बौद्धिक अपाङ्गता भवन प्रयोगविहीन


नियमित सञ्चालन खर्चका अभावमा बौद्धिक अपाङ्गता भवन प्रयोगविहीन बनेको छ । बौद्धिक अपाङ्गता अभिभावक सङ्घले मानसिक तथा बौद्धिक अपाङ्गताको उचित व्यवस्थापनको लागि रेसुङ्गा नगरपालिका–९ मा आर्थिक वर्ष २०७४÷७५ मा सो भवन बनाएको थियो ।

तम्घासकै इश्वरी पौडेल, रघुनाथ मरासिनी लगायतले २०७१ मा उपल्लो तम्घासको करिब साढे चार आना जग्गा सात लाखमा खरिद गरी संस्थाका नाममा पास गराउनुभएको थियो । पाँच वर्षमा रु ३९ लाख खर्च गरी दुर्ई तलामा पाँच कोठा र एउटा हलसहितको भवन निर्माण बनाइएको थियो । कर्मचारीको मासिक तलब, केन्द्रमा आवश्यक सामग्री खरिद, बालबालिकाको खाना–खाजा खर्चलगायतका नियमित खर्चको अभावमा केन्द्रलाई सञ्चालनमा ल्याउन नसकिएको संस्थाका अध्यक्ष इश्वरी पौडेलले जानकारी दिनुभयो ।

भवन बनाउनको लागि आव २०७१÷७२ मा सहरी विकास कार्यालय पाल्पाबाट रु ९४ हजार ९५०, जिल्ला विकास समितिबाट दुई लाख ४९ हजार ६२१, पुनःनिर्माण प्राधिकरणबाट तीन लाख २२ हजार ५७ विनियोजन भएको थियो । यसैगरी आव २०७२÷७३ मा तत्कालीन सांसद चन्द्र भण्डारीको संसद् विकास कोषबाट रु १४ लाख ६० हजार ८५१, तत्कालीन शान्ति तथा पुनःनिमाणबाट दुई लाख, जिल्ला विकास समितिबाट दुई लाख ४९ हजार २३९, रेसुङ्गा नगरपालिकाबाट एक लाख ८९ हजार ५०९, सहरी विकासबाट ९५ हजार विनियोजन भई काम भएको थियो । हालसम्म भवनको लागि मात्रै कूल ३९ लाख नौ हजार ३१५ खर्च भएको सङ्घका पूर्व अध्यक्ष रघुनाथ मरासिनीले बताउनुभयो ।

डे केयर सेन्टर र पुनःस्थापना केन्द्रमा १५÷१५ गरी कूल ३० जना सम्मको क्षमता छ । सङ्घमा रेसुङ्गा नगरपालिकाले फरक क्षमता भएका बालबालिका राख्नेगरी योजना बनाएको छ । नियमित कार्यालय सञ्चालनको लागि दुई कर्मचारीको आवश्यकता पर्छ । बालबालिकालाई नियमित खाना–खाजा खर्चलगायत गरी मासिक एक लाख भए बौद्धिक अपाङ्गता भएकालाई केन्द्रमा राख्न सकिने पूर्व अध्यक्ष मरासिनीले जानकारी दिनुभयो । यसको लागि कम्तीमा रु पाँच लाखको अक्षयकोष निमाण गर्ने र यसैबाट कार्यालय सञ्चालन गर्ने तयारी गरेपनि कोषमा पनि रकम जम्मा नभएको उहाँले बताउनुभयो ।

अहिलेसम्म कोषमा एक लाख रु ४० हजार जम्मा भएको छ । रेसुङ्गा नगरपालिकाका उपप्रमुख सीता भण्डारीले नगरपालिकाले आर्थिक सहयोग गरिरहेकोले अझै धेरै सहयोग गर्ने बताउनुभयो । व्यवस्थापन र सञ्चालनको लागि समितिले काम गर्ने भएकोले आफूहरुले आर्थिक सहयोग गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस