मध्यपुरथिमिले सम्पदा, स्वास्थ्य र सफाइको क्षेत्रमा गरेका काम अनुकरणीय


मध्यपुरथिमि नगरपालिकाले पछिल्ला साढे चार वर्षमा सम्पदा, स्वास्थ्य र सरसफाइको क्षेत्रमा गरेका काम अनुकरणीय रहेको सरोकारवालाहले बताएका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुरथिमि नपाको समन्वयमा आज सञ्चालन भएको ‘नेपाल कोरियामैत्री नगरपालिका अस्पताल र जापानी रिकिसी कम्पोष्ट मल प्रविधि’ विषयक अन्तक्र्रियाका सहभागीहरूले त्यस्तो बताएका हुन् ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नपाले सम्पदा, स्वास्थ्य र सरसफाइको क्षेत्रमा गरेका काम अनुकरणीय रहेको चर्चा गर्नुभयो । उहाँले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले कोभिड–१९ प्रतिकार्यमा गरेका कार्य, रिकिसी कम्पोष्ट मल उत्पादन र कला, सम्पदा तथा पोखरी संरक्षणमा हालसम्म भए गरेका कार्य अन्य नगरपालिकाका लागि पनि अनुकरणीय रहेको बताउनुभयो ।

तीन दर्जन बढी सञ्चारकर्मीको सहभागितामा सम्पन्न पत्रकार अन्तक्र्रियामा मध्यपुरथिमि नपाका प्रमुख श्रेष्ठले चार वर्षमा आफ्नो नेतृत्वमा सम्पन्न उत्साहजनक कामको विवरण प्रस्तुत गर्नुभएको थियो । नेपाल कोरियामैत्री नगरपालिका अस्पताल कसरी नमूना बन्न सफल भयो भन्ने सम्बन्धमा उक्त अस्पतालका कार्यकारी निर्देशक डा ज्ञानकृष्ण कायस्थले विवरण प्रस्तुत गर्नुभएको थियो ।

साथै जापानी रिकिसी कम्पोष्ट मल प्रालिका प्रोप्राइटर उषा गिरीले दक्षिण एसियामा नै पहिलोपटक कसरी जापानी प्रविधिको रिकिसी मल उत्पादन सम्भव भयो भन्नेबारेमा तथ्याङ्कसहित प्रगति प्रस्तुत गर्नुभएको थियो । त्यसअवसरमा सेजनका निवर्तमान अध्यक्ष तथा सञ्चारकर्मी भीम गौतमले विकास पत्रकारिता र थिमि नपाका योजना महाशाखा प्रमुख ईं सत्यनारायण शाहले बिकास योजनाबारे प्रस्तुति दिनुभयो ।

थिमि नपाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरको विकासमा सबै जनप्रतिनिधिको उत्तिकै भूमिका रहेको चर्चा गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले सरोकारवाला सबैको सहयोगले नगरपालिकाको मुहार फेरिको बताउनुभयो । राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस