आमाको गर्भमै शिशुको मृत्यु हुने दर रोकिएन


आमाको गर्भमै शिशुको मृत्यु हुने दर यहाँ अझै कमी आउन सकेको छैन । गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता गर्नेलगायतका कारणले जिल्लामा गर्भमै मृत्यु हुने शिशुको दरमा न्यूनीकरण हुन नसकेको हो ।

सदरमुकाम बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७५÷७६ देखि २०७७÷७८ सम्म अर्थात् तीन वर्षको अवधिमा ३९ गर्भवतीको गर्भमै शिशुको मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यी आमाको गर्भमै मृत्यु हुने शिशुको सङ्ख्यामध्ये गत आव २०७७÷७८ मा १२ को मृत्यु भएको छ । त्यस्तै आव २०७६÷७७ मा गर्भमै १६ शिशुको मृत्यु भएको थियो भने आव २०७५÷७६ मा ११ को मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

यी आवमध्ये आव २०७६÷७७ मा गर्भमै मृत्यु हुने शिशुको सङ्ख्या बढी भएको देखिन्छ । सरकारदेखि विभिन्न सम्बन्धित निकाय तथा स्वास्थ्यकर्मीले गर्भावस्थामा गर्न हुने÷नहुनेलगायतका सन्देश प्रवाह गर्दै आएका छन् । यति मात्र नभई जिल्ला अस्पतालले समेत यससम्बन्धी गर्भवतीलाई परामर्श, सरसल्लाह दिँदै आएको छ । साथै विभिन्न माध्यमबाट पनि सचेत गर्ने काम गर्दै आए पनि गर्भमै शिशुको मृत्यु हुने सङ्ख्यामा कमी आउन नसकेको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ, खानपानमा ध्यान दिनुपर्छ, स्याहारसुसारमा ध्यान दिनुपर्छ, साथै नियमित स्वास्थ्य जाँच गरेमा आमाको गर्भमै शिशुको मृत्यु हुँदैन, गर्भवती भएपछि सरकारले तोकेको नियमित जाँच गर्न चारपटक स्वास्थ्य संस्थामा आउनुपर्छ ।”

यो पनि – २२ जनामा स्क्रब टाइफसको सङ्क्रमण

पछिल्लो समय यहाँ ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । उहाँले भन्नुभयो, “वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म २२ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ ।”

जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफस देखिने गरेको छ । त्यसमध्ये पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताउनुभयो ।जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा हाल दैनिक १०० बिरामी उपचारका लागि आउने गरेकामा ५० जना भाइरल ज्वरोका आउने गरेका जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो । “अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रब टाइफसको परीक्षण गरिरहेको छ”, उहाँले भन्नुभयो, “केही स्क्रब टाइफसका बिरामीलाई अस्पताल भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ ।”

वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका अस्पतालका प्रमुख डा जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ, स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौँ ।”

कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भएको ‘स्क्रब टाइफस’ रोग

यसैबीच नेपाल सरकारले केही दिनअघि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा रोग स्क्रब टाइफस देखिन थालेकाले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेको छ ।

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी तथा मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ ।

के हो ‘स्क्रब टाइफस’ ?

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने गर्दछ । यसको समयमा नै उपचार नगरे यसले गम्भीररुप लिनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

बच्ने उपाय

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस