नेपालको एसियन कप खेल्ने सपना अधुरै


हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङ विरुद्धको खेल जित्नै पर्ने दबाब थियो तर नेपालले हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपालको एसियन कप खेल्ने सपना अधुरै रहन पुग्यो ।

उज्बेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा भएको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङ्गियो । यस खेलसँगै समूह एफमा रहेको नेपालले छनोटमा २ खेलमा १ अङ्क जोड्यो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । फिलिपिन्सको ३ अङ्क छ भने हङकङको १ अङ्क छ । अब फिलिपिन्स र हङकङबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ । यस समूहको विजेता टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।

यो पनि – आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न माग

आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन÷निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि अनुमोदन गर्न माग गरिएको छ । सन्धिलाई नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरे पनि अझैसम्म अनुमोदन नगरेकोमा शान्तिवादीले दुःख व्यक्त गरेका हुन् ।अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदनको माग गरिएको हो ।

कार्यक्रममा शान्तिवादीले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चर्यजनक एवं दुर्भाग्यपूर्ण भएको भन्दै गुनासो गरेका थिए । प्रदर्शनमा विश्व शान्ति र मानव सभ्यताका लागि आणविक अस्त्र सबैभन्दा ठूलो खतरा भएको भन्दै आणविक अस्त्रधारी राष्ट्रहरु अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियालाई आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्न आग्रह गरिएको थियो ।

शान्तिका लागि आयोजित प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाईँ र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, केन्द्रीय सचिवद्वय नम्रता खरेल र रामप्रसाद जोशी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणि बञ्जारा, किरण ढकाल, दुर्गा राना, उमा गौतम, पूर्वसचिव बलबहादुर गाहा मगरसहित दर्जनौँ शान्तिवादीको सहभागिता थियो ।

यसैगरी शान्ति दिवसको अवसरमा आज आणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै शान्ति समाजका चितवन, रुपन्देही, नवलपुर, महोत्तरी, बाँके, तेह्रथुम, अर्घाखाँचीलगायत दर्जन बढी शाखाले प्रदर्शन गरेका छन् । गत वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन २०७७ मङ्सिर २५ गते आणविक अस्त्र निषेध सन्धि अनुमोदनको मागसहित शान्ति समाजले काठमाडाँै÷ललितपुरस्थित अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाका राजदूतावास अगाडि एकसाथ प्रदर्शन गरेको थियो । सोही दिन शान्ति समाजले ३२ जिल्लामा प्रदर्शन गरेको थियो ।

यसैगरी नेपालले यो सन्धिलाई शीघ्र अनुमोदन गर्न शान्ति समाजको प्रतिनिधिमण्डलले गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवासहित तीन मन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षको ध्यानाकर्षण गराउँदै छलफल गरेको थियो ।सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । सन् २००२ मा भएको संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस