पोखरेली साहित्यिक गतिविधिमा कोरोनाको प्रभाव


गण्डकी, ५ असोज (रासस)ः प्रकृतिको बरदान पोखरालाई साहित्य सिर्जनाको उर्वर भूमि मानिन्छ । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि जनकवि केशरी धर्मराज थापा, लोक कवि अलिमियाजस्ता थुप्रै नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व जन्माएका पोखरामा थुप्रै्र साहित्यिक गतिबिधि हुने गर्दछन् ।साहित्यानुरागी पोखरालाई साहित्यको राजधानीको उपमा समेत दिने गर्दछन् । साहित्यिक व्यक्तिको जन्मोत्सव होस् वा अन्य कुनै पर्व यहाँ विभिन्न नाममा साहित्यिक गतिविधि निरन्तर हुने गरेको छ । साहित्यिक गतिविधिले पनि छुट्टै रौनकता ल्याउने पोखरामा पछिल्लो दुई वर्षयता भने सुनसान जस्तै बनेको छ । फाट्टफुट्ट साहित्यिक कार्यक्रम हुने गरे पनि कोरोनाको मारका कारण यहाँको साहित्य सुस्ताएको छ । कोरोनाकै कारण नियमित रुपमा हुने गरेका साहित्यिक अभियान रोकिएका छन् ।

साहित्यका माध्यमबाट गाउँ पर्यटनलाई जोड्ने मुख्य उद्देश्यसाथ २०६२ असार १८ गते लेखनाथको सुन्दरीडाँडाबाट थालिएको साहित्यिक अभियान ‘अक्षरयात्रा’ लाई कोरोना कहरले प्रभावित बनाएको छ । अघिल्लो वर्षका बन्दाबन्दीमा पनि केही महिना स्थगित यो यात्रा यसवर्ष भने वैशाख महिनायता सञ्चालनमा आउन नसकेको गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो । गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरको संयुक्त आयोजनामा सञ्चालित अक्षरयात्राका लागि पोखरेली साहित्यकार प्रत्येक महिनाको तेस्रो शनिबार विभिन्न स्थानमा पुगेर त्यहाँको जीवन जगतका भोगाइलाई आफ्ना रचनामा उतार्ने गर्दछन् ।

अक्षरयात्री यस अभियानमा सामेल बन्दै विभिन्न गाउँ, ठाउँदेखि मसानघाटसम्म पुगी जीवन र जगत्का भोगाइलाई रचनामा उतार्ने गर्दछन् । अक्षरयात्राले गत चैतमा १८१ औंँ शृङ्खला सम्पन्न गरेको थियो । त्यसयता कोरोना कहरकै कारण उक्त अभियानलाई सञ्चालन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ नाराका साथ सञ्चालित यो अभियानलाई कोरोना कहर साम्य भएसँगै पुनः निरन्तरता दिइने जनाइएको छ । गजल सन्ध्या पोखराले प्रत्येक महिनाको दोस्रो शनिबार गर्दै आएको नियमित गजलवाचन कोरोना कहरकै कारण जुम प्रविधिको प्रयोगमार्फत गर्ने गरिएको छ । “कोरोना कहरका कारण जुम प्रविधिमार्फत गलन वाचनलाई भने निरन्तरता दिएका छौं”, उहाँले भन्नुभयो, “पोखरेली गजलकारको यो नियमित वाचनले २१८औँ शृङ्खला पार गरिसकेको छ ।

यस्तै साहित्यिक अभियानका जगमा पोखराले पुराना मात्र नभइ पछिल्ला पुस्ताका दर्जनौँ कवि, कवयत्री र कलाकार जन्माइसकेको छ । कोरोना महामारीकै कारण भानु वाङय प्रतिष्ठानले भव्यताका साथ प्रत्येक वर्षको असार २९ गते मनाउने गरेको भानु जयन्ती यस पटक भने औपचारिक सामान्य कार्यक्रमका साथ सम्पन्न गरेको प्रतिष्ठानका सचिव अम्बिकाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।“कोरोनाका कारण समाजका विभिन्न क्षेत्रलाई प्रभाव पारे जस्तै साहित्यिक क्षेत्र पनि प्रत्यक्ष प्रभावित बनेको छ”, सप्तरङ्गी साहित्य समाज तनहुँका संयोजक समेत रहेका उहाँले भन्नुभयो, “साहित्यिक गतिविधि त प्रभावित भएनै त्यसले साहित्यकारको सिर्जनामा पनि असर पारेको छ ।”

पोखरेली साहित्यिक गतिविधिमा क्षमता भएर पनि विभिन्न कारणले अवसर नपाएका साहित्यकारलाई अघि ल्याउने लक्ष्यसाथ २०७४ सालदेखि सञ्चालित ‘पुछारसिटे अभियान’ले कोरोना कहरकै कारण आफ्ना नियमित साहित्यिक गतिविधि सञ्चालन गर्न नसकेको अभियानका संयोजक सञ्जीव पौडेलले बताउनुभयो ।

अभियानबाट प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा घ्यू, चाकु र तरुलसँग कविता तथा असार १५ गते दही चिउरासँग कविता शीर्षकमा कार्यक्रम गर्दै आएको भए पनि कोरोनाकै कारण यस पटक यी दुबै कार्यक्रम गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । अभियानद्वारा गर्दै आइएका अन्य साहित्यक कार्यक्रम, परिचर्चा पनि प्रभावित भएको उहाँको भनाइ छ ।विभिन्न ठाउँका भेटघाट आदिले पनि साहित्यको सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै उहाँले भन्नुभयो, “स्वैर कल्पनामा मात्रै रमाउने साहित्यकारले पनि यताउता हिँडडुल गर्न नपाउदा अपेक्षित सिर्जना तयार गर्न सक्दैन ।”सिर्जनाका लागि वातावरण राम्रो हुनुपर्ने जनाउँदै उहाँले महामारीजन्य यस्ता प्रकोपले साहित्यकारको सिर्जनालाई पनि प्रत्यक्ष प्रभावित पार्ने गरेको बताउनुभयो ।
पोखरेली साहित्यमा संरक्षण कवितायात्रादेखि संरक्षण कविता आन्दोलन हुँदै पछिल्ला समयमा सञ्चालित साहित्यिक आन्दोलन तथा अभियानले यहाँको साहित्यिक गरिमालाई उचो बनाएका छन् ।

पोखरामा क्रियाशील साहित्यिक संस्था सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, गीताञ्जलि साहित्य परिवार, आलोक साहित्य सदन, पोखरेली युवा सांस्कृतिक परिवार, नेपाल प्राज्ञ मञ्च, लेखनाथ साहित्य प्रतिष्ठान, लोककवि अलिमिया वाङ्मय प्रतिष्ठानलगायतका संस्थाबाट हुने गरेका साहित्यिक गतिविधि पनि कोरोना कहरका कारण प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस