शिवसताक्षी नगरपालिका : चार वर्षमा आठ स्वास्थ्य केन्द्र र छ वडा कार्यालयको भवन निर्माण


शिवसताक्षी नगरपालिकाले चार वर्षमा आठ वटा आधारभूत स्वास्थ्य केन्द्र र छ वटा वडा कार्यालयका भवन निर्माण गरेको छ । जनतालाई सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले सो भवन निर्माण गरको जनाइएको छ । पालिकाले रु २० करोड ४० लाखको लगानीमा आठ वटा आधारभूत स्वास्थ्य केन्द्रका भवन रु चार करोड ४५ लाखको लगानीमा छ वटा वडा कार्यालयका भवन निर्माण गरेको हो । पालिकाले आफ्नै स्रोत, साधन तथा कतिपय अवस्थामा सङ्घीय र प्रदेश सरकारको समेत सहयोग जुटाएर सबै वडामा स्वास्थ्य केन्द्रका भवन निर्माण गरेको जनाएको छ । कार्यालयले वडा नम्बर १ मा रु २४ लाख १६ हजार २३५, वडा नं २ मा रु २४ लाख आठ हजार ६९३, वडा नं ३ मा रु २४ लाख १५ हजार २०७, वडा नंं ५ मा रु २५ लाख ५० हजार २९३, वडा नं ७ मा रु २५ लाख २४ हजार ३३, वडा नं ८ मा रु २६ लाख ६४ हजार १६, वडा नं ९ मा रु २६ हजार ६१ हजार ८३७ र वडा नं १० मा रु २७ लाख ५९ हजार ७१० को लागतमा भवन निर्माण भएको पालिका अध्यक्ष चन्द्रकुमार शेर्माले बताउनुभयो ।

उहाँका अनुसार पालिकाको आन्तरिक स्रोत, प्रदेश सरकारको समपूरक बजेट र जिसस सांसद पूर्वाधार विकास कोषको लगानीमा वडा कार्यालयका भवन बनेका हुन् । उहाँले वडा नं १ मा रु एक करोड एक लाख ४१ हजार ६३७, वडा नं ३ मा रु ९९ लाख ८७ हजार ८०३, वडा नं ४ मा रु ४२ लाख, वडा नं ५ मा रु ९५ लाख, वडा नं ६ मा रु ९५ लाख ३६ हजार ९३९ र वडा नं ७ मा १२ लाखको लागतमा भवन निर्माण सम्पन्न गरेको बताउनुभयो ।

उहाँले पालिकाभित्रका सडक सञ्जालबाट सबै क्षेत्रलाई जोड्ने अवधारणाअनुरूप रिङरोडको निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार पालिकाले वडा नं ६ को शिवगञ्जदेखि बुलुचोकसम्मको आठ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि रु सात करोड लगानी गरेको छ ।पालिकाले यसै आर्थिक वर्ष २०७८÷०७९ मा अस्पताल, फोहोरमैला व्यवस्थापन, बसपार्क, पर्यटकीयस्थल र शववाहन खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।

मानव सेवा आश्रमका लागि निःशुल्क जग्गा प्रदान

सडक आश्रित मावन, बेसहरा र असहायलाई लक्षित गरेर मानव सेवा आश्रम निर्माणका लागि मेचीनगरमा रामबहादुर प्रधान, लक्ष्मीमाया प्रधान र पूर्णमाया प्रधानले निःशुल्क जग्गा प्रदान गरेका छन् । उनीहरुले मेचीनगर नगरपालिका–४ स्थित बाहुनडाँगीमा लाखौँ मूल्य पर्ने दुई कट्ठा पाँचधुर जग्गाको धनीपूर्जा आज एक कार्यक्रमको आयोजना गरी आश्रमलाई हस्तान्तरण गरेका हुन् । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारपछि आश्रमको भवन निर्माण सुरु गरिने मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बताउनुभयो ।

कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले चार वर्षभित्रमा शारीरिक तथा मानसिकरूपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउनुपर्ने परिस्थितिको अन्त्य गरिने बताउनुभयो । सोका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुनुपर्ने उहाँको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस