२५ लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ


उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु २५ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगङ्जको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० घर भई भक्तपुर बस्ने बस्ने ३२ वर्षीय श्रेष्ठलाई आज पक्राउ पश्चात प्रहरीले सार्वजनिक गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारी पीडितलाई सेञ्चुरी बैंकको चेक दिएका थिए । फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।

यो पनि – महसुल नतिर्नेको विद्युत् काटौती अभियान

नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्ताहरूको विद्युत् नै कटौती गरिदिने अभियान थालेको छ । विद्युतीय महसुलको मोटो रकम उठ्न बाँकी रहेकाले ६० दिनभित्रमा महसुल नतिरेमा विद्युत् नै काटिने र तिरेपछि मात्रै विद्युत् जडान गर्ने तीव्रताका साथ काम भइरहेको पर्वत वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

अभियान सुरु गर्नासाथ सदरमुकाम कुश्माबजार क्षेत्रको केही ठाउँमा मात्रै २३ जनाको विद्युत् कटौती गरिएको र तीमध्येका २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेका छन् । विद्युत् काटिएकाबाट रु दुई लाख ६ हजार ८० असुल भएको पनि निमित्त कार्यालय प्रमुख काफ्लेको भनाइ छ । अहिलेसम्म विद्युत् काटिएकाहरूमा घरमा जोडिएका व्यक्तिगत लाइन, फार्म र उद्योग रहेका छन् ।

विद्युत् काटिएकामा सरकारी कार्यालय नपरेको जनाउँदै उहाँले क्षेत्रअनुसार जाँच गर्दै जाँदा क्रमशः सरकारी कार्यालयको समेत बक्यौता देखिन सक्ने र त्यस्तो पाइएमा सरकारी कार्यालय वा अन्य संस्थाको समेत विद्युत् सेवा अवरुद्ध हुनसक्ने बताउनुभयो । सदरमुकाम कुश्माबाट सुरु गरिएको यो अभियानलाई कडाइका साथ जिल्लाकै सबै स्थानीय तहमा समेत कार्यान्वयन गर्न लागिएको छ । महसुल समयमा नै तिरेमा उपभोक्ताका लागि छुट सुविधा हुँदासमेत उपभोक्ताले समयमा महसुल नतिरेर विद्युत् नै काटिने अवस्थामा पुग्नु नराम्रो भएको निमित्त कार्यालय प्रमुख काफ्लेले बताउनुभयो ।

यो पनि – इमान्दार ट्राफिक प्रहरी पुरस्कृत

सवारी चालकको प्रलोभनमा नपरी इमान्दार रहेर सेवा दिने उपत्यकाका ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा घूस नखाई जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई आज सम्मान गरेको हो । प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले उक्त अभियान चलाएको छ । प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

नगद पुरस्कारसहित सम्मानित हुनेमा प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठ, प्रहरी हबल्दार उमेश राम, लक्ष्मण यादव तथा जवानहरु किसानचन्द्र गौतम, धनवीर जिसी, सविना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल र सन्तोष धमला हुनुहुन्छ ।यस्तै प्रहरी नायब निरीक्षक मिलनकुमार सिंह, प्रहरी हबल्दार ईश्वर सिंह धामी, भीमबहादुर बोहोरा, नगकुल गिरी, विनोद गोतामे, सन्तोषकुमार साह, रामजी साह, प्रवीन मोक्तान, दधिराम विसी, प्रहरी जवान हरिबहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेशराज पनेरु, गुणाकर अवस्थी, अरुणबहादुर अधिकारी पनि सम्मानित हुनुभएको छ ।

उहाँहरुलाई महाशाखा प्रमुख भट्टराईले प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गर्नुभएको थियो । प्रहरीले गत आर्थिक वर्षमा घूस दिन खोज्ने एक सय ६६ चालक पक्राउ गरेको थियो । यस आवमा घूसबापत रु ९० हजार एक सय ५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सय ६५ चालक पक्राउ परेका छन् । चालकहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवं प्रशंसापत्रबाट सम्मान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस