पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट


कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि आज निर्घात कुटपिट गरिएको छ । सामान्य विवादमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि निर्घात कुटपिट गरेको हो । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको बताइएको छ । युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट पत्रकार धामीको शरीरको भित्री भागमा चोट लागेको छ ।

कुटपिटमा संलग्नमाथि कारवाहीको माग गर्दै पीडितद्वयले इलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी दिएका छन । इप्रका बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले कुटपिटमा सङ्लग्नको खोजी भइरहेको बताउनुभयो । घटनाबारे छानबिन गरी दोषीलाई कारवाही गरिने उहाँले बताउनुभयो । कुटपिटमा संलग्नमध्ये कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।

यो पनि – छानबिन प्रतिवेदन : ग्यास चुहिँदा जगदम्बा स्टिलमा तोडफोड

बारामा रहेको जगदम्बा स्टिल्स प्रालिमा भदौ ११ गते एमोनिया ग्यास प्लान्टको पाइपलाइनबाट ग्यास चुहिएर बाहिर फैलिँदा स्थानीयवासी तोडफोडमा उत्रिएको पाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट गठन गरिएको छानबिन समितिले उद्योग परिसरबाहिर ग्यास फैलिएपश्चात स्थानीय बासिन्दा आक्रोशित भई उद्योगभित्र प्रवेश गरी तोडफोड गरेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

समितिले उक्त प्रतिवेदन आज गृहमन्त्री खाँणलाई बुझाएको छ । भदौ २१ मा मन्त्रालयका सहसचिव टेकराज निरौलाको संयोजकत्वको नौ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्तिमा ग्यास चुहावटको सूचना प्राप्त भई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले तोडफोड नियन्त्रणको प्रयास गर्दा गर्दै पनि उद्योगमा स्थानीयवासीको भीडले तोडफोड गरेको प्रतिवेदनमा उल्लेख रहेको जनाइएको छ ।

छानबिन समितिले सरकारको तर्फबाट तोडफोडमा संलग्नको पहिचान गरी कानूनबमोजिम कारवाही गर्न र औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सुझाव दिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले उद्योग सञ्चालन गर्दा औद्योगिक सुरक्षा मापदण्डको पालना गर्न, उद्योगबाट सृजना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्यता पुगेका स्थानीयवासीलाई प्राथमिकता दिन पनि सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्राप्त सुझावका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट पहल गरिने जानकारी दिनुभएको छ ।

यो पनि – कांग्रेस शीर्ष नेताबीच क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याउने सहमति

नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीतिलगायत पार्टीको महाधिवेशनका विविध विषयमा छलफल गर्नुभएको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, नेताहरु कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, रमेश लेखकलगायत नेता सहभागी बैठकमा क्रियाशील सदस्यता विवाद समाधान गरी यही असोज ५ गते निर्धारित वडा अधिवेशन समयमै सम्पन्न गर्ने सहमति जुटेको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यताको काम सपन्न गरी सोको विवरण सार्वजनिक गरिसकेको छ भने ५७ जिल्लामा वडा अधिवेशनसमेत सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । बाँकी २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते तोकिएको छ । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

कांग्रेसले गाउँ÷नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

 

यो पनि – ‘एनआरएन निर्वाचन विवादरिहत बनाउँछौँ’

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुनै पनि बदमासी हुन नदिने स्पष्ट पारेको छ । एनआरएनले आज जारी गरेको विज्ञप्तिअनुसार २०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुटेको स्पष्ट पारेको छ ।

जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको उसले जानकारी दिएको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ । गैरआवासीय नेपाली सङ्घको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुँदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी व्यवस्था गरिएको छ ।

त्यसका लागि नेपालीको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनोट भैसकेको छ । प्राविधिकलगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरू (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बञ्चित हुने अवस्था आउन सक्छ । यसतर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समितिले अनुरोध गरेको छ ।

गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसासहित ‘आइडि कार्ड’ पनि आवश्यक भएकाले यदि सदस्यता लिइसकेपछि पछाडि नवीकरण गरिएका भिसा तथा आइडि कार्ड उपलब्ध गराउनसमेत आग्रह गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डको पालना गर्दै आवश्यक सूचनाहरूका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालयमा सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस