मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु दुई पौडिएर बाँचे


मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् । खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

आज दिउँसो १ः३० बजे विद्यालयबाट खाजा खानका लागि घर जानेक्रममा तीन बालिकालाई खोलले बगाएको र दुईजना पौडिएर निस्कन सफल भएको तर एकजना बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीयवासी र प्रहरीले खोजी गरेका थिए । आज साँझ बालिकाको शव फेला परेको प्रनानि रिमालले बताउनुभयो । मृत्यु हुने बालिका राक्सिराङ–८ का कृष्णबहादुर थिङकी १२ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बालिकाको शव डेढ किलोमिटर तल भेटिएको थियो । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकसहितको टोली पुगी अनुसन्धान एवं मुचुल्का उठाउने काम गरिरहेको जनाइएको छ ।

यो पनि – विद्यालय खुलेको १५ दिनमै पुनः बन्द

यहाँको एक विद्यालयका दुई छात्रामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । कोरोना सङ्क्रमणसँगै लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै कक्षा ९ मा अध्ययनरत दुई छात्रामा कोरोना पुष्टि भएपछि तीन दिनका लागि बन्द गरिएको हो । स्याङ्जाको चापाकोट नगरपालिका–६ स्थित साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएपछि विद्यालय समयमै नजिकै रहेको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको विद्यालयका प्रधानाध्यापक दीपक बस्ताकोटीले जानकारी दिनुभयो ।

“कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्नेलगायत लक्षण देखिएकाले नजिकैको स्वास्थ्य चौकीमा कोरोना परीक्षण ग¥यौँ”, प्रअ बस्ताकोटीले भन्नुभयो, “ती छात्रामा कोरोना पुष्टि भएपछि उनीसँगै बसेका अन्य १० जना छात्र÷छात्राको पनि एन्टिजेन परीक्षण गर्दा थप एक छात्रामा कोरोना पुष्टि भएको हो ।” दुई छात्रामा कोरोना पुष्टि भएपछि अन्य विद्यार्थीमा सङ्क्रमण फैलिन नदिनका लागि विद्यालय व्यवस्थापन समिति र चापाकोट नगर शिक्षा समितिको निर्णयबमोजिम आजदेखि तीन दिन विद्यालय बन्द गरिएको प्रअ बस्ताकोटीले बताउनुुभयो ।

आगामी शुक्रबारदेखि विद्यालय सञ्चालन गर्ने र गेटमै ज्वरो परीक्षण गरी लक्षण देखिएका विद्यार्थीको एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको चापाकोट नगर शिक्षा शाखा प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो । चापाकोटमा भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आएका छन् । अन्य विद्यालयमा यस्तो समस्या नदेखिएकाले पठनपाठन कार्य नियमित सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख न्यौपानेले बताउनुभयो । चापाकोट नगरपालिकाभित्र ४५ सामुदायिक र सात संस्थागत विद्यालय सञ्चालनमा छन् । कोभिड सङ्क्रमण देखिएको साँखर मोहमी माविमा कक्षा १ देखि १० सम्म कूल १७० जना छात्रछात्रा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस