‘घर छोडेर जान मन लागेको छैन’


भजनी, ३ कात्तिक (रासस) ः कैलालीको टीकापुर नगरपालिका–२ विजयनगर शिविरमा मङ्गलबार अपराह्न ४ बजे कर्णाली नदीको बाढी गाउँमा पस्यो । बाढीको पानी बढ्दै गएपछि सोही शिविरमा बस्दै आउनुभएका निरक चौधरीले घरमा भएको सबै सरसामान छिमेकीको घरमा सार्नुभयो । साँझको खाना पकाएर खानै नपाउँदा उहाँको भान्सामा पानी पस्यो । परिवार खाना नै खान नपाउँदै र भान्सामा रहेको सामान सार्न नपाउँदै भान्सा घर बाढीले भत्कायो ।

“खाना खाएर निस्केको भए सबै परिवारलाई घरले च्याप्थ्यो । धन्नले कुनै घटना भएन ।” उहाँले भन्नुभयो, “ एक छाक भोकै भएर पनि ज्यान जोगियो ।” अहिले निरकको परिवार सोही क्षेत्रमा रहेको एक बिधालयमा आश्रय लिएर बसिरहेका छन् । सोही शिविरमा बस्दै आउनुभएकी सीता चौधरीको परिवार पनि सोही नदीको बाढीबाट विस्थापित भएको छ । उहाँको घरभित्रसम्म पानी पसेको छ भने परिवारका सदस्यलाई बिद्यालयमा व्यवस्थापन गरिएको छ । उहाँ भने घर र घरको अन्नपात कुरेर जोखिममा बस्नुभएको थियो । “अरु सबै बिद्यालयमा बसेका छन् । घरको अन्नपात र पशु चौपायालाई हेर्नको लागि पनि घरमै बस्नुपरेको छ ।” उहाँले भन्नुभयो, “बर्सेनि यस्तै सास्ती खेप्दै आएका छौँ । राष्ट्रिय गौरवको आयोजनाले कर्णाली नदीमा तटबन्धको काम गर्दै आएको त सुनिन्छ तर कता गरिरहेको छ थाहा छैन । त्यसको हामीलाई कुनै असरसम्म पनि परेको छैन ।”

मङ्गलबार राति ९ बजे विजयनगर शिविरकै विक्रम चौधरीको घर वरिपरिबाट पानीका भंगालो बगिरहेको थियो । परिवारलाई सुरक्षित स्थानमा सार्नुभएका उहाँलाई घर र घरमा भएको सामानको मायाले घर छोड्न दिएको थिएन । दुवै तिरबाट पानीका भंगालोको बिचमा रहेको घरमा चौधरी एकलै बस्नुभएको थियो । “घर छोडेर जान मन लागेको छैन । अवस्था कस्तो हुन्छ त्यसैको प्रतीक्षामा म घरमै बसिरहेको छु ।” उहाँले भन्नुभयो, “खेतमा लगाएको अन्नबाली र तरकारी खेती सबै बाढीले बगाएर लगेको छ । एकातिर ज्यान जोगाउन मुस्किल भएको छ भने, अर्कोतिर बस्तुभाउलाई बचाउन ।”

नगरपालिकाअन्तर्गतका सातवटै शिविर डुबानमा परेका छन् । विजयनगर शिविरमा जङ्गली हात्तीको त्रासले स्थानीय झनै आतङ्कित भएको स्थानीय बलबहादुर बुढाले जानकारीदिनुभयो । उहाँले गाउँमा बढी पसेसँगै जङ्गलबाट गाउँ पसेको हात्तीले केही घर भत्काउनुको साथै घरमा रहेको अन्नपातसमेत नष्ट गरेको बताउनुभएको छ ।

नदीको मुख्य तीन कुला रानी, जमरा र कुलरीया कुलामा पानीको सतह अत्यधिक बढेको छ । ती कुलामा पानीको सतह बढ्दा कर्णालीका तटीय क्षेत्रका सयाँै परिवार विस्थापित भएका छन् भने टीकापुर बजारका मुख्य सडकसमेत जलमग्न बनेका छन् । अहिलेसम्म दर्जनभन्दा बढी पसलमा बाढी पसिसकेको छ । टीकापुर–१ को ब्लक नं १४ का अधिकांश घर डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस