‘जहाँ फार्मेसी, त्यहाँ फार्मासिष्ट’


जहाँ फार्मेसी हुन्छ, त्यहाँ फार्मासिष्ट नहुँदा समस्या भएको गुनासो बढेको छ । नेपाल फार्मेसी सङ्घका जिल्लाअध्यक्ष सुलभ अधिकारीले शनिबार परेको विश्व फार्मेसी दिवसका अवसरमा घोराहीको बिपीचोकमा आयोजित कार्यक्रममा उहाँले अहिले फार्मेसी भए पनि फार्मासिष्टभन्दा अन्य व्यक्तिबाट औषधि वितरण हुँदा बिरामीमा परेको असरबारे ध्यान दिन आग्रह गर्नुभयो ।

फार्मेसी पढेका व्यक्तिका लाइसेन्स भाडामा दिँदा अन्य व्यक्तिले त्यसको फाइदा लिने गरेकाले त्यसमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका फार्मेसी विभाग प्रमुख केशरमान बिसीले विद्यार्थीले फार्मेसीको महत्व बुझ्नुपर्ने आवश्यकता औल्याउनुभयो । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका फार्मेसी अधिकृत रोशन तिमिल्सिनाले औषधि ऐन २०३५ अनुसार जहाँ औषधि हुन्छ, त्यहाँ फार्माष्टि हुनैपर्नेमा अहिलेसम्म त्यस्तो व्यवस्था नभएको गुनासो गर्नुभयो । स्वास्थ्य कार्यालयका फार्मेसी अधिकृत प्रविन तिमिल्सिनाले औषधिमा अर्बौ बजेट भए पनि फार्मासिष्ट नहुँदा औषधि वितरण, भण्डारणलगायतमा समस्या रहेको बताउनुभयो ।

यो पनि – विपन्न बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा क्लबले सहारा घरमा आश्रित विपन्न बालबालिकाका लागि खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लबले शनिबार चितवनको भरतपुर –१२ नौरङ्गीस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (सहाराको घर) मा शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेको हो । सहाराको घरमा रहेका १८ बालबालिकालाई चामल, दाल, चिउरा, तेललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष लायन शक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

राजधानी काठमाडौँमा स्थापित लायन्स हेरिटेज धरहरा क्लबले विश्व महामारी कोभिड–१९ सङ्क्रमणको जोखिममा समेत विभिन्न अस्पताल तथा आइसोलेशनमा रहेका कोरोनाका बिरामीलाई खाद्यान्न तथा लत्ताकपडा तथा आर्थिक सहयोग गर्दै आएको छ । विसं २०६९ मा एक जना अनाथ बालबालिका संरक्षण गरेर सुरु गरेको सहारा घरमा हाल चार वर्षदेखि १८ वर्ष उमेरका १८ जना बालबालिका संरक्षित रहेको सहारा घरकी अध्यक्ष कुसुम तिवारी (सहारा) ले जानकारी दिनुभयो ।

विदेशमा बसेका केही नेपाली तथा सामाजिक सङ्घसंस्थाको सहयोगमा चलिरहेको सहारा घरमा लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराले अतिआवश्यकरुपमा रहेको कम्युटर तथा बालिकाले प्रयोग गर्ने सेनिटरी प्याडलगायत शैक्षिक सामग्री कापी, कलम, विद्यालय झोला सहयोग गर्दा राहत भएको अध्यक्ष तिवारीले बताउनुभयो ।

यो पनि – भौतिक उपस्थितिमा परीक्षा सञ्चालन

भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालिक संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि सुरु परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । नगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा आजदेखि हुने भएकाले विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ अनुसार नगरभित्रका सबै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्दा कक्षाकोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुनेगरी विद्यार्थीको बसाइ व्यवस्थापन गर्ने, विद्यालयमा विद्यार्थीको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने र खोप लगाउन बाँकी भए नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउने व्यवस्था गर्नुपर्ने निर्देशनसहित नगरपालिकाले विद्यालयमा परिपत्र गरेको छ ।

विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षाकोठाको पूर्ण सरसफाइ तथा निर्मलीकरणको सुनिश्चितता गर्ने, विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरकफरक सिफ्टमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने र विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेलाबेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने, विद्यालयको प्रवेशद्वार, कक्षाकोठा र शौचालयको प्रयोग गर्दा विद्यार्थी लाइनमा पालैपालो दूरी कायम गरी निस्कने तथा पस्ने प्रबन्ध मिलाउने र सबै जनाले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको टोलीले यसको अनुगमनसमेत गर्ने भएको छ ।

यो पनि -वडा कार्यालयको शौचालयमा शव

बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर लास जाँच गरिरहको छ ।शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस