कैलालीमा २६ वर्षीया सुत्केरीको मृत्यु


कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शनिबार राति सुुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि सो अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएकोमा आज बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएको अस्पतालले जनाएको छ । कल्पनाले जन्म दिएको बच्चालाई सो अस्पतालकै एनआइसीयुमा राखिएको जनाइएको छ । तर मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेको बताइएको छ ।

यो पनि – पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना संक्रमित,१२७९ जना कोरोना संक्रमणमुक्त

काठमाडौं,१० असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८५८९  पीसीआर र ५१४७ एन्टीजेन परीक्षणमा ८३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ९१ हजार ३९२  पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ९० हजार  ५४७ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १२७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि – विद्यार्थी बिरामी पर्न थालेपछि दुई विद्यालय बन्द

धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो । विगत एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक माविका प्रअ गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

सुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेका थिए । त्यसको एक सातापछि शनिबारदेखि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको प्रअ तिमिल्सिनाले बताउनुभयो । पकुवाको साविक वडा नं ३ रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी परेका छन्् ।बालबालिका तथा विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ । सुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो । थप विद्यार्थीमा सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको तिमल्सिनाको भनाइ छ ।

अहिले झण्डै ५० विद्यार्थी बिरामी परेका छन् । उनीहरु सबैको पिसिआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भइरहेको छ । वडाध्यक्ष शिवप्रसाद पौडेलले बिरामी परेका विद्यार्थीको पिसिआर वा एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीलाई बोलाइएको बताउनुभयो ।  भाइरल र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले थप सजगता अपनाउन विद्यार्थीलाई भनिएको छ । उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गरेर औषधि सेवन गरिरहेको प्रअ तिमिल्सिनाले जानकारी दिनुभयो । जिल्लामा यसै सातादेखि विद्यालयको भौतिक उपस्थितिमा पढाइ गरिएको छ । यही असोज १ गतेदेखि विद्यालय खुलेका हुन् । विद्यालय खुलेको केही दिनमै बिरामी परेपछि पढाइ प्रभावित बनेको प्रद्यानाध्यापक तिमिल्सिनाले बताउनुभयो । जिल्लामा कोरोना सङ्क्रमण दर भने न्यून छ । अहिले जिल्लाभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात छ ।

यो पनि – विपन्न बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा क्लबले सहारा घरमा आश्रित विपन्न बालबालिकाका लागि खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लबले शनिबार चितवनको भरतपुर –१२ नौरङ्गीस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (सहाराको घर) मा शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेको हो । सहाराको घरमा रहेका १८ बालबालिकालाई चामल, दाल, चिउरा, तेललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष लायन शक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

राजधानी काठमाडौँमा स्थापित लायन्स हेरिटेज धरहरा क्लबले विश्व महामारी कोभिड–१९ सङ्क्रमणको जोखिममा समेत विभिन्न अस्पताल तथा आइसोलेशनमा रहेका कोरोनाका बिरामीलाई खाद्यान्न तथा लत्ताकपडा तथा आर्थिक सहयोग गर्दै आएको छ । विसं २०६९ मा एक जना अनाथ बालबालिका संरक्षण गरेर सुरु गरेको सहारा घरमा हाल चार वर्षदेखि १८ वर्ष उमेरका १८ जना बालबालिका संरक्षित रहेको सहारा घरकी अध्यक्ष कुसुम तिवारी (सहारा) ले जानकारी दिनुभयो ।

विदेशमा बसेका केही नेपाली तथा सामाजिक सङ्घसंस्थाको सहयोगमा चलिरहेको सहारा घरमा लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराले अतिआवश्यकरुपमा रहेको कम्युटर तथा बालिकाले प्रयोग गर्ने सेनिटरी प्याडलगायत शैक्षिक सामग्री कापी, कलम, विद्यालय झोला सहयोग गर्दा राहत भएको अध्यक्ष तिवारीले बताउनुभयो ।

यो पनि – भौतिक उपस्थितिमा परीक्षा सञ्चालन

भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालिक संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि सुरु परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । नगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा आजदेखि हुने भएकाले विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ अनुसार नगरभित्रका सबै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्दा कक्षाकोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुनेगरी विद्यार्थीको बसाइ व्यवस्थापन गर्ने, विद्यालयमा विद्यार्थीको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने र खोप लगाउन बाँकी भए नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउने व्यवस्था गर्नुपर्ने निर्देशनसहित नगरपालिकाले विद्यालयमा परिपत्र गरेको छ ।

विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षाकोठाको पूर्ण सरसफाइ तथा निर्मलीकरणको सुनिश्चितता गर्ने, विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरकफरक सिफ्टमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने र विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेलाबेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने, विद्यालयको प्रवेशद्वार, कक्षाकोठा र शौचालयको प्रयोग गर्दा विद्यार्थी लाइनमा पालैपालो दूरी कायम गरी निस्कने तथा पस्ने प्रबन्ध मिलाउने र सबै जनाले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको टोलीले यसको अनुगमनसमेत गर्ने भएको छ ।

यो पनि -वडा कार्यालयको शौचालयमा शव

बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर लास जाँच गरिरहको छ ।शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस