश सरकारले हालै संसद्मा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई फिर्ता लिन माग गरेको छ । प्रस्तावित विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको मर्म र भावनाविपरीत रहेको जनाउँदै महासङ्घले तत्काल विधेयकलाई अगाडि नबढाउन प्रदेश सरकारसँग आग्रह गरेको हो ।

महासङ्घले विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामैत्री नभएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र पत्रकारिताको मान्यताविपरीत रहेको जनाउँदै विधेयक संसद्बाट तत्काल फिर्ता गरी महासङ्घसहित सरोकारवालाको सहभागितामा व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रतामैत्री हुने गरी पुनर्लेखन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएको हो ।

“महासङ्घले विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको जनाउँदै त्यसप्रति गम्भीर असहमति राख्दै आएको थियो । त्यसलाई बेवास्ता गर्दै प्रदेश सरकारले विधेयकलाई संसद्मा दर्ता गरिनु अत्यन्त दुःखद् पक्ष हो । यो कार्यले प्रदेश सरकार प्रेसप्रति उदार नभई प्रेसलाई नियन्त्रण र अङ्कुश लगाउन उद्धृत रहेको स्पष्ट छ”, महाङ्घद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा महासङ्घको असहमति रहेका बुँदालाई यसअघि पनि अन्य प्रदेश सरकारबाट संसद्मा दर्ता भएपछि महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाले पनि तत्काल विधेयक फिर्ताको माग गरिरहँदा सरकारका जिम्मेवार निकायमा बस्नेले विधेयकका पक्षमा गरेको वकालतलाई महासङ्घले गम्भीररूपमा लिएको छ । विज्ञप्तिमा भनिएको छ, “प्रदेश सरकारले दर्ता गराएको विधेयकमा प्रेसलाई नियन्त्रण गर्ने, प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने, दर्ता खारेजीलगायत पत्रकारलाई जेल सजायजस्ता प्रेसविरोधी प्रावधान रहेकाले यो विधेयक आपत्तिजनक हुनुका साथै संविधानको मर्म र भावनाविपरीत रहेको महासङ्घ ठहर छ ।”

प्रतिक्रिया दिनुहोस