गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : भट्ट


नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । धनगढीमा आज आयोजित छलफल कार्यक्रममा उहाँले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले गेटा मेडिकल कलेज सञ्चालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै सो कलेज सञ्चालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताउनुभयो ।

उहाँले चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको राय लिन उचित हुने बताउनुभयो । सरोकारवालाबाट आएको सुझावका आधारमा राजनीतिक दलहरुसँग छलफल गरी अघि बढ्ने उहाँको भनाइ थियो । छलफल कार्यक्रममा सहभागी चिकित्सकले मेडिकल कलेजलाई प्रतिष्ठान बनाएर अघि बढाउन सुझाव दिनुभएको थियो भने प्राध्यापकहरूले विश्वविद्यालयका रूपमा अघि बढाउन सुझाव दिनुभएको थियो । नेता भट्टले कञ्चनपुरको दोधारा चाँदनी नाका भारतसँग व्यापार गर्नका लागि मुलुककै सबैभन्दा महत्वपूर्ण नाका बन्ने जिकिर गर्नुभयो ।

यो पनि – बुटवलमा खुला मञ्च निर्माण हुने

रुपन्देही, ३० भदौ (रासस) ः बुटवलमा खुला मञ्च निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकाले बर्सेनि बढ्दो जनघनत्व र बस्ती विकासका कारण तराईमा खुला क्षेत्र मासिँदै गएपछि उपमहानगरपालिका–११ देवीनगरमा खुला मञ्च निर्माणको योजना बनाएको हो ।उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरी योजना बनाएर सार्वजनिक जग्गालाई खुला क्षेत्रका रुपमा र बहुउपयोग हुने गरी संरक्षण गर्न थालिएको छ । खाली र खुला ठाउँको अभाव महसुस भइरहेका बेलामा उपमहानगरपालिकाले संरक्षण गर्दै खुलामञ्च बनाउने योजना बनाएको छ । बुटवल खुलामञ्च निर्माणका लागि गुरुयोजना बनाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

करिब १४ बिघा क्षेत्रलाई समेटेर खुलामञ्च सम्बन्धी गुरुयोजना तयार भइसकेको छ । गुरुयोजनामा प्राविधिक तथा विषयविज्ञहरुबाट थप केही सुझाव लिने क्रम चलिरहेको र अबको केही समयमै निर्माण सुरु हुने गरी तयारी भइरहेको प्रमुख सुवेदीले बताउनुभयो । बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको वडामै खुलामञ्च निर्माणको तयारी भइरहेको छ । उक्त वडाको रङ्गशाला नजिकैको जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागिएको हो । जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहुउपयोग पनि हुनेगरी गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताउनुभयो ।

विभिन्न कार्यक्रम गर्न, सभा, सम्मेलन, समारोह गर्न मात्र नभई विभिन्न आपत्कालीन अवस्थाको उद्धार स्थलका रुपमा समेत उपयोग गर्न सकिने गरी खुलामञ्चको गुरुयोजनामा समेटिएको प्रमुख सुवेदीको भनाइ छ । उपमहानगरले यसलाई बहुवर्षे योजनाका रुपमा अगाडि बढाउँदैछ । बुटवलको दीर्घकालीन गुरुयोजनामा परिकल्पना गरिएअनुरुपको यो एउटा खुलामञ्च हो । सुरुमै जग्गा संरक्षण, तारबार र व्यवस्थित पर्खाल निर्माणको काम आगाडि बढाइने र बाँकी कामलाई चरणबद्ध रुपमा बढाइने प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

उपमहानगरका वरिष्ठ इन्जिनियर तथा सहरी विकास योजना महाशाखा प्रमुख सुमन श्रेष्ठ र अर्का वरिष्ठ इन्जिनियर गौतम रौनियार तथा डीपीआर बनाउने काममा खटिएकी इको इन्नोभेटिभ इन्जिनियररिङ प्रालि तिलोत्तमा रुपन्देहीकी सिनियर आर्किटेक इन्जिनियर प्रभा पाण्डेसहितको प्राविधिक टोलीले अहिले प्रस्तावित गुरुयोजनामा सुझाव सङ्कलन गरिरहेको छ । गुरुयोजना अनुसारका काममा विषय विज्ञहरुसँग सुझाव लिन खटिने टोलीलाई प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, वडाध्यक्ष रामचन्द्र क्षेत्री र उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले समन्वय गरिरहनुभएको छ ।

यस्तो बन्नेछ बुटवल खुलामञ्च

करिब १४ बिघा क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ एक लाख जना एकै पटक जम्मा हुन मिल्ने गरी खुला मैदान बनाइनेछ । मैदानलाई विशेष तारजाली र हरियालीले सजाइनेछ । मैदान प्रवेश र निकासका अलगअलग द्वार र आपत्कालीन द्वार बन्नेछन् । एकैपटक करिब आठ सय जनाले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक शौचालय बनाइने छन् । आठ लाख ९३ हजार नौ सय ७७ वर्गमिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसँगै पछाडि भागामा आठवटा अलग अलग प्रयोजनका कोठा, तीन तहका पार्किङ र प्राथमिक उपचार कक्ष बन्नेछन् ।

खुलामञ्चको दक्षिणमा तिनाउ कोरिडोर रहनेछ । करिडोर र खुलामञ्चको बीचको भागमा हरियालीसहितको गार्डेन, फुटपाथ रहनेछ । खानेपानीका फिल्टरयुक्त ट्याङ्कीसमेत विभिन्न ठाउँमा राखिनेछ । यसको आर्किटेक डिजाइन गरिरहेकी इन्जिनियर प्रभा पाण्डेले खुला र उपयुक्त क्षेत्र रहेकाले भरपुर डिजाइन गरेर संरचना निर्माण गर्न सकिने बताउनुभयो । उहाँले बुटवलका लागि भविष्यमा बहुउपयोग गर्न मिल्ने र सौन्दर्यता झल्काउने विशेष क्षेत्रका रुपमा खुलामञ्च निर्माण हुने प्रशस्त आधार रहेको बताउनुभयो ।

एक लाखभन्दा धेरै जना अट्न सक्नेगरी खुला क्षेत्रको चौर रहनेछ भने त्यतिको सङ्ख्यामा आउने मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई समेत तीन तहमा पार्किङ र आवागमनका विशेष रुट बनाइने भएको छ । भीआईपीले प्रयोग गर्ने सवारीसहित एक सय ६० वटा चारपाङ्ग्रे र करिब छ सय जति दुईपाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ ।

पब्लिक बस तथा सवारीहरुलाई पनि खुलामञ्चको दुवैतिरबाट आवागमन मिल्नेगरी रुटको व्यवस्था मिलाइने भएको छ । खुलामञ्चको पहिलो चरणको कामका लागि निर्माण लागत करिब एक करोड अनुमान गरिएको छ । गुरुयोजना अनुसारका सबै कामका लागि करिब रु २७ करोड लागत अनुमान गरिएको छ भने तीन वर्षसम्ममा सबै चरणका निर्माण कार्य सक्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस