झिनो अङ्कले घट्यो नेप्से परिसूचक


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ अङ्कले ओरालो लागेर ५३५.२९ मा ओर्लेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार ८५५ कित्ता शेयर रु सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । व्यापार ०.६, जलविद्युत् ६२.७५, जीवन बीमा ५९.३८ र लगानी ०.१७ विन्दुले बढेको छ ।बैंकिङ २.१७, होटल तथा पर्यटन ३.३१, विकास बैंक १२.०१, वित्त ३६.४३, निर्जीवन बीमा ६.३५, उत्पादन २१.७२, अन्य २२.५१, लघुवित्त १७.८८ र सामूहिक लगानी कोष ०.१६ विन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४९ करोड ३९ लाख ४९ हजार २२३ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर रु ४८ करोड ८५ लाख ६३ हजार ९०५, रैराङ हाइड्रोपावर रु ३३ करोड ६५ लाख छ हजार ९५१, युनाइटेड मोदी रु ३१ करोड २४ लाख ७८ हजार ७३५ र हिमालयन पावर पार्टनर रु १९ करोड ५० लाख २८ हजार ६४१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा हिमालयन पावर पार्टनर र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारातमक सर्किट लाग्यो । यस्तै रैराङ हाइड्रोपावर ९.२२, ग्रीन लाइफ हाइड्रोपावर ८ र माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ७.४१ प्रतिशतले कमाए । यसैगरी रिडी हाइड्रोपावर ५.२६, सिटिजन म्युचुअल फण्ड ५.१३, आइसिएफसी फाइनान्स ४.०२, सपोर्ट माइक्रोफाइनान्स २.९४ र युनिलिभर नेपालका शेयरधनीले २.८४ प्रतिशतले गुमाए । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार १७३ बराबर पुगेको छ ।

यो पनि – पछिल्लो २४ घन्टामा थप १,२७१ कोरोना संक्रमण पुष्टि, एक हजार ८४५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं,२४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १,२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८,८९८ पीसीआर र ,एन्टीजेन परीक्षणमा १,२७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८६ हजार २१९ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ३५ हजार ६ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो पनि – भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको पाइएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको देखिएको छ । सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार २६३ जना नयाँ सङ्क्रमित भएका छन् । जवकी अघिल्लो दिन दैनिक सङ्क्रमितको सङ्ख्या कम भएको थियो ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एक दिनमा कुल मृत्यु भएका मध्ये १८१ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् । त्यसैगरी केरलामा मात्रै एक दिनमा ३० हजार १९६ जना सङ्क्रमित भएका छन् । भारतमा सक्रिय सङ्क्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिन आगाडि चार लाखभन्दा बढी रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले घटेको छ ।

मन्त्रालयका अनुसार बिहीबार भारतमा तीन लाख ९३ हजार ६१४ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क छ । सोही अवधिमा भारतमा ४० हजार ५६७ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै समयमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्याभन्दा नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड २३ लाख चार हजार ६१८ रहेको मन्त्रालयले जनाएको छ ।

यो पनि – अफगानिस्तानको तालिवान सरकारलाई चीनको समर्थन, तीन करोड दश लाख अमेरिकी डलर दिने

चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ । विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो । चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ । चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ तालिवानलाई प्रारम्भीक सहयोग स्वरुप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।

अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेको झण्डै तीन सातापछि केही दिन अगाडि अन्तरिम सरकार गठन भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुय चुनीनले छिमेकी मुलुकको हैसियतले अफगानिस्तानलाई सहयोग गर्नु चीनको कर्तव्य हुने बताउनुभयो । उहाँले यस सहयोगलाई अफगानिस्तानी जनतालाई दिइएको आपतकालिन सहयोगको रुपसमेतमा व्याख्या गर्नुभयो ।

सहयोग अन्तर्गत चीनले खाद्य पदार्थ, पानीजन्य पदार्थ, खोप, औषधीजन्य पदार्थलगायत पनि रहने प्रवक्ता चुनीनले जानकारी दिनुभयो । तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि तत्कालिन राष्ट्रपति अशरफ घानीले देश छाडेर भाग्नु भएको थियो भने उहाँको सरकारले हात उठाएको थियो । घानी सरकारले हात उठाएपछि नयाँ सरकार गठन हुन नसकेको र नयाँ सरकार काम गर्न अन्यौलमा परेकोले दैनिक उपभोग्य वस्तुको व्यवस्थापनदेखि प्रशासनिक कामसमेतमा ठूलो समस्या देखिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले त अफगानिस्तानलाई पहिलो चरणमा ३० लाख खोप दिने घोषणा यसअघि नै गरिसक्नु भएको छ । तर खोप कहिले उपलब्ध हुन्छ भन्ने यकिन हुन भने बाँकी नै रहेको बताइएको छ ।

योपनि – जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने

जापानका प्रधानमन्त्री योशिहिडे सुगा अमेरिका भ्रमणमा जानु हुने भएको छ । यही सेप्टेम्बर महिनाको अन्त्यमा उहाँ अमेरिका जाने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । क्वाडा सम्मेलनमा सहभागी भइ विभिन्न देशका शिर्ष नेतासँग सुरक्षासम्वन्धी विषयमा छलफल गर्न उहाँ अमेरिकाको वासिङ्ट जानुहुने भएको हो ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्टे«लियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सहभागी हुने तय भएको छ । जापानका प्रधानमन्त्री सुगाको यो भ्रमण नै अन्तिम बैदेशिक भ्रमण हुनसक्ने देखिएको छ । यही सेप्टेम्बरको अन्त्यमा हुने पार्टीको निर्वाचनमा उम्मेदवार नबन्ने भएकाले उहाँले पार्टीको निर्वाचनपछि प्रधानमन्त्री पदसमेतबाट बाहिरिनु पर्ने छ । कोरोनाभाइरसको महामारीका विरुद्धमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुगाप्रति धेरैतिरबाट असन्तुष्टि व्यक्त भएको छ । त्यही असन्तुष्टिका कारण उहाँले प्रधानमन्त्री पद त्याग्ने उद्देश्यले पार्टीको जिम्मेबारीसमेत नलिने हुनुभएको हो ।

जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीको महाधिवेशन यही सेप्टेम्बरको अन्त्यमा हुन लागेको छ । त्यस अधिवेशनमा उहाँले आफूले उम्मेदवारी नदिने र नेतृत्व अन्य नेतालाई हस्तान्तरण गर्न चाहेको बताउनु भएको छ । तत्कालिन प्रधानमन्त्री सिन्जे आवेको आकस्मीकरुपमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुगा अघिल्लो वर्ष प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । झण्डै एक वर्षे कार्यकाल विताएर उहाँले देशको कार्यकारी प्रमुख पदबाट विदा लिन लाग्नु भएको उहाँ निकटस्थले जानकारी दिएका छन् ।

यो पनि – तालिवानको कब्जा पछि अफगानीहरू जागिर र पैसाको भयमा

काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतीफा अलिजादा उनको पाँच सदस्यीय परिवारमा एकमात्र रोजगार व्यक्ति हुन् । उनले घरखर्चका अतिरिक्त तीन छोरा र बेरोजगार पति समेतको हेरचाह गर्नुपर्नै दायित्व छ।  जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए त्यसपछि उनी बेरोजगार भइन र हाल भविष्यको चिन्तामा परेकी छिन् ।जब कट्टर इस्लामी समूहले तलब नदिने, अनुहार छोप्ने गरी घुम्टो लगाउँनुपर्ने र कामका सिलसिलामा पुरुष सहकर्मीहरू बाट समेत अलग हुनुपर्ने नियमहरू थोपर्न थाले ती २७ वर्षीया युवती जागिर छोड्न बाध्य भइन् ।

आफ्ना कलिला दुई बच्चाको हात समातेर दर्दनाक अवस्थामा उनले भनिन्, “मैले तलब नपाएको हुनाले जागिर छोडेकी छु। “काबुल को एक सडक बजार मा एएफपीसँग कुरा गर्दै उनले भनिन् “मलाई लगाइरहेको पोशाक नलागाउन, पुरुषहरू सँग काम नगर्न र महिलाहरूसँगमात्र काम गर्न आदेश दिन थालियो जुन चिकित्सा पेशामा सम्भव छैन त्यसपछि म जागिर छाड्न बाध्य भएँ।“

अलिजादा जस्तै अफगानिस्तानका अन्य महिलाहरू अब तालिबानको अधीनमा चल्ने शासनमा के हुन्छ भनेर चिन्तित छन् । अचेल अफगानिस्तानको बजारमा खाद्यान्नको मूल्य बढेको छ, इन्धन को लागत बढेको छ र रोजगारीका अबसर समेत साँघुरिदै गएका छन् । जटिलता थपिदै गएका छन्। यस विषयमा संयुक्त राष्ट्रसंघले समेत चासो व्यक्त गर्दै भनेको छ, “खाद्यान्न अभाव, उच्च मुद्रास्फीति र मुद्रामा गिरावटको डरले मानवीय आपतकालीन अवस्थातिर मुलुक अगाडि बढेको छ।”
परिवर्तित राजनीतिक अवस्थाले गर्दा अब त्यहाँ धेरै सरकारी सेवाहरू बन्द हुने अवस्थामा छन्। अन्तर्राष्ट्रिय सहायता कटौती हुँदैछ र बाह्य सहयातामा निर्भर गतिविधिहरू बन्द हुँदैछन् र महिलाहरू थप प्रताडित हुने अवस्थाको सृजना हुनसक्ने देखिन्छ।

यो पनि- अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रका नागरिकमा सुरक्षा र स्थायीत्वको चिन्ता

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ । तर उनीहरुले पछिल्ला केही दिनमा भने स्थायीत्व हुनसक्ने अनुमान गरेका छन् ।  तालिबानी विद्रोहीले पछिल्ला केही दिनमा अफगानिस्तान कब्जा गरेपछि सीमा क्षेत्रका नागरिकमा यस्तो अवस्था देखिएको हो ।सीमा क्षेत्रका नागरिकमा अहिले केही दिन यतादेखि मानिस आवतजावत गर्न थालेका र त्यहाँ बस्ती रहेका नागरिकमा आगामी दिनमा अवस्था सामान्य हँुदै जाने आशा पलाएको बताएका छन् ।

तालिबानीले पछिल्लो समयमा असुरक्षाको अवस्था हटाउने सङ्केत देखाएको उनीहरुको भनाइ छ ।राम्रोसँग तालिबानीले अघि बढ्ने सङ्केट देखाएका र यसबाट अफगानिस्तानमा शान्ति र स्थायीत्व बढ्न सक्ने आशा पलाएको सो क्षेत्रका नागरिकको भनाइ छ ।यी दुई देशका सीमा क्षेत्रमा तालिबानीका कारण समस्या बल्झिने गरेको थियो । सीमा क्षेत्रमा सधैँ हिंसा हुने र मानिसको ज्यान जाने गरेको थियो । पछिल्ला दिनमा तालिबानीले अफगानिस्तानको सत्ता हातमा लिएकाले यस अवस्थामा सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका थिए । सीमा क्षेत्रका मानिसले कुनै पनि देशको हस्तक्षेप नगर्न र तालिबानीलाई आफै काम गर्न दिन पनि आग्रह गरेका छन् ।

यो पनि – बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ

बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो । बेलायतमा हिजोमात्र एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका थिए । यहाँ केही दिनयता भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ ।

यसैगरी यहाँ गएको २४ घन्टामा ४१ हजार नयाँ सङ्क्रमित थपिएको पनि पाइएको जनाइएको छ । यहाँ हालैका दिनहरुमा कोरोनाकै कारण निधन हुने व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । यहाँ यो भाइरसबाट एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस