मोतीशोभाका चार लघुउपन्यास एकैसाथ लोकार्पित


काठमाडौँ, ९ असोज (रासस) : मोतीशोभा श्रेष्ठद्वारा लिखित चार लघुउपन्यास ‘प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’ र ‘आँशु’ एकसाथ लोकार्पण गरिएको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पुस्तकको लोकार्पण गर्दै महिलालाई प्रमुख पात्र बनाएर तयार पारिएका उपन्यासलाई पाठकले रुचिका साथ पढ्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

उहाँले महिलाले समाजमा पु¥याएको योगदानलाई पुस्तकमा उतारिएकाले वैदेशिक रोजगारी, बालश्रम, पारिवारिक हिंसाजस्ता समाजिक समस्यालाई पनि औँल्याउनाले पुस्तक पठनीय बन्न पुगेको बताउनुभयो । उहाँले साहित्यले समाजको यथार्थ चित्रण गर्ने हुँदा यसको महत्व सबैले बुझ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कवि, गीतकार तथा पूर्वसचिव कालिप्रसाद रिजाल, साहित्यकार तथा पूर्वअर्थमन्त्री शङ्कर कोइराला, सहित्यकार तथा चलचित्र निर्देशक यादव खरेल, कला समालोचक धुव्र मधिकर्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पुस्तकका लेखक श्रेष्ठले पितृसत्तात्मक नेपाली समाजमा महिलालाई हेर्ने, बुझ्ने र महसुस गर्ने तरिका तथा जीवनका भोगाइ एवं अनुभवका बारेमा लेखिएको बताउनुभयो । उहाँले प्रकृति प्रेम, समाजिक रीतिरिवाज, संस्कृति, पारिवारिक सम्बन्ध र मित्रताका कुरा पनि कृतिमा समावेश गरिएको जानकारी दिनुभयो ।

अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी लेखक श्रेष्ठ नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सहसचिव पदबाट अवकाशप्राप्त हुनुहुन्छ । उहाँ गोर्खा दक्षिणबाहु (चौथो), शुभराज्याभिषेक पदक, जनपदसेवा पदक तथा दीर्घसेवा पदकबाट विभूषित हुनुहुन्छ । उहाँको यसअघि ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक प्रकाशित छ ।

यो पनि – प्रदेश नं १ मा ३२२ मा कोरोना सङक्रमण

विराटनगर, ९ असोज (रासस) : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी ७७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सोही अवधिमा पालिकामध्येमा विराटनगरमा ३९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ४८, झापामा ३०, धनकुटामा पाँच, खोटाङ र इलाममा दुई÷दुई, सङ्खुवासभा र पाँचथरमा एक÷एक तथा प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । सो अवधिमा ७२५ जनाको पिसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ गरी कूल ३२२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै १५० महिलासहित २६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम ः ४१ सङ्क्रमणमुक्त, एकको मृत्यु

बैतडी– सुदूरपश्चिम प्रदेशमा आज थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ४४ जनाको नमूना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैमा पिसीआर विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा १८ र डडेल्धुरा अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ४१ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामका २८ वर्षीय पुरुष छन् । यसअघि शुक्रबार यस प्रदेशमा ३४ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए ।

प्रतिक्रिया दिनुहोस