हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताउनुभयो । उहाँले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ । उहाँले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताउनुभयो ।

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ । विद्यालयले यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । उहाँले विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनुसमेत भनिएको छ । विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले कोभिड–१९ को सङ्क्रमण घटे पनि जोखिम नघटेको बताउनुभयो । “सबै पालिकामा एउटै अवस्था छैन । सबै विद्यालयमा पनि एउटै अवस्था छैन”, उहाँले भन्नुभयो, “त्यसैले विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरी मात्र विद्यालय खोल्नुहोस् ।”

छलफलमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेश, (ऐनप्याब्सन) र अभिभावक सङ्घको सहभागिता थियो ।

यो पनि -पछिल्लो २४ घण्टामा थप १७६० जनामा कोरोना संक्रमित,१२२० जना कोरोना संक्रमणमुक्त

काठमाडौं,३०भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  १२,५२४ पीसीआर र ४३२०  एन्टीजेन परीक्षणमा १७६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८७ हजार ८२४ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार २२० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ४३ हजार ५२६ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि – भारतमा थप २७ हजार कोरोना सङ्क्रमित

३० भदौ (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन् ।पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ ।

कुल सङ्क्रमित मध्ये १५ हजार ८७६ जना केरला प्रदेशका मात्रै रहेका छन् । त्यसैगरी केरलामा मृत्यु भएकाहरुको सङ्ख्या १२९ रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख १६ हजार ७५५ रहेको छ । ती मध्ये तीन करोड २५ लाख २२ हजार १७१ जना सङ्क्रमणमुक्त भएका छन् ।

यो पनि – ताप्लेजुङमा कोरोना सङ्क्रमण दरमा कमी

पछिल्लो समय जिल्लामा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको उहाँको भनाइ छ ।

मङ्गलबारसम्म जिल्लाभर पिसिआर र एन्टिजेन परीक्षणबाट दुई हजार ४८७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेको सङ्ख्या दुई हजार ३०० बढी छन् । यसैगरी जिल्लाभर ३४ हजार ८१५ ले कोभिड विरुद्धको पूर्ण खोप लगाइसकेका छन् भने पहिलो डोज मात्र लगाउनेको सङ्ख्या ३८ हजार ६७४ पुगेको छ । अहिले पनि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम जारी छ । सङ्क्रमणको दर घटेसँगै गएको सोमबारदेखि निषेधाज्ञा हटाइएको छ । यस्तै पाथीभरा मन्दिरलाईसमेत खुलाइने तयारी भएको छ । तत्काल बैठक बसी दर्शनार्थीका लागि मन्दिर खुला गर्ने तयारी भएको प्रजिअ पाण्डेको भनाइ छ ।

यो पनि -आज देशभर चट्याङसहित वर्षाको सम्भावना

देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाकोे सम्भावना रहेको छ ।

विभागका मौसमविद् गङ्गा नगरकोटीले उक्त प्रणालीको प्रभावका कारण अबका तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव आठ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस