छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष


रामपुर (पाल्पा), ३० असोज (रासस) : रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नुभएको हो ।

उहाँले सो रकम बराबरको चेक आज नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गर्नुभयो । आज विद्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा सो चेक हस्तान्तरण गरिएको हो ।

सो रकम कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सहयोगदाता कँडेलले बताउनुभयो । साथै अध्यक्ष कँडेलले यसभन्दा अघि पनि रामतुलसी माविमा आफ्ना पिता तारानाथ कँडेल र माता तिलमाया कँडेलका नाममा रु ५१ हजार ४७० रकम बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिसक्नुभएको छ ।

साथै उहाँले यहाँको दरैठाँटी माविमा पनि मातापिताका नाममा रु ५१ हजार ६०६ बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिनुभएको छ । “आफूले जीवनमा कमाई गरेको केही रकमले शैक्षिक क्षेत्रमा लगानी गर्ने मनसायले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हुँ, अहिले स्थापना गरेको कोषमा रकम थप गर्दै जानेछु, शैक्षिक क्षेत्रमा लगानी गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ,” कँडेलले भन्नुभयो ।

विद्यालयका प्रधानाध्यापक लम्सालले विद्यालयमा हालसम्म विभिन्न व्यक्तिबाट करिब २० लाख बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना भएको जानकारी दिँदै यसरी विद्यालयलाई सहयोग गरेका सबै सहयोगदातालाई धन्यवाद दिनुभयो ।

यो पनि – छात्राको रुचि अटोमोबाइलमा

पाल्पा, ३० असोज (रासस) : पाल्पाको तिनाउ गाउँपालिका–४, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा सञ्चालित प्री डिप्लोमा अटोमोबाइल शिक्षाप्रति छात्राहरुको आकर्षण बढ्दोे छ ।

विद्यालयले विसं २०७६ मा १८ महिने अटोमोबाइल तालिम सञ्चालनमा ल्याएको थियो । अटोमोबाइल सञ्चालनको पहिलो वर्ष २३ जना छात्र मात्र भर्ना भएका थिए । दोस्रो वर्ष २२ जना विद्यार्थी भर्ना भएकामा छ जना छात्रा थिए । अध्ययन अवधिभर ४० हजार शिक्षण शुल्क भुक्तानी गर्नुपर्नेमा छात्राहरुलाई आकर्षित गर्न विद्यालयले भर्नाबाहेकको शिक्षण शुल्क पूर्णरुपमा मिनाह ग¥यो । यस नीतिले अटोमोबाइल अध्ययनमा छात्राहरुको सहभागीता बढेको हो ।

विद्यालयका प्राधानाध्यापक झपिन्द्र ज्ञवालीका अनुसार छात्रा, जेहन्दार तथा सिटीभिटीले पठाएको एक जनालाई शिक्षण शुल्कमा पूर्ण छुट गरिएको हो । “यो विषयको अध्ययनले कोही पनि बेरोजगार हुनुपर्ने स्थिति हुँदैन, सीप भएपछि काम जहाँ पनि पाइन्छ,” उहाँले भन्नुभयो ।

आर्थिक रुपमा कमजोर विपन्न समुदायका बालबालिकालाई शिक्षण शुल्क तिर्न बाध्य नपारिएको र पैसाकै कारण अध्ययन गर्नबाट बाहिरिनुपर्ने बाध्यता विद्यार्थीहरुमा नहुने प्रअ ज्ञवालीले बताउनुभयो । एसइईमा ‘इ’ ग्रेड प्राप्ति गर्ने बालबालिका राम्रो विषय अध्ययनबाट वञ्चित छन् । ‘इ’ ग्रेड प्राप्त गर्नेहरुलाई दक्ष जनशक्ति उत्पादनका निम्ति अटोमोबाइल विषय सञ्चालन गरिएको प्रअ ज्ञवालीले बताउनुभयो ।

“विद्यालयले विद्यार्थीहरुले अध्ययन गर्न पाउने अधिकारको सुनिश्चित गरिएको छ । अन्यत्रको विद्यालयमा शिक्षण शुल्क अनिवार्य गरिएको भए पनि यहाँ पैसा नभएका बालबालिकालाई अध्ययन गर्न पाउने गरी व्यवस्था गरिएको हो,” प्रअ ज्ञवालीले भन्नुभयो, “हामीले विद्यालय सञ्चालन गर्दा महायज्ञ गरी सङ्कलन गरिएको पैसाबाट शिक्षकलाई तलब दिने गरिएकोे ।”

रोजगार पाउन सजिलोे र अटोमोबाइलका क्षेत्रमा महिलाहरुको उपस्थिति बढाउन यो विषयको अध्ययन सुरु गरिएको विद्यार्थी अस्मिता दर्लामीले बताउनुभयो । शैक्षिक बेरोजगारी समस्या रहेकाले अटोमोबाइलको कोर्ष अध्ययनपछि रोजगारका अवसरहरु सिर्जना गर्न सहज हुने एलिना सर्वुजाले बताउनुभयो ।

पाल्पाका खानीबाट चुनढुङ्गा बोकेर टिप्परको आवतजावत बढ्दो छ । टिप्पर आवतजावत हुँदा स्थानीय स्तरमा रोजगारीको सम्भावना रहेकाले अटोमोबाइलसम्बन्धी अध्ययन सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क बस्यालले बताउनुभयो ।

“शैक्षिक बेरोजगारीको समस्या स्थानीय तहबाट हल गर्न सीपमूलक व्यावसायिक तालिमको आवश्यक छ । तालिमबाट दक्ष जनशक्ति उत्पादन गरी जटिल काम गर्न नपरोस् भनी अटोमोबाइलका कक्षा सञ्चालन गरिएको हो,” वडाध्यक्ष प्रेमप्रसाद पाण्डेय भन्नुभयो, “आर्थिक अभाव रहे पनि स्थानीय बासिन्दाको सहयोगमा आवासीय सुविधा प्रदान गरिएको हो । पहिलो वर्ष स्थानीय बासिन्दा घर भाडामा लिई आवासीय सुविधा प्रदान गरिएकामा अहिले विद्यालयको भवन नै आवासका निम्ति प्रयागे गरिएको हो ।”

तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले गाउँपालिकाले प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयहरुलाई भौतिक संरचना निर्माण सहयोग गरेको बताउनुभयो । भौतिक संरचनाको विकास गरी सुविधासम्पन्न कक्षाकोठामा अध्ययन अध्यापन गराउन सहयोग गरिएको श्रेष्ठले बताउनुभयो । पाल्पामा प्राविधिक शिक्षातर्फ कृषि, पशुपालन, सिभिल इन्जिनियरिङ, स्वास्थ्यसम्बन्धी अध्ययन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस