नक्कली नोटसहित दुई पक्राउ


महोत्तरीको औरही नगरपालिका–१ औरहीबजारमा नेपाली नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेका छन् । औरही प्रहरी चौकीको गस्ती टोलीले शुक्रबार राति करिब ८ बजेको समयमा एकहजार दरका २२ थान नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय सीमावर्ती बस्ती सीतामढी जिल्लाको मनपौर गाउँका २१ वर्षीय पिन्टुकुमार राय र १२ वर्षीय रितेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

बजारको फलपूmल र पान पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने हल्लीखल्ली भएपछि प्रहरी गस्ती टोलीले बिआर ३०७ भी ९८८७ नम्बरको भारतीय स्कुटरमा आएका दुवैलाई नियन्त्रणमा लिएको थियो । नक्कली नोट पसलमा दिएर बजारबाट निस्कँदै गरेको भारतीय नम्बर प्लेटको स्कुटर रोकेर जाँच गर्दा सिटमुनि डिक्कीमा हजार दरका २२ वटा नक्कली नोट फेला परेको औरही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेशप्रसाद यादवले जानकारी दिनुभयो । सामान्य प्रचलनमा रहेका नेपाली एक हजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङ्गसमेत अलि फिका देखिने नोट सामान्य परख गर्नेले सजिलै छुट्याउन सक्ने उहाँको भनाइ छ । पक्राउ परेका दुवैबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो पनि – जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ

काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत बरामद गरिएको छ ।

यो पनि – बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीनको मृत्यु

बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । गए राति १० बजेतिर एक जनालाई करेन्ट लागेको थियो । बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । पासो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

यो पनि – शरणार्थीका पीडा बुझाउने मालिका केशरीको उपन्यास ‘दुङाल’

काठमाडौँ, २ असोज (रासस) ः शरणार्थी जीवनका पीर, दुःख, पीडा कस्ता हुन्छन् भन्ने विषय ‘दुङाल’ उपन्यासका माध्यमबाट साहित्यकार प्रकाशकुमार श्रेष्ठ ‘मालिका केशरी’ ले पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ । प्रेमका विषयलाई उपन्यासमार्फत् पस्कन उपन्यासकार ‘मालिका केशरी’ को यो तेस्रो उपन्यास हो । तिब्बती भाषाको शब्द ‘दुङाल’ को अर्थ दुःख, पीडा, पीर, आर्तनाद भन्ने हुन्छ । जन्मभूमि छोडेर अरुका देशमा शरण लिई जीवन बिताउन बाध्य पारिएकाका पीडालाई उपन्यासमा सरल, सहस एवं प्रेमपूणर् भाषाशैलीमा उतारिएको छ ।

तिब्बतीयन शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास साहित्यकार केशरीको बाल्यकालको भोगाइको यथार्थरुप हो । बाल्यकालमा साथीसँगै तिब्बती शरणार्थी शिविरमा रहेकासँग सहयात्रा गरेको सम्झनालाई उहाँले औपन्यासिकस्वरुप दिनुभएको हो । शरणार्थी शिविरका अपरिचित अनुहारले यो आख्यान लेख्न प्रेरणा दिएको लेखक केशरीले बताउनुभयो ।

विभिन्न कारणले देश छोड्न बाध्य पारिएकाको जीवन खोज्दै ‘दुङाल’ उपन्यास तयार पारिएको छ । तिब्बती शरणार्थीको सेरोफेरोमा आख्यान अघि बढेको छ । तिब्बतीले भोगेका विषय जसलाई उपन्यासकारले बाल्यकालमा देख्नुभयो, त्यसकै एक तहलाई उपन्यासमा प्रस्तुत गरिएको छ । तिब्बती जुनसुकै कारणले आफ्नो देशबाट विस्थापित भए पनि ती हाम्रो समाजका अङ्ग बनेकाले उनीहरुलाई गर्नुपर्ने व्यवहारका बारेमा मानवतावादी दृष्टि राख्नुपर्ने लेखकको भनाइ छ ।

शरणार्थी शिविरको पर्खालभित्रबाट जीवन खोजिरहेकालाई सहयोगी भाव राख्न उपन्यासले प्रेरणा दिन्छ । मानवीयता सम्झेर सबैले व्यवहार गरेमा शरणार्थीका अनुहार र हृदयबाट दुङाल अर्थात् पीर, दुःख, पीडा हटेर जाने सन्देश उपन्यासकारले दिनुभएको छ । शरणार्थीका सन्ततिलाई पनि आफू उभिएको भूमि आफ्नै पुर्खाको भूमि हो भन्ने अनुभूति दिन उहाँले आह्वान गर्नुभएको छ । कृति आख्यान भएकाले यसले राजनीतिक र ऐतिहासिक दाबी नगर्ने लेखकको भनाइ छ ।

इतिहास एवं संस्कृतिका अन्वेषक तथा पुस्तकमा भूमिका लेख्नुभएका रमेशकुमार ढुङ्गेलले शरणार्थी राष्ट्रविहीन हुनुपर्दाका अप्ठ्यारा पुस्तकमा समेटिएको बताउनुभयो । भोट सभ्यता र राष्ट्र तथा परिवर्तित चिनियाँ सभ्यता एवं राष्ट्रिय राजनीतिकाबीच उठेका अन्तद्र्वन्द्वले निकालेको तिब्बत विलय र शरणार्थीका समस्या उपन्यासको मूल विषयवस्तु बनेको छ । संस्कृति र सामाजिक अवस्था फरक भए पनि तिब्बती युवती र नेपाली युवकबीच प्रेम सम्बन्ध स्थापित भएको विषयलाई उपन्यासमा देखाइएको छ । अन्त्यमा प्रेमी प्रमिकाबीचको सम्बन्ध सफल हुन सकेको छैन । तिब्बती युवती र नेपाली युवकबीच सम्बन्ध वियोगान्तमा अन्त्य भएको छ । असफलता एवं वियोगान्तलाई शान्ति दिन बौद्ध दर्शनले भूमिका खेलेको छ ।

दुःख, पीडा, पीर र असफलतामा शान्तिका लागि बौद्ध दर्शनको सहारा लिइएको छ । यसबाट बौद्ध दर्शनभित्रको शान्तिलाई पनि उपन्यासमा देखाउन खोजिएको छ । साहित्यकारका तीन वटै उपन्यासमा बौद्ध दर्शनले व्यक्तिको आन्तरिक शान्तिमा सकारात्मक प्रभाव पारेको विषय छन् । नेपालमा तिब्बतीयन र भूटानी शरणार्थी विधिवत्रुपमा बसेका छन् । तिनका समस्या बाहिर ल्याउन उपन्यास सफल छ । लेखक पुरुष भए पनि महिला शरणार्थीका भावना एवं मनोविज्ञान उपन्यासमार्फत् अभिव्यक्त भएको छ । लेखक केशरीले जन्मभूमि तनहुँको शरणार्थी शिविरमा देखेका घटनाले आफूलाई यस विषयमा कलम चलाउने प्रेरणा मिलेको सुनाउनुभयो ।

“उपन्यासमा कति मेरा भोगाइ, कति नजिकका साथीभाइका भोगाइ जसलाई अनुमति लिएर वास्तविक नाममै उतारेको छु, कति विषय कल्पनाका पनि छन्”, उहाँले भन्नुभयो । नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उहाँले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन यो उपन्यास लेख्नुभएको हो । उपन्यासमा शरणार्थीका कथा व्यथालाई शब्दका माध्यमबाट उनिएको छ । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ ।

प्रेम प्रसङ्ग र वियोगका घटना, असफल जीवनयात्रा र त्यस्ता परिवेशबाट प्राप्त हुने मानवता एवं जीवनका आवश्यक सच्चा ज्ञानका चाखलाग्दा धेरै विषय उपन्यासमा छन् । ढोल्कारकी दिदीको प्रेम र असफता, लोप्साङको प्रेमीको प्रसङ्ग, ग्याछो दोर्जे (डरलाग्दो अनुहार भएको शरणार्थी क्याम्पको क्रियाशील युवा) को कार्चुङप्रतिको एकतर्फी असफल प्रेम, शरणार्थी क्याम्पकी वृद्ध महिला अर्थात् डोल्मा र चिनियाँ कमाण्डर वाङ्-लीको तिब्बतमा युद्ध हुँदाका समयमा सैनिक क्याम्पभित्रै विकसित भएको प्रेम, विवाह र वियोग आदि यसका उदाहरण हुन् ।

शरणार्थी शिविरमै हुर्किएकी कृतिकी मूल नायिका कार्चुङ र छिमेकी गाउँको निडर नेपाली केटो (विश्वदीप) बीचको अनौठो प्रेमको सेरोफेरोमा उपन्यास घुमेको छ । सामाजिक, सांस्कृतिक कारणले अप्ठ्यारोमा परेर प्रेम सफल हुन सकेको छैन । उपन्यासकारले विभिन्न घटना र पात्रलाई नै बोलाएर अत्यन्त मिठो एवं स्पष्टरुपमा कथाका विषयवस्तुलाई पाठकसमक्ष पस्कनुभएको छ । यो शैली पाठकका निम्ति पठन सरलता र थप चाखको विषय बन्न पुगेको छ ।

दमनको विभत्स रुप, आक्रोश र नैराश्यता, स्वभूमिप्रतिको अधिकारको लडाईं, शरणार्थी क्याम्पको न देश, न विगत, न वर्तमान वा न परिचयपत्र (आरसी कार्डसमेत नभएको) विषय पनि उपन्यासमा सजीवरुपमा उतारिएका विषय हुन् । भविष्यकै टुङ्गो नभएको अन्योलको अवस्था, प्रहरीको ज्यादति र त्यसले सिर्जना गरेको आक्रोश र पीडा, विदेशीका सहयोगी हात तथा स्वार्थगत मिसन, नेपालीको शरणार्थीप्रतिको हेलचेक्र्याइँ तथा हेय भाव, शरणार्थीको मानसिक र मनोवैज्ञानिक दूरावस्था, चिनियाँ षड्यन्त्र तथा धोकाधडी प्रवृत्ति तथा क्रियाकलाप, अधिकारको लडाईं, उच्छृङ्खलता र गुण्डागर्दीमा लिप्त नेपाली युवाका अनुशासनहीन हर्कतजस्ता विषयले उपन्यासलाई जीवन्त बनाएको छ । उपन्यास पढ्न थालेपछि समय बितेको पत्तो पाइँदैन । कारणबस पठन स्थगित गर्नुपर्दा फेरि पुस्तक समातिहालौँ भन्ने हतारो मनमा आउँछ ।

सामाजिक यथार्थवादी उपन्यास दुङाल २७५ पृष्ठको छ । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु ४८४ छ । पुस्तकमा प्राविधिक कारणले सामान्य भाषिक त्रुटि भए पनि अन्य गल्ती भेटिँदैन । कसैको ध्यान नपुगेको संवेदनशील सामाजिक विषयमा कलम चलाएर पाठकलाई नौलो स्वाद दिन उपन्यासकार केशरी सफल हुनुभएको छ । लेखकका हालसम्म चार वटा कृति प्रकाशित छन् । पहिलो उपन्यास ‘पुरुत्थान’ २०७२ भदौमा प्रकाशित भएको थियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराएपछि छ वर्षका बीचमा उहाँका तीन वटा उपन्यास प्रकाशित भएका हुन् ।

लेखकको दोस्रो उपन्यास ‘सुवणर्लता’ हो । ‘सुवणर्लता’ मा आमाबाबुबाट छुटिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्कनुभएको छ । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ । विद्यालय जीवनमा साथीभाइका प्रेमपत्र लेख्दै उहाँ साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको हो । विद्यालय जीवनमा लेखिएको प्रेमपत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उहाँले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाल्नुभयो ।

त्यसो त उहाँ कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेख्नुभएको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल हुनुभएको थियो । सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्नुहुने उहाँलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रुपमा काम गरेकाले सफल भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस