तनहुँको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बल्यो बत्ती


जिल्लाको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बत्ती बलेको छ । अविरल वर्षासँगै गएको पहिराले पोल ढलेर विद्युत् अवरुद्ध हुँदा सिङ्गो गाउँपालिका अन्धकारमय बनेको थियो । सो गाउँपालिकामा मङ्गलबारदेखि बत्ती बलेको छ गत शुक्रबारदेखि विद्युत् अवरुद्ध हुँदा ऋषिङवासी अन्धकारमा जीवन बिताउन बाध्य थिए । गाउँपालिकाको आठवटै वडामा विद्युत् अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

अविरल वर्षाले श्रृङ्गपथअन्तर्गत अजम्बरीमा पुनः पहिरा खसेर सडक अवरुद्ध भएको छ । उक्त स्थानमा अघिल्लो महिनाको वर्षात्ले जस्तै गरी क्षति पुगेको उहाँले बताउनुभयो । वर्षाका कारण गाउँपालिकाका आठ घरमा पूर्ण क्षति भएको छ । उहाँले भन्नुभयो, “आंशिक क्षति भएका घरको तथ्याङ्क लिने काम भइरहेको छ ।”

ऋषिङ गाउँपालिका–८ मिलनचोकस्थित प्रेम शाहीको घर जमिनदेखि करिब दुई मिटर तल भाँसिएर क्षति भएको गाउँपालिकाले जनाएको छ । श्रृङ्गपथका विभिन्न स्थानमा पहिरो खसेका कारण आवतजावतमा कठिनाइ भएको छ । यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएसँगै मानिसको आवतजावतमा कठिनाइ भएको छ । ऋषिङ, घिरिङ र भीमाद गरी तीन पालिकाबीच यातायात सेवा नियमित बनाउने विषयमा समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्लाका घिरिङ गाउँपालिका–१ अत्रौली निवासी टीकाराम दर्जी, रामबहादुर विक र बमबहादुर थापाको घर जोखिममा रहेका छन् । घरमाथिको करिब १०० मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो जाने उच्च जोखिममा छ । त्यस्तै पहिराका कारण रीता विक र शर्मिला थापाको परिवार विस्थापित भएको स्थानीयवासी विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । पीडित परिवारलाई उचित राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित पक्ष र सरोकारवाला निकायसँग जोडदार माग गरिएको उहाँले बताउनुभयो ।

यो पनि- ब्याएका गाईभैँसीलाई पोषण भत्ता !

जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभँैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कृत्रिम गर्भाधानबाट गाईभँैसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो ।

गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाछाबाछी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरेको जानकारीदिनुभयो । “कृत्रिम गर्भाधान गराएका गाईँभैसीबाट जन्मिएका पाडापाडी र बाछाबाछी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ”, उहाँले भन्नुभयो, “यसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाछाबाछी पाल्न थालेका छन् ।”

विशेषगरी जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी नपाल्ने चलन हटाएर संरक्षण गर्न कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक श्रेष्ठले बताउनुभयो । गत आर्थिक वर्ष २०७७÷७८ मा ७२ कृषकलाई पाडापाडी र बाछाबाछी हुर्काएवापत पोषण भत्तास्वरुप रु दुई हजार ५०० का दरले कूल रु एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ ।

जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाछाबाछी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातको राँगो, साँढे र बोकासमेत वितरण गरेको छ । आठ समूहलाई राँगो खरिद गर्न रु ३० हजारका दरले अनुदान दिएको छ । बीस जना कृषकले गोठ सुधार गर्न रु २५ हजारका दरले अनुदान पाएका छन् । दश कृषकलाई घाँस टुक्रा पार्ने च्यापकटर खरिद गर्न रु २० हजारका दरले अनुदान वितरण गरेको छ ।

पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाईभँैसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुवर्षे डाले र भुइँघाँसखेती विस्तारका लागि बीउ र बिरुवा वितरण गरेको छ ।

वार्षिक रु १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यक पर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा पुगेको छ । वार्षिक रु २७ लाख ६३ हजार १५० लिटर दूध उत्पादन हुने जलजलाबाट रु आठ लाख १० हजार ८३६ लिटर दूध निकासी हुन्छ । वार्षिक तीन लाख ३५६ किलोग्राम मासु आवश्यक पर्नेमा एक लाख ७१ हजार ५३ किलोग्राम र १० लाख २९ हजार ७९२ गोटा अण्डा आवश्यक पर्नेमा छ लाख ५७ हजार २८० उत्पादन हुने गरेको पशु सेवा शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस