सुदूरपश्चिममा सङ्क्रमणदर बढ्यो, एकैदिन ७० जनामा पुष्टि


सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर ह्वात्तै बढेको छ । आज यहाँ थप ७० मा सङ्क्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मङ्गलबार तेब्बरभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार यहाँ २२ जनामा सङ्क्रमण देखिएको थियो ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार २२ जनाको नमूना परीक्षण गर्दा ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआर विधिमार्फत ४१ र एन्टीजेन विधिमार्फत २९ मा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६, जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पतालमा पाँच/पाँच, महाकाली अस्पतालमा तीन र कमलबजार अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा २०, दार्चुलामा छ, कैलाली बाजुरा र बझाङका एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।गएको २४ घण्टामा प्रदेशभर २४ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

यो पनि – प्रदेश नं १ मा ३९० जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३९० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २३० को पीसीआर परीक्षण गर्दा २८२ र ५३५ को एन्टिजेन परीक्षण गर्दा १०८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२ मध्ये विराटनगरमा ४४, झापामा १०१, सुनसरीमा ६१, इलाममा आठ, ताप्लेजुङ, धनकुटा र उदयपुरमा दुई÷दुई, पाँचथर र खोटाङमा एक÷एक र प्रदेशबाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३२८ कोरोना सङक्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६९ महिला र १५९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस