नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेट घट्यो


आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लिएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६.३३ मा ओर्लिएको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर रु पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४४.०८, व्यापार ४१.२६, होटल तथा पर्यटन ९०.१२, विकास बैंक १९४.१, जलविद्युत् ८०.६१, वित्त ११२.९६, निर्जीवन बीमा ४३९.२८, उत्पादन १०४.३९, अन्य ४३.०२, लघुवित्त १३२.४९, जीवन बीमा ४३७.१७, सामूहिक लगानी कोष ०.१६ र लगानी २.८६ विन्दुले ओरालो लागे ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड ४९ लाख ७१ हजार २३० बराबरको कारोबार भयो । युनाइटेड मोदी हाइड्रोपावर रु १३ करोड ५१ लाख ८८ हजार ३८, हिमालयन डिस्टिलरी रु १२ करोड ९२ लाख १८ हजार ७६०, नेपाल बैंक लिमिटेड रु १२ करोड ८५ लाख ४९ हजार ६९३ र नेशनल हाइड्रोपावर रु ११ करोड ९८ लाख ४० हजार ९४१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ९.९९, मैलुङ ओला जलविद्युत् कम्पनी ९.९७, गोर्खाज फाइनान्स ६.०८, मिर्मिरे माइक्रोफाइनान्सको संस्थागत शेयर ४ र एनआइसी एशिया बैंकको ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले कमाए । यसैगरी गुडविल फाइनान्स ७.८३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ७.७३, नेपाल फाइनान्स ७.७२, कालिका पावर कम्पनी ७.७१ र पोखरा फाइनान्सका लगानीकर्ताले ७.२० प्रतिशतले गुमाए ।

यो पनि -मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट गरेको छ ।  कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि कूल निष्काशनको शेयरको ३० प्रतिशत अर्थात १८ लाख कित्ता छुट्याइएको थियो ।

त्यस्तै बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको थियो । धितोपत्र बिक्री प्रबन्धकका अनुसार निष्काशन गरिएको आइपीओमा कूल एक लाख आठ हजार ५२७ जनाले शेयर खरिदका लागि आवेदन दिएका थिए ।

तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले शेयर खरिदका लागि आवेदन दिएकामा ४९ जनाको आवेदन रद्द भएकाले कूल १२ हजार ९८ जनालाई शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावित क्षेत्रअन्तर्गत १८० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिमकै शेयर पाएका छन् भने १९० देखि ४०० कित्तासम्म आवेदन दिएकाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

त्यस्तै आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रका आवेदकमध्ये एक हजार ५१५ जनाको आवेदन रद्द भएर ९४ हजार ८६५ जना योग्य आवेदकलाई शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । योग्य आवेदकमध्ये न्यूनतम १० देखि अधिकतम ४० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिम शेयर पाएका छन् भने ५० देखि चार सय कित्तासम्मका लागि आवेदन दिनेबाट गोलाप्रथा गरी ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले गत वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर बिक्री खुल्ला गरेको थियो । कोभिड– १९को सङ्क्रमण जोखिमका कारण भएको बन्दाबन्दीले केही समय स्थागित भई गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला भएको शेयरमा स्थानीयवासीले साउन ३२ सम्म आवेदन दिएका थिए ।

यसअघि कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीका लागि एक करोड ४४ लाख कित्ता शेयर निष्काशन र बाँडफाँट गरिसकेको छ । कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्य भखभेटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बाँडफाँटको नतिजा सर्वसाधारणले निष्काशनकर्ता कम्पनी, बिक्री प्रबन्धक र सह–निष्कासन कम्पनीका वेभसाइटबाट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस