नेपाली धावक पार्की जर्मनी जाने


जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो । दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगन्ज म्याराथनका आयोजक क्रिएटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । सो अवसरमा दुवै जनालाई ट्रयाक सुट, झोला र टिसर्ट प्रदान गरिएको थियो ।

विश्व चर्चित ‘बर्लिन म्याराथन’ जर्मनीको बर्लिनमा यही असोज १३ गते हुँदैछ । धावक पार्की आज राति कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ पछिल्लो संस्करणको नेपालगन्ज म्याराथनको विजेतासमेत हुनुहुन्छ । पार्कीले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा म्याराथनमा स्वर्ण पदक जित्नुभएको थियो । बिदाइ कार्यक्रममा पार्कीले आफुले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो पनि – नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो । नेपालले आइतबार भएको अन्तिम खेलमा पहिलो पटक ओमानलाई ७ विकेटले पराजित गर्दै एतिहासिक जित हासिल गरेको थियो । त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले हारेको थियो ।

लिग–२ मा नेपाल, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई) र पपुवा न्युगिनी रहेका छन् । नेपाल आठ खेलमा आठ अङ्क जोड्दै लिगको चौंथो स्थानमा उक्लेको छ । ओमान १४ खेलमध्ये ११ मा जित र तीनमा हारका साथ २२ अङक जोडेर शीर्ष स्थानमा कायमै छ भने अमेरिका १६ खेलमध्ये सातमा जित र नौमा हारसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस