विराटनगर विमानस्थल डुबान भएपछि काठमाडौँ–विराटनगर हवाई उडान अवरुद्ध


लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । आन्तरिक उडानका दुवै ठूला एयरलाइन्सले सूचना निकालेर काठमाडौँदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका हुन् । यो गन्तव्यमा बुद्ध एयरको दैनिक ११ देखि १३ उडान हुन्थ्यो । विराटनगरको विकल्पमा भद्रपुरमा उडान थप्ने क्रममा रहेको सो एयरलाइन्सले जनाएको छ । भद्रपुर विमानस्थबाट यात्रुले आवतजावत गर्नसक्नेछन् । बुद्धले भद्रपुरमा दैनिक पाँच उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा अब यात्रुको माग अनुसार केही उडान थप्न लागिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।

स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् । हाल भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा विगत चार दिनदेखि बदली र वर्षा भइरहेको छ ।

हाल देशको प्रदेश नं १ प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का थोरै र प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम २१ दशमलव आठ र न्यूनतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस छ ।

यो पनि – धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु

धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताउनुभयो ।

घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिनुभयो ।

गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उहाँले बताउनुभयो । घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ ।

यो पनि – बाढी, पहिरामा परी आठ जनाको मृत्यु

आजमात्रै जिल्लामा आएको बाढी, पहिरामा परी आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५÷३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२÷६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक रहेका छन् ।

यसैगरी तीन दिनदेखिको लगातारको बर्सात्का कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उहाँका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उता जिल्लाको सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ । उहाँको खोजीकार्यका लागि प्रहरी टोली परिचालन भए पनि फेला पार्न सकिएको छैन ।

यसैगरी केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी दिपायल सिलगढी नगरपालिका–८ पाङरिमा अन्दाजी १५÷२० घरधुरी परिवार पहिराको जोखिममा परी विस्थापित भई सुरक्षित बासस्थानका लागि स्थानीय दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

यो पनि – बाढी, पहिरो, डुबान ः छको मृत्यु, २३ सम्पर्कविहीन

काठमाडौँ, २ कात्तिक (रासस) ः अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मुलुकका विभिन्न जिल्लामा छ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । गृहमन्त्रालयका अनुसार पहिरामा परेर २३ जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मृत्यु हुनेमा कालिकोट र डडेलधुराका एक÷एक, सुनसरी र डोटीका दुई÷दुई जना छन् ।

पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा सात घरका २३ जना सम्पर्कविहीन भएका छन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकीन विवरण आउन नसकेको पोखरेलले बताउनुभयो । बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमका अनुसार उक्त क्षेत्रमा प्रहरीको टोली घटनास्थलमा गएको भए पनि पुग्न सकेका छैनन् । एक किलोमिटर माथिबाट पहिरो खसेर घर बगाएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । अहिलेसम्म कञ्चनपुरलगायत विभिन्न जिल्लाका ५०० जनाको उद्धार गरिएको छ ।

अहिलेसम्मको प्राप्त विवरणमा बाढी, पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्ये १५ जिल्लाका अधिकांश राजमार्ग तथा विद्युत् र फोनसेवासमेत अवरुद्ध भएको छ । भौतिक क्षति धेरै भएको जनाइएको छ । महाकाली नदीको खतराको तह सात मिटर रहेकामा झण्डै नौ मिटरमा बगिरहेको जनाइएको छ । मनसुनी वायु प्रणाली बाहिरिएका बेला छुट्टै खालको नयाँ प्रणाली विकास भएर तहसनहस भएको छ । कृषिमा ठूलो असर गरेको प्राधिकरणका प्रमुख पोखरेलले बताउनुभयो ।

आजको मध्यरातपछि भने पूर्वतर्फ सर्दै आइ गण्डकी, लुम्बिनी हुँदै वाग्मतीका दक्षिणी भेग र मध्य क्षेत्रमासमेत प्रभाव पार्ने देखिएको छ । यस्तै प्रदेश १ को उत्तरी भूभाग तथा प्रदेश २ मा समेत वर्षा हुने भएकाले उच्च सतर्कतामा रहन स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन गरिएको छ ।

गृहमा विपद्को आकस्मिक बैठक

मुलुकको पश्चिम क्षेत्रमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएपछि गृहमन्त्रालयमा आज साँझ विपद् व्यवस्थापनसम्बन्धी आकस्मिक बैठक बसेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले राहत र उद्धारमा तत्कालै परिचालन हुन, विस्थापितलाई अस्थायी आश्रयस्थलमा सुरक्षित साथ राख्न र अवरुद्ध भएका सडक, विद्युत् तथा टेलिफोन सेवा तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको छ । बैठकमा कृषि क्षेत्रमा भएको क्षतिलगायत समग्रको विवरण सङ्कलन कार्य तीव्र पार्ने निर्णय पनि गरिएको छ । छलफल विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक छिट्टै गर्ने निर्णय पनि भएको पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा गृहमन्त्रीले प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर राख्न निर्देशन दिनुभएको छ । सरकारी हेलिकप्टरले नपुगेमा निजी क्षेत्रको हेलिकप्टर पनि तयारी अवस्थामा राख्न उहाँले निर्देशन दिनुभएको छ । अझै पनि सुदूरपश्चिमका नदीमा पानी बहाव बढिरहेको र अझै पूर्वतर्फ सर्दै गएकाले विशेष ध्यान दिन र उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी राहत उद्धारमा जुट्न सबै निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।

बैठकमा मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले देशभरको बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी गराउनुभएको थियो । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकारीले उद्धार कार्य र सूचना सङ्कलनको प्रगति विवरणबारे जानकारी गराउनुभएको थियो । बैठकमा गृहसचिव पाण्डेले सूचना प्रवाह महत्वपूर्ण कुरा भएकाले सम्बन्धित विपद् क्षेत्रमा मोबाइलमार्फत जानकारी दिने विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । सुरक्षा निकायलाई एकीकृतरुपमा परिचालन हुन पनि उहाँले निर्देशन दिनुभयो । उहाँले उद्धार राहत तथा अस्थायी बसोबासको व्यवथापन गर्न पनि मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस