कांग्रेसलाई गुटउपगुटमुक्त पार्टी बनाइन्छ : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले गुटउपगुटले कांग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने बताउनुभयो । बागलुङस्थित नेपाली कांग्रेस काठेखोला गाउँपालिका–५ बिहँुले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो कांग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गर्नुभयो ।

“हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो गुट हैन”, पौडेलले भन्नुभयो, “महाधिवेशनपछि कांग्रेस झनै सशक्त भएर अगाडि बढ्छ, कांग्रेस अब व्यक्ति हैन पार्टी हो, कसैले शेरबहादुर र रामचन्द्र भनेर ट्याग लगाउन जरुरी छैन ।” उहाँले मुलुकको संविधानको खेलबाड संविधानको पालकबाटै हुने गरेको भन्दै यस्तो कार्यले कसैलाई फाइदा नगर्ने बताउनुभयो । पौडेलले एकलौटी ढङ्गले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन खोजेकोसमेत आरोप लगाउनुभएको थियो ।

उहाँले कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुट बाहिर रहेर लोकतन्त्रका पक्षमा उभिन कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । उहाँले मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ खण्डमा कालोपत्रका लागि भइरहेको ढिलाइप्रति आफ्नो ध्यानार्कषण भएको भन्दै यसलाई तत्काल अगाडि बढाउन पहल गर्ने बताउनुभयो ।

यो पनि – कांग्रेसद्वारा उद्धार र राहतमा खट्न तीनै तहका सरकारलाई आग्रह

नेपाली कांग्रेसले बाढी, पहिराबाट दर्जनौँ जिल्लामा ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता, कैयौैँ घाइते र कैयौँ विस्थापित हुन पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।  केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ भने जनजिवन अस्तव्यस्त भएको छ । कांग्रेसले आज एक विज्ञप्तिमार्फत प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारलाई आवश्यक समन्वय र व्यवस्थित योजना साथ ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न पार्टीकोतर्फबाट सरकारसँग माग गर्नुभएको छ ।

कांग्रेसले प्रभावित जिल्लाका पार्टी र र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले नेता कार्यकर्तालाई उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न अपिल गरेको छ । प्राकृतिक प्रकोपमा जीवन गुमाउनुभएका सबैप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै पार्टीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो पनि – महाकाली राजमार्ग खुल्यो

अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग आज पुनःसञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडीलगायत स्थानमा सोमबार पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । पहिरो पन्छाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रु खुलेसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । यसका साथै गृहजिल्ला दार्चुला जान लाग्नुभएका कानून, न्याय तथा संसदीयय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसमेत बाटो खुलेसँगै आज दार्चुला प्रस्थान गर्नुभएको थियो । गएको तीन दिनदेखि अवरुद्ध रहेको विद्युत् र नेपाल टेलिकमको सेवा पनि सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस