राष्ट्रिय जनगणना : सुर्खेतका चार स्थानमा कार्यालय स्थापित


जिल्ला तथ्याङ्क कार्यालयले सुर्खेतका चार स्थानमा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याएको छ । आजदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना कार्यलाई थप व्यवस्थित बनाउन स्थानीयस्तरमा कार्यालय स्थापना गरिएको हो । जिल्ला तथ्याङ्क कार्यालयका अनुसार सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकाका लागि मेहेल कुनामा, भेरीगङ्गा नगरपालिका र लेकबेँसी नगरपालिकाका लागि छिन्चुमा, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाका लागि बाङ्गे सिमलमा तथा पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका लागि चौकुनेमा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गणक तथा सुपरीवेक्षकले जिल्ला कार्यालयका साथै स्थानीय जनगणना कार्यालयको सम्पर्कमा रहेर तथ्याङ्क सङ्कलन गर्नेछन् । जिल्ला तथ्याङ्क कार्यालयका खरिदार गणेश चालिसेले सुर्खेतमा ११६ जना सुपरीवेक्षक परिचालन भएको जानकारी दिनुभयो ।

जनगणनाको पहिलो चरणअन्तर्गत घर तथा घरपरिवारको सूचीकरण गर्न थालिएको छ । आगामी असोज १८ गतेसम्म सुपरीवेक्षक घरघरमा पुगेर घर र घरपरिवारका सदस्यको सूचीकरणको काम गर्नेछन् । घरधुरी सूचीकरणपश्चात गणकलाई तालिम दिएर विवरण भर्न घरघरमा पठाइनेछ । यस वर्ष कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म ‘मेरो गणना मेरो सहभागिता’भन्ने नाराका साथ १२ औँ राष्ट्रिय जनगणना हुँदैछ ।

सिरहामा घर परिवार सूचीकरण शुरु

लहान– राष्ट्रिय जनगणना २०७८ अन्तर्गत आजदेखिसिरहामाघर तथा घरपरिवार सूचीकरण गर्न सुुरु गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत आजदेखि सुरु भएको घर परिवार सूचीकणका लागि सिरहामा १८५ सुपरीवेक्षक परिचालन गरिएको छ ।तालिम दिएर परिचालन गरिएको सुपरीवेक्षकले गाउँगाउँमा पुगेर भदौ ३० गतेदेखि असोज १८ गतेसम्म घर परिवारको सूचीकरण गर्ने कार्यतालिका रहेको जिल्ला जनगणना अधिकारी शङ्कर ठाकुरले जानकारी दिनुभयो ।

सुपरीवेक्षकले तयार पार्ने घर परिवार सूचीकरणकै आधारमा कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणकले प्रश्नावलीअनुसार व्यक्तिगत विवरण सङ्कलन गर्ने जिल्ला गणना अधिकारी ठाकुरले बताउनुभयो । सरकारले निर्धारण गरेको कार्यतालिकाबमोजिम सबै सुपरीवेक्षकलाई तालिम दिएर गाउँगाउँमा खटाइएको ठाकुरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस