एनआरएनए अधिवेशन : उम्मेदवारी घोषणा सुरु


बर्लिन, २० भदौ (रासस) : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्नुहुन्छ । यसैगरी रामप्रताप थापा, उषा शर्मा, दिल गुरुङलगायत एनआरएनए अभियानकर्मी रहनु भएको जर्मनीबाट यसपटक अन्तर्राष्ट्रिय समन्वय परिषद् तहमा नेतृत्व लिएर अघि बढ्ने उम्मेदवारबारे चर्चा सुरु हुन लागेको छ । यहाँ एक हजार ५९५ सदस्य छन् । आइसिसीमा जान पाउनेमा निर्वाचनमार्फत शङ्कर डाँगी विजयी भइसक्नुभएको छ ।

अक्टोबर तेस्रो साता सुरु हुने अधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक र उपसंयोजकका उम्मेदवारका रूपमा जर्मनीबाट क्रमशः पूर्वआइसिसी सदस्य सन्तोष भट्टराई र जर्मनीका पूर्वअध्यक्ष डा नवराज रोस्याराले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । यसपटक पहिलेको जस्तो परिस्थिति पनि नभएको र आफ्नो उम्मेदवारी समयको माग बनेकाले युरोप क्षेत्रको नेतृत्व लिने अठोटमा पुगेको उहाँहरुको भनाइ छ ।

यसैगरी बद्री केसी, कुल आचार्य र रविना थापाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुन लागेको बताइएको छ । उपसंयोजक पदका उम्मेदवार डा रोस्यारा पनि अन्तिम अवस्थासम्म आउँदा केवल तीन जनाको मात्र उम्मेदवारी पर्नसक्ने भएकाले सर्वसम्मतरूपमा विजयी हुने दाबी गर्नुहुन्छ ।

विद्युतीय मतदान प्रणालीमार्फत अक्टोबरमा हुने निर्वाचनमा युरोप क्षेत्र संयोजकको लागि अहिलेसम्म पाँच जनाको नाम बढी चर्चामा छ । तीमध्ये जर्मनीबाट भट्टराई, बेलायतबाट कृष्णप्रसाद तिमल्सिना, आयरल्याण्डबाट शुक्रराज न्यौपाने, स्पेनबाट मुक्त गुरुङ र चिन्तामणि सापकोटा रहनुभएको छ ।

त्यस्तै उपसंयोजकको तीन पदका लागि जर्मनीबाट डा रोस्यारा, अष्ट्रियाबाट सागर सुवेदी, बेल्जियमबाट चित्र सुवेदी, पोर्चुगलबाट भीमकमल केसी, नर्वेबाट कुमार पण्डित, आयरल्याण्डबाट सागर लामा, बेलायतबाट ललितकुमार न्यौपाने र दयानिधि तिवारी बढी चर्चामा हुनुहुन्छ ।

यो पनि – झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व

झापा, २० भदौ (रासस) : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् ।

जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ । मेचीनगर–१० बाट उहाँसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको प्रचार प्रमुख हुमागाईँले बताउनुभयो । नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति हुनुहुन्छ ।

मेचीनगरका आठ, बुद्धशान्तिका चार, बिर्तामोडका छ, अर्जुनधाराका पाँच, कनकाईका चार, झापा गाउँपालिकाका सात, शिवसतासीका तीन, कमलको एक, गौरादहको दुई, गौरीगञ्जका दुई, भद्रपुरका तीन, बाह्रदशीका चार वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो ।

क्षेत्र नं १ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाउँदै अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस