व्यापारी ह.त्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप


सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको ह.त्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ । कमलसिंहको ह.त्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया–५ का रामबहादुर मडै, सुर्नया–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले पक्राउ गरी यही असोज ८ गते सार्वजनिक गरेको थियोे ।

उनीहरुमाथि मङ्गलबार जिल्ला अदालतबाट थप आठ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । ह.त्यामा संलग्न रहेको आशंकामा उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर असोज ८ गते पहिलोपटक अदालतबाट पाँच दिनको म्याद थप गरिएको थियो । अनुसन्धानको काम नसकिएकाले दोस्रोपटक अदालतबाट म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

सुर्नया–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल गर्दै आएका ५५ वर्षीय महरा असोज ७ गते बिहान सन्सेरीमाडौँमै मृत फेला परेका थिए । मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले ह.त्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो । घटनापश्चात अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख शाही नेतृत्वको टोलीले उनीहरुलाई घटना भएको २४ घण्टा नबित्दै पक्राउ गरेको थियो ।

असोज ६ गते मदिरा सेवन गरी फलामको रड प्रयोग गरी कमलसिंहको ह.त्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । आरोपितमध्येका एकजनाले आफूले रड प्रहार गरी ह.त्या गरेको प्रहरीसमक्ष बयानसमेत दिएको प्रहरीले जनाएको छ । घटनामा एकै जनाको संलग्नता हो कि अरुको पनि संलग्नता थियो भन्नेबारे प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको हो । पक्राउ परेका चारै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस