साफ च्याम्पियनसीप फाइनलमा पुगेपछि नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई


प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिनुभएको हो । उहाँले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ । ट्वीटमा उहाँले लेख्नुुभएको छ ‘‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’’

यो पनि – नेपाल साफको फाइनलमा

नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ । माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

राउण्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो । मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए । फाइनल खेल आगामी शनिबार राति हुनेछ ।

प्रतिक्रिया दिनुहोस