भूमिहीन परिवारको जीविका मजदूरीले धानिँदै


कञ्चनपुर, २६ असोज (रासस) ः कृष्णपुर नगरपालिका– ६ मछेली नदी छेउमा बस्दै आएका भूमिहीन परिवारको जीविका मजदूरीले धानिँदै आएको छ । बिहानको झिसमिसेमै बस्तीका पुरुष टाढा टाढासम्म मजदूरीका लागि जान्छन् । साँझ अबेर मात्रै घर फर्किन्छन् । उनीहरुले मजदूरीका रुपमा ढुवानीका साधन चलाउने र निर्माणका कार्य गर्दै आएका छन् । महिलाले नदीमा बालुवा गिट्टी चाल्ने काम गर्छन् । घरका बुढापाकाले बालबालिका सम्हाल्छन् । नदी छेउ बनाइएका झोपडीमा सात परिवारको बसोबास छ ।

दुई दशक अघिदेखि ती परिवार नदी र जङ्गल छेउको झोपडीमा बस्दै आएका हुन । यसवर्ष ढिलोसम्म मनसुन सक्रिय हुँदा नदीमा बालुवा गिट्टी चाल्ने अनुमति नपाइदा महिला कामविहीन भएका छन् । घरका पुरुषले कमाएर ल्याउने ज्यालामै भूमिहीन परिवारको चुलोमा आगो बल्ने गरेको छ । नदी छेउ बनाइएका झोपडी बाढीले बगाएपछि दातृ निकायको सहयोगमा अर्को ठाउँमा सारिएको छ ।

सहयोगी संस्था मर्सिकोर, केयर नेपाल र निडस नेपालले बाढीले बगाएका झोपडी बनाउनुका साथै छानामा त्रिपाल राख्ने व्यवस्था मिलाइदिएको बस्तीका परिवारको भनाइ छ । बाढीले झोपडीसँगै लत्ताकपडा र खाना बनाउने भाँडाकुडासमेत बगाएको थियो । भाँडाकुडा, लत्ताकपडासँगै सहयोगी संस्थाले एक महिना खान पुग्ने गरी खाद्यान्न सहयोग समेत गरेका छन् ।

खानेपानीका लागि हातेपम्पको व्यवस्थासँगै पोषणयुक्त खानेकुराका लागि सुत्केरी, गर्भवती र दीर्घरोगीका लागि रु ११ हजार २५० का दरले आर्थिक सहयोग समेत गरेका छन् । सरकारी निकायबाट भने हालसम्म कुनै पनि सहयोग नपाइएको भूमिहीन परिवारको भनाइ छ । दातृ निकायले उपलव्ध गराएको खाद्यान्न सकिएपछि मजदूरीकै पैसाले जीविका चलाउन थालिएको सागर डगौराले बताउनुभयो ।

सामुदायिक वनको जग्गामा झोपडी बनाइएकाले हटाउनका लागि पटक–पटक दबाबसमेत ती परिवारलाई आउने गरेको छ । “वर्षौसम्म अर्काको घरमा कमैंया भएर काम गरियो”, प्रसादी खुनाले भन्नुभयो, “कमैया मुक्तिको घोषणा गरिएपछि मालिकको घरबाट मुक्त भएपछि बस्ने ठेगान नहँुदा नदी छेउमा बस्दै आएका हौ । मुक्तकमैयाको परिचयपत्र पनि छैन । कुनै ठाउँमा जग्गा पनि पाएका छैनौ ।”
“कमैंयाबाट मुक्त भएपछि परिवार पाल्नकै लागि मजदूरी खोज्दै हिँड्यौं । जहाँ काम पाइयो, त्यही काम गरियो, परिचयपत्र बनाउनुपर्छ भनेर नत कसैले भन्यो । नत आफैले जान्यांै । जग्गा पाउन थालेको कुरा सुने पनि परिचयपत्र नहँुदा पाइएन”, फागु रानाले भन्नुभयो ।

“महिलाले बालुवा गिट्टी चालेर दुई दिनमा एक ट्रली बनाएपछि रु पाँच सयसम्म कमाउने गरेका थिए”, बाधु खुनाले भन्नुभयो, “त्यो कामसमेत यस वर्ष हुनसकेको छैन । महिलाले कमाउने पैसाले बालबालिकाको विद्यालयको खर्च धानिन्थ्यो । एक जनाको मजदूरीको ज्यालाले खाना खर्च पु¥याउनै मुस्किल छ ।”

औँषधोपचार नपाउँदा बस्तीका दुई जनाले ज्यान गुमाउनु परेका दुखेसो हरि डगौराले पोख्नुभयो । “बाह्र वर्षकी बालिका र ४० वर्षका पुरुष बिरामी हँुदा आर्थिक अभावले परिवारले खर्चको जोहो गर्न सकिएन”, उहाँले भन्नुभयो, “पीडा सहदै दुःखद निधन भयो । लोकतन्त्र गणतन्त्र आएपछि जनप्रतिनिधि आएका छन् भन्छन् । हाम्रा दुःख हेर्ने कोही छैनन् ।” दुःखैदुःख र मजदूरीमा जीवन बिताउनुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।

“दसँैं आएको छ मीठा खानेकुरा खाने र नयाँ लुगा लगाउने चाहना कसको हँुदैन । हाम्रो चाहना पनि त्यही छ । चाहना राखेर मात्रै नपुग्दो रैछ । आर्थिक हैसियतले धान्नपर्ने रहेछ”, देवसिंह खुनाले भन्नुभयो, “दसँैलगायतका चाडपर्व आए पनि नूनसँगै रोटी खाएर टीका मात्रै थापेर चित्त बुझाउनुपर्ने बाध्यता छ ।” वर्षौदेखि नदी छेउमा बस्दै आएका परिवार भन्छन्, “पुनः स्थापना गरी घर जग्गाको व्यवस्थासँगै सीप सिकाइ रोजगारीमा संलग्न गरिदिनु प¥यो ।”

प्रतिक्रिया दिनुहोस