मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु


कर्णाली, २६ असोज (रासस) : मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिनुभयो ।

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पु¥याइएको थियो । घाइतेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज उपचार भइरहेको छ । सामान्य घाइते छ वर्षीया एक बालिकाको मुुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ । दुर्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए । प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दुर्घटनाको खबर आउने बित्तिकै उद्धार गरेर उपचारका लागि पठाइएको बताउनुभयो । उहाँका अनुसार हाल १३ जना उपचाररत छन् ।

यो पनि – ‘तनहुँ कालिकालाई धार्मिक गन्तव्य बनाउनुपर्छ’

दमौली, २६ असोज (रासस) : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोवाटे विकले तनहुँ कालिका शहीद पार्कलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । फूलपातीको अवसरमा तनहुँ कालिका शहीद पार्कले आज आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विकले व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै यस ठाउँलाई पनि धार्मिक पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । धार्मिक पर्यटनबाट समृद्धि सम्भव रहेको उल्लेख गर्दै मन्त्री विकले गण्डकी प्रदेश त्यस हिसाबले धनी रहेको चर्चा गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लगायतले सबैको पहलमा यस ठाउँको विकास सम्भव रहेको बताउनुभयो ।

सो ठाउँमा मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । रु तीन करोड लागतमा निर्माण सम्पन्न भएको मन्दिरको गत वर्ष उद्घाटन गरिएको थियो । तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ । मन्दिर निर्माणका लागि चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५० लाख बजेट विनियोजन भएको थियो ।

पृथ्वीराजमार्गअन्तर्गत दमौली बजारबाट एक किमिको दूरीमा रहेको उक्त पार्कसम्म पुग्नका लागि पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधनका लागि बाटो पक्की बनाइनेछ । अप्ठ्यारो रहेको ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ ।

दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी रहेको छ । ३७ हेक्टर क्षेत्रफलमा काँडे तारवार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुईवटा वनभोज स्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेको छ भने रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ ।

तनहुँको सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्तीहरु, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोट लगायतका पर्यटकीय स्थलहरु अवलोकन गर्न सकिन्छ ।

यसैगरी बडादसैँको सातौँ दिन उक्त मन्दिरमा फूलपाती भित्र्याइएको छ । बाजागाजासहित दमौली बजार परिक्रमा गरी कालिका मन्दिरमा पुगेर फूलपाती भित्र्याइएको हो । चापाघाटस्थित कालीभञ्जन गणका सेना र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले लिएको डोली कालिका मन्दिरमा भित्र्याइएको हो । त्यसअघि बिपी वनवाटिकास्थित बेलको रूखमा पूजाआजा गरिएको हो । कालिका मन्दिरको व्यवस्थापनमा प्रत्येक वर्ष फूलपाती भित्र्याउने परम्परा रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस