सार्वजनिक सवारी साधनको भाडा बढ्यो


सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।

हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्र्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार आजदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले रु एक हजार ६९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँ काकडभिट्टा जानका लागि रु एक हजार ४७० भाडा लाग्ने भएको छ । विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ ।

यो पनि – सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

कागेश्वरी मनोहरा नगरपालिका–४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र स्थानीयवासीसँग छलफल थालिएको छ । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले कार्यालय स्थापनाका लागि पहल थाल्नु भएको हो । “नगरपालिकाले जग्गा उपलब्ध गराए ६ महिनाभित्र प्रिफ्याब भवन निर्माण गछौँ, ट्रायल सेन्टरसहितको यातायात कार्यालय स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसके काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगकै अन्य नगरपालिकामा यातायात कार्यालय स्थापना गरिने उहाँको भनाइ थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु सिम्खडा पुडासैनीले जग्गा व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले कागेश्वरीमा यातायात कार्यालय स्थापना गर्न जग्गाको व्यवस्था नभए आफ्नो वडामा पहल गर्न तयार रहेको बताउनुभयो । उक्त क्षेत्रमा कार्यालय स्थापना गर्न सकेमा बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरका साथै यस क्षेत्रमा सीमा जोडिएका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरका बासिन्दा लाभान्वित हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस