बलेवामा नगर अस्पताल सञ्चालन


पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो । बलेवाको पैयुँपाटास्थित स्वास्थ्यचौकीको स्तर वृद्धि गरी नगर अस्पताल सञ्चालन गरिएको हो । शुक्रबार नगरप्रमुख जनकराज पौडेलले सो अस्पतालको उद्घाटन गर्नुभयो । तत्काल पुरान संरचनामा अस्पताल सञ्चालन गरिएको छ । “एक वर्षभित्र सुविधासम्पन्न नयाँ भवन निर्माण गर्छौँ, जनशक्ति समेत थप्ने योजना छ”, पौडेलले भन्नुभयो । स्थानीयवासीको सहयोगमा अस्पताल निर्माणका लागि नौ रोपनी जग्गाको व्यवस्था गरिएको छ । नयाँ भवन बनाउन रु १८ करोड बजेट बिनियोजन गरिएको छ ।

‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअन्तर्गत पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो । अस्पतालमा तीन चिकित्सकसहित २७ जनाको जनशक्तिको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । हाल यहाँ सनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, कार्यालय सहयोगसहित आठ कर्मचारी कार्यरत छन् । उक्त अस्पताल सञ्चालनमा आएसँगै बागलुङ नगरपालिकाका पैयुँपाटा, नारायणस्थान र अमलाचौरका झण्डै २७ हजार नागरिक लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।

“सरकारी सहयोगसँगै स्थानीयवासीबाट सहयोग सङ्कलन समेत भइरहेको छ”, उहाँले भन्नुभयो । रोजगारका लागि विदेशमा रहेकाहरुले समेत अस्पताल निर्माणका लागि सहयोग गर्न थालेको पौडेल बताउनुहुन्छ । भरपर्दो अस्पताल नहुँदा यहाँका नागरिक सदरमुकाम बागलुङ, पर्वतको कुश्मा, पोखरालगायतका ठाउँ जानुपर्ने बाध्यता छ ।

यो पनि – कृषकका गुरु टीकाराम

गलकोट, ९ असोज (रासस) : बागलुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताउनुभएको छ । उहाँले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफलसमेत भइसकेका छन्, त्यसैले उहाँलाई कृषिका गुरुसमेत भनिँदै आइएको छ ।६५ वर्षका सापकोटाले अहिले पनि अधिकांश समय खेतबारीमै व्यतीत गर्नुहुन्छ । बिहानै उठेर तरकारी बारीमा नगएसम्म सापकोटाको मन मान्दैन । सापकोटा भन्नुहुन्छ, “चिनीभन्दा मिर्सी गुलियो, तर मिर्सीभन्दा पनि कृषि गुलियो, म कृषिको गुलियोमा भुलेको छु जति कृषि ग¥यो उतिनै सन्तुष्टि हुन्छ, कृषि पेसा जति गरे पनि धित नमर्ने कर्म रहेछ ।”

विसं २०४२ देखि व्यावसायिक सोचसहित कृषि कर्ममा लाग्नुभएका सापकोटा अहिले कृषिबाटै लाखाँै आम्दानी गर्न सफल हुनुभएको छ । अरुको जग्गा बन्दकी लिएर व्यावसायिक कृषि सुरु गर्नुभएका सापकोटाले अहिले आफ्नै पाँच रोपनी जग्गामा खेतिपानी गरिराखेको बताउनुहुन्छ । “कृषि गरेरै तीन वटा छोरी र चार छोरालाई पालनपोषण, पढाइदेखि विदेश पठाउनका लागि कृषिबाटै भएको आम्दानी गरेको हुँ”, उहाँले भन्नुभयो, “चार छोरालाई जापान पठाएको छु, अहिले उनीहरु पनि कमाउँछन् ।” पहिले उनीहरुलाई १२ कक्षासम्म पढाएर जापान आफैँले कृषिबाट कमाएको पैसाले पठाएको सापकोटा बताउनुहुन्छ । आफूले कृषि गरेर जग्गा खरिद गरेको र अहिले त्यो जग्गालाई बेच्दा रु दुई करोड बढी पर्ने सापकोटाको भनाइ छ ।

सुरुमा तरकारी खेती गर्न तरकारीलाई थाक्रा राख्न बास र डोरी किन्ने पैसा नभएर सन्जिबलको थाक्रा र चामलको बोराको डोरी बनाएर कृषि सुरु गरेको विगत आफ्नो लागि स्मरणीय रहेको उहाँको भनाइ छ । अहिले आफूले कृषिको बारेमा गाउँमा सबैलाई सिकाउने र बिरुवा वितरणसमेत गरेको सापकोटाले बताउनुभयो । बागलुङ नगरपालिकाबाट रु ५० हजार अनुदान लिएर नेट हाउस बनाएर विभिन्न तरकारीको नर्सरी गर्नुभएका सापकोटाले त्यसबाट रु ४० हजारको बिरुवा बिक्री गरिसकेको बताउनुहन्छ । केही बिरुवा गाउँका कृषक साथीलाई निःशुल्कसमेत बाँडेको उहाँको भनाइ छ । अहिले एकै सिजनमा रु ४० हजारको काक्रो, एक हजार ३०० बोटबाट रु ५० हजारको गोलभेँडा, बन्दा, काउली रु ५० हजारको बिक्री गरेको सापकोटा बताउनुहुन्छ । एक सिजनमा आफूले रु तीनदेखि चार लाखसम्मको तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेको सापकोटाको भनाइ रहेको छ । अहिले उहाँको खेतबारीमा करेला, घिरौला, बोडी, काउली, बन्दा, टमाटर, चिचिन्नो, फर्सी, काक्रो, खुसार्नी, भ्यान्टा, साग, केरालगायत तरकारी फलफूल छन् ।

बागलुङ बजारको नजिक भएकाले तरकारी बेच्न बजारको समस्या नभएको सापकोटाको भनाइ छ तर तरकारी बेच्न समस्या नभए पनि बिचौलीयाको कारणले आफूले भने जति मूल्यमा तरकारी बिक्री गर्न नपाएको सापकोटाको गुनासो छ । दिनरात नभनी कृषि गरेर उत्पादन गरेको तरकारी सस्तोमा दिनुपर्दा कृषक मारमा परिरहेको सापकोटा बताउनुहुन्छ ।

“नेपालमा कृषि गर्ने मानिसका लागि धेरै राम्रो सम्भावना र अवसर छ, नगरपालिकाले पनि कृषकलाई अनुदान समय समयमा दिएको छ”, उहाँले भन्नुभयो, “तरकारीको बजारको भाउ र कृषकले बेच्दा पर्ने मूल्यमा धेरै अन्तर पर्ने भएकाले यस विषयमा पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

अब आफूलाई आवश्यक पैसा पुगे पनि कृषि कर्मको धित नमरेको उहाँ बताउनुहुन्छ । “छोराछोरी आफ्नो आफ्नो खुट्टामा उभिसकेका छन्, कृषिले मेरो जीवन परिवर्तन गरिदियो”, उहाँले भन्नुभयो, “अब थप समय मिलाएर अन्य कृषकलाई समेत कसरी कृषि गरेर सफल कृषक बन्न सकिन्छ भनेर सिकाउने योजना छ ।”

प्रतिक्रिया दिनुहोस