बागलुङका विद्यालयः कतै खुले, कतै खोल्ने तयारी


बागलुङ, १ असोज (रासस) ः ताराखोला गाउँपालिकाका विद्यालय दुई साताअघि नै खुलेकामा यहाँका अन्य स्थानीय तहका विद्यालयले पनि भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका छन् । केही ठाउँका विद्यालय खुल्ने तयारीमा छन् । यसअघि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सरकारले तोकेको ‘स्मार्ट लकडाउन’को प्रावधान अपनाएर केन्द्रसँगको समन्वयमा स्थानीय तहले विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो । जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद आचार्यले गत सोमबारदेखि विद्यालय सञ्चालनमा आएको बताउनुभयो । नगरप्रमुख तथा कोभिड–१९ प्रतिकार्य समूहका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा बसेको बैठकले समेत भौतिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको थियो ।

जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गरी विद्यालय खोलिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यको भनाइ छ । दैनिक बढीमा पाँच घण्टा मात्र कक्षा चलाउने, एउटा कक्षामा २५ र बेञ्चमा २ जना मात्र विद्यार्थी राख्ने मापदण्ड तोकिएको छ । विद्यालय परिसरमा साबुनपानीले हातधुने व्यवस्था, मास्क र स्यानिटाइजरको उपलब्ध गराउने, पढाइ सुरु हुनुपूर्व दैनिक १५ मिनेट विद्यार्थीलाई कोभिड–१९ महामारीका बारेमा सचेतना र रोकथामका उपायबारे जानकारी गराउने निर्णय नगरपालिकाले गरेको छ ।

कोरोना महामारीको जोखिम बढेपछि चालु शैक्षिक सत्रको सुरुदेखि नै प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप रोकिएको थियो । कतिपय विद्यालयले वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरा दिएपनि सबैतिर त्यो सम्भव हुन सकेको थिएन । विद्यालय तहका सबै बालबालिकासम्म इन्टरनेटको पहुँच छैन । ताराखोलाका विद्यालयले कक्षागतरुपमा बार छुट्टाएर बालबालिकालाई पढाउन थालेका छन् । बालबालिकाको पढाइ बिग्रने र शैक्षिक सत्र नै प्रभावित हुने देखिएपछि त्यहाँका विद्यालय सबैभन्दा पहिले खुलेका थिए ।

कक्षाकोठाभित्र भौतिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने कुरामा विद्यार्थीलाई कडाइ गरिएको ताराखोला–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताउनुभयो । सदरमुकाम रहेको बागलुङ नगरपालिकाका विद्यालय पनि आउँदो सोमबारदेखि खुल्ने भएका छन् । सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिसँगको छलफलपछि दैनिक चार घण्टा मात्र विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा प्रार्थना र खाजाको समय भने कटाइएको छ । एउटा कक्षामा २० जना र बेञ्चमा दुई जना मात्र विद्यार्थी राखेर पढाउनुपर्ने शिक्षा शाखा प्रमुख पोखरेलले बताउनुभयो । विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयले भने आलोपालो गरी पठनपाठन सुरु गर्ने भएका छन् । तमानखोला गाउँपालिकाका विद्यालयमा एउटा कक्षामा ५० विद्यार्थी राखेर पठनपाठन गराइएको शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले बताउनुभयो । “पचासभन्दा बढी विद्यार्थी भएमा आलापालो गरेर पढाउने प्रबन्ध मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

गलकोट नगरपालिका, काठेखोला गाउँपालिकालगायत अन्य स्थानीय तहमा पनि विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीको जोखिम न्यून भएसँगै विद्यालय खोल्ने निर्णयमा स्थानीय तह पुगेका हुन् । यद्यपि, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय खोल्ने निर्णय नगर्न सुझाएको थियो ।

कोरोनाको पहिलो लहर थामिएपछि केही समय खुलेका विद्यालय पुनः दोस्रो लहर भित्रिएसँगै गत वैशाखदेखि बन्द थिए । केही सातायता यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल कोरोनाका सक्रिय सङ्क्रमित ७९ जना छन् । तीमध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ३९ जना रहेका छन् । यहाँका पाँच स्थानीय तह सङ्क्रमणमुक्त बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस