बेलायतमा इन्धन संकट समाधान गर्न सैनिक ट्याङ्कर चालकलाई काम लगाइने


बेलायतमा लामो लाइन र तेल अभावबीच पेट्रोल पम्पहरू बन्द हुन थालेपछि अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । सेनाका ट्याङ्कर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ । बेलायतका व्यापारमन्त्री क्वासी कोर्टनले केही दिनमा आपूर्ति सहज हुने बताउनुभयो । उहाँले राज्यमा पर्याप्त आपूर्ति रहेको बताउँदै यो अवस्था केही दिनमा सहज बन्ने बताउनुभयो ।

तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन् । तर ‘मोटरीङ ग्रुप, आरएसी’का अनुसार केही किराना व्यापारीहरूले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन् । सरकारी अधिकारीहरूले भने आवश्यकता नभएका मानिसले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन् । लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशंकाका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए ।

सरकारले ट्याङ्कर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ । बिपी र सेलजस्ता ठूला उत्पादकहरूले बेलायतका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन् ।

यो पनि – ‘अफगान आकाशमा ड्रोन गस्ती रोक्न अफगान अधिकारीको अमेरिकालाइ आग्रह’

अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति आफ्नो प्रतिबद्धतालाई ध्यान दिनुपर्ने र अफगान आकाशमा अतिक्रमण गर्न नहुने नाम उल्लेख नगर्ने शर्तमा अफगान अधिकारीले बताएको उक्त समाचार संस्थाले बताएको छ ।

अधिकारीहरूले हालै अमेरिकाले अफगानिस्तानको हवाई आकाशमा ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको बताए ।तिनीहरूले अन्तरराष्ट्रिय कानुनअन्तर्गत सबै देशहरू आफ्नो राज्यको ‘क्षेत्रीय तथा वायु सार्वभौमिकताको एक मात्र मालिक’ हुन् भनी जोड दिए ।“अफगानिस्तानको एकमात्र कानुनी संस्थाको रूपमा अफगानिस्तानको इस्लामिक इमिरेट अफगानिस्तानको भूमि र हवाई क्षेत्रको संरक्षक हो; तर संयुक्त राज्य अमेरिकाले हालै कतारको दोहामा इस्लामिक इमिरेटप्रति गरिएका सबै अन्तर्राष्ट्रिय कानुन र संयुक्त राज्य अमेरिकाको प्रतिबद्धताको उल्लङ्घन गर्दै कारबाही गरेको छ,” अधिकारीहरूले भनेका छन् । यस्ता उल्लङ्घनहरूलाई रोक्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

संयुक्त राज्य अमेरिका नेतृत्वको पश्चिमी सैनिक गठबन्धन (नाटो) सहयोगमा अफगानिस्तामा तालिवान समूहलाई विस्थापित गरी करिब २० बर्ष अफगान अधिकारीहरूलाई शान्ति स्थापनाका लागि सहयोग गरेको अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) लडाकूहरूले गतिविधि सञ्चालन गर्नसक्ने कुरालाई ध्यानमा राख्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियालीरहेको अफगान अधिकारीहरूले बताएका छन् ।

यो पनि – राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू मनोनयन गर्दै

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दैहुनुहुन्छ । उच्च कानूनी पदमा मनोनयनका लागि विविध समूहबाट समावेशीरूपमा उमेद्वार छनोट अन्तिम चरणमा प्रवेश गरेको बताइएको छ। ह्वाइट हाउसले मंगलबार घोषणा गरेको नामअनुसार ती उमेद्वारहरूले हवाई, रोड आइल्याण्ड, उत्तरी क्यारोलिना, कोलोराडो, ओहायो, भर्मन्ट र युएस भर्जिन टापुहरूमा संघीय अभियोजकको कार्यालयहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

न्याय विभागका ९३ न्यायाधिवक्ताहरू संघीयस्तरमा आपाराधिक कार्यको अभियोजनका लागि सम्बन्धित जिल्लाहरूमा जिम्मेवार हुनेछन् । जसबाट बाइडेन प्रशासनलाई केन्द्रमा अपराध नियन्त्रणका लागि सहयोगी हुनेछ। बाइडेन प्रशासनका अनुसार ती उमेद्वारहरूको छनोट तिनीहरूको न्यायिक दक्षता, समर्पण, पेशागत क्षमता, अनुभव र स्वतन्त्र न्यापालिकाका लागि गरेको प्रतिबद्धताका आधारमा गरिनेछ।

यो पनि – भारतमा २०१ दिनपछिकै सवैभन्दा कम सङ्क्रमित, सक्रिय सङ्क्रमित पनि न्युन

१२ असोज (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सवैभन्दा कम भएको छ । पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै जानेक्रममा मंगलबार झण्डै सात महिना पछिकै कम भएको हो । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् ।दैनिक सङ्क्रमितहरुको २० हजारभन्दा कम हुनुलाई सन्तोषजनक अवस्थाको रुपमा लिइएको अधिकारीहरुको भनाई छ । नयाँ सङ्क्रमित मध्ये आधाभन्दा बढी केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ११ हजार ६९९ जना सङ्क्रमित भएका हुन । केरला बाहेक अन्य क्षेत्रको सङ्क्रमितको सङ्ख्या हेर्दा अत्यन्त न्युन देखिएकाले पनि सन्तोष मान्नु पर्ने अवस्था नै रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।यसलाई अझै घटाउनका लागि खोप अभियानसँगै सतर्कता अपनाउनु पर्ने अभियानलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३६ लाख ९७ हजार ५८१ पुगेको छ ।
कुल सङ्क्रमित मध्ये दुई लाख ९२ हजार २०६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो पनि १९२ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । सक्रिय सङ्क्रमितहरुको अहिलेको सङ्ख्या कुल सङ्क्रमितहरु मध्येको एक प्रतिशतभन्दा पनि कम देखिएको छ । यो सङ्ख्या पनि २०२० को मार्चपछिकै सवैभन्दा कम भएको अधिकारीहरुको भनाई छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल तीन करोड २९ लाख ५८ हजार दुई जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये २६ हजार ३० जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन । दैनिक नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै हुदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको हो । भारतमा कोरोनाबाट अहिलेसम्म कुल चार लाख ४७ हजार ३७३ जनाको मृत्यु भएको छ । ती मध्ये १७९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो पनि – नेपालमा अनुवांशिक अध्ययन गर्दा डेल्टा भाइरस भेटियो

कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक ९जीन सिक्वेन्सिङ० अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय ९त्रिवि० जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो ।प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताउनुभयो । प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो ।

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो । निर्देशक डा झाले अब नेपालमैै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताउनुभयो ।

यो पनि – हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

१२ असोज (रासस÷एएफपी) ः हाइटीमा आउँदो महिनामा हुन गइरेहको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित भएको हो ।निर्वाचन अनिश्चितकालको लागि स्थगित भएपछि देश थप अनिश्चिततामा धकेलिएको छ ।सेप्टेम्बर २०२० मा राष्ट्रपतिको रुपमा जोवेल मोइसेको नियुक्तिपछि २०२१ जुलाईमा हत्या भएको थियो । त्यसपछि गठन गरिएको अस्थायी निर्वाचन परिषद् (सीईपी) का नौ सदस्यहरुलाई विपक्षी र जनताले कडा आलोचना गरेका छन् ।

सर्वत्र आलोचनाका कारण उनीहरुलाई बर्खास्त गरिएको हो । पटक पटकको छलफल पछि तय गरिएको निर्वाचन र संवैधानिक जनमत संग्रहको पहिलो चरणको मतदान आगामी नोभेम्बर ७ मा गर्ने तय भएको थियो । अहिले हुने भनिएको निर्वाचनले नै राष्ट्रपति समेत चयन गर्ने थियो, तर निर्वाचन नै नहुने भएपछि राजनीतिक संकट उत्पन्न हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस