सिन्धुपाल्चोकमा पुनःनिर्माणको बाँकी काम आयोजना कार्यान्वयन एकाइले गर्ने


सिन्धुपाल्चोक, ३१ भदौ (रासस) : अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले गर्दै आएको भूकम्पपछिको पुनःनिर्माणको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालयले गर्ने भएको छ । यही भदौ ३० गते जिमालीका आयोजना प्रमुख भरतप्रसाद आचार्यले आवास तथा भवन एकाइका जिल्ला आयोजना प्रमुख टङ्कप्रसाद गौतमलाई कार्यालयमा रहेको भौतिक (जिन्सी) सामग्री हस्तान्तरण गर्नुभयो । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका निजी आवास तथा सार्वजनिक सम्पदाको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गर्दै आएको थियो ।

प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसँगै सो प्रक्रियामा गएको हो । यसभन्दा अगावै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनःनिर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका काम सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरे पनि निजी आवास पुनःनिर्माणको काम भने जिमाली र भवनलाई समायोजन गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत नै रहने गरी जिल्लामा जिल्ला आयोजाना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालय भने रहने भएको छ । आयोजनाका प्रमुखले यसभन्दा अघि पनि निमित्त जिल्ला आयोजना प्रमुख रहेर काम गरेका थिए ।

जिल्लामा हालसम्म पटक पटक गरी कायम भएका पुनःनिर्माण र प्रवलीकरण गरी ९१ हजार ५४ लाभग्राही रहेको जिमालीले जानकारी दिएको छ । त्यसअनुसार पुनःनिर्माणबापत रु तीन लाख र प्रवलीकरणबापत रु एक लाख प्राप्त गर्ने गरेका छन् । जम्मा लाभग्राहीमध्ये प्रथम किस्ता ८९ हजार ५५, दोस्रो किस्ता ८६ हजार ९९० र तेस्रो किस्ता ८२ हजार ७३९ ले लिएका छन् । अझै आठ हजार ३१५ ले अन्तिम किस्ताबापतको रकम लिन बाँकी रहेको देखिन्छ ।

यो पनि – हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाडौँ, ३१ भदौ (रासस) : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने उक्त जीवनदायी मेसिन राखिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । अब हिमालयका जहाजमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनीय र आरामदायी हुनेछ । अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रोकी हृदयगति सञ्चालन राख्न मद्दत गर्दछ ।

यो मेसिन राख्ने एयरलाइन्सको जहाज नेपालकै पहिलो र एक मात्र भएको कम्पनीले बताएको छ । यस कार्यबाट आकाशमा जहाज उडिरहँदा भवितब्यवश यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता बिरामीको निदान गरी ज्यानै जान लागेका व्यक्तिलाई बचाउने कार्य गर्दछ ।

यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ । विगत केही सातादेखि एयरललाइन्सका सबै उडान कर्मचारीलाई उक्त जीवनदायी मेसिनको प्रयोगबारे अभिमुखिकरणसमेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

एयरलाइन्सले यस्ता मेसिन आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्राउण्ड ह्याण्डलिङ कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको छ । एयरलाइन्सले आफ्ना ग्राउण्डका सबै कर्मचारीलाई समेत सो डफिब्रिलेटरको प्रयोगबारे बृहत तालिम दिएको छ ।

प्रतिक्रिया दिनुहोस