सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान


दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो चामल ३० किलोग्रामको बोरा रु एक हजार ५१५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताउनुभयो । सामान्यतया अरू समयमा संस्थानले यस चामललाई रु एक हजार ६२५ मा बिक्री गर्दै आएको थियो ।

यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई रु एक हजार २१५ पर्ने उनले बताउनुभयो । दैनिक चार÷पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उहाँले बताउनुभयो । संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ । ग्रेडिङ गरेको चामल हुने भएकाले चामलमा कनिका नहुने उहाँको भनाइ छ । एक पटक उपभोग गरेकाहरुले फेरि पनि संस्थानकै चामल खोज्ने थरेको उहाँले बताउनुभयो ।

यो पनि – बाढी प्रभावित परिवारलाई खाद्य र गैरखाद्य सामग्री वितरण

बाढीबाट प्रभावित भएका कञ्चनपुरका तीन सय परिवारलाई आज खाद्य र गैरखाद्य सामग्री वितरण गरिएको छ ।बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम (स्टार्ट फण्ड) अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा बाढी प्रभावितका लागि खाद्य सहायता भौचर, सरसफाइ स्वच्छता, डिनिटी किट, भान्सा सामग्री र गैर खाद्य सामग्री वितरण गरिएको हो ।

निड्स नेपालका निर्देशक भवराज रेग्मीका अनुसार पुर्नबास नगरपालिकाका ६८, लालझाडी गाउँपालिकाका १४०, शुक्लाफाँटा नगरपालिकाका ३६, बेदकोटका ७ र कृष्णपुरका ४९ सहित ३०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

बाढी प्रभावित परिवारलाई खाद्य सहायता भौचर(प्रिपेड कार्ड)मार्फत प्रतिघरधुरीलाई रु ११ हजार २५० का दरले ३०० घरघुरीलाई उपलव्ध गराइएको छ । पोषण सहायता भौचर(गर्भवती, सुत्केरी, दीर्घरोगी)लाई रु पाँच हजारका दरले पाँच पालिकाका ९० घरधुरीलाई वितरण गरिएको छ । हाइजिनकिट दुई हजार २७० का दरले १७० घरधुरीलाई, महिला तथा किशोरी सम्मान सामग्री(डिगनीटी किट) रु तीन हजार ४८० का दरले ७५ घरधुरीलाई, सार्वजनिक धारा र शौचालय एवं खानेपानी सुविधामर्मत सम्भार रु पाँच हजारका दरले ४० घरधुरीलाई उपलव्ध गराइएको छ । यसैगरी, खानेपानी स्वच्छताका लागि हाते धारा सुद्धिकरण रु एक हजार २०० का दरले १२० घरधुरीलाई र बाढीका कारण बिग्रेका भत्केका घरको मर्मत सम्भार रु पाँच हजारका दरले १२५ घरधुरीलाई उपलव्ध गराइएको छ ।

गैरखाद्य सामग्री (भान्सा तथा लत्ताकपडा) रु छ हजार ४०० का दरले १२५ घरधुरीलाई र मनोसामाजिक परामर्श र लैङ्गिक हिंसा न्यूनीकरण सचेतना एक सय घरधुरीलाई दिइएको छ । जसका लागि प्रति घरधुरी रु दुई हजार ९८० का दरले रकम खर्च गरिएको छ ।

मछेली नदीको बाढीबाट विस्थापना परेका कृष्णपुर नगरपालिका–२ मछेलीका हरि डगौराले खाद्य र गैर खाद्य सामग्री पाएपछि खुसी भएको बताउनुभयो । “बाढीबाट घर मर्मत सम्भार, खानेपानीका लागि धारा मर्मत र खाद्य र गैर खाद्य सामग्री एक महिना पुग्ने गरी उपलव्ध गराइएको छ” उहाँले भन्नुभयो, “विजोग अवस्थामा थियौं । यसले केही राहत महसुस भएको छ ।”
–––

प्रतिक्रिया दिनुहोस