हुम्लाकोतुम्लिङमा फसेका चार विदेशी र तीन नेपालीको हेलिकोप्टरमार्फत उद्धार


सिमकोट, ४ कात्तिक (रासस) ः हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो । हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने तीन उनीहरुसँगै गएका नेपाली नागरिक ट्रेकिङगाडइ छन् । अलपत्र परी उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् ।


हुम्लाको तुम्लिङमा अलपत्र परेका स्लोभिनियाका नागरिकलाई सिमकोट विमानस्थलमा हेलिकप्टरबाट उद्धार गरिँदै । तस्बिरः दाने बोहरा÷रासस

हिमपातले तीनदेखि लिमीको तुम्लिङमा अलपत्र परेका स्लोभानियाली तीन पुरुष र एक महिलासहित तीन नेपाली ट्रेकिङगाइडको एयर डाइनेष्टिक हेलिकोप्टरबाट उद्वार गरी सिमकोट ल्याइएको छ । सदरमुकाम सिमकोटबाट लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमीको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङगाइड अशिम तामाङले जानकारीदिनुभयो । लिमीको हल्जीगाउँमा गएर टेलिफोन गरी हेलिकोप्टर बोलाएको उहाँले बताउनुभयो । यस्तै उनीहरुसँगै तुम्लिङमा फसेका अन्य छ नेपाली नागरिक आजबाट मौसम सफा रहेकाले पैदलमार्ग भएर खच्चडबाट सिमकोट पुग्ने भएको तामाङले जानकारी दिनुभयो । आइतरबार रातिदेखिको अविरल वर्षा र हिमपातले तीन दिनदेखि उनीहरु तुम्लिङमा फसेका थिए ।

यो पनि – नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन् ।   पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना रोकिएका हुन् । असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो । आइतबारबाट परेको बाक्लो हिमपातको कारण न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिनुपरेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताउनुभयो ।

न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन ।

यो पनि -पुरानै लयमा फर्किदै छ बेनीको बजार

गलेश्वर, ४ कात्तिक (रासस) ः ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल…’ । चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार कोभिड–१९ को सङ्क्रमणको दर कम हुँदै गएपछि पुनः पुरानै लयमा फर्किन सुरु गरेको छ । म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीरकणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् । विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालीन समयमा भोट तिब्बत र मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरुपले सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रुपमा बेनी बजार रहेको छ ।

कोभिड–१९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल शून्य भएको थियो । तर, गत भदौदेखि सङ्क्रमण दर घटेसँगै बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थल रहेको म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई वर्षपछि पुनः चहलपहल बढेको स्थानीयले बताएका छन् ।

कोभिड–१९ को त्रासका कारण पर्यटक आउनसक्ने वातावरण नभएपछि सुनसान वनेका पर्यटकीयस्थलमा असोज सुरु भएपछि पर्यटकको भीड लाग्न थालेको छ । व्यापार व्यवसाय बढ्न थालेको छ । पर्यटकीयस्थल पर्यटकको प्रतीक्षा गरिरहेका छन् । विसं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रुप लिएपछि व्यापार व्यवस्थितत गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ ।

इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपवम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिङ्गा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उहाँले जानकारी दिनुभयो ।

पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती विश्वकर्माको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । उहाँले भन्नुभयो, “गोरखाले बेनी कब्जा मात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।” उहाँका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारीबेनी थियो । बागलुङ मुस्ताङतिरको थोक बजार पारीबेनी नै थियो ।

बेनीमा स्कुल ÷ पाठशाला नखुल्दै पारी बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्ले पछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताउनुभयो । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको उहाँको भनाइ रहेको छ ।

अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य घर ठडिएका छन् । अति महँगो बजारमध्येको बजार बन्न पुगेको छ बेनी बजार । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेको क्रम तीव्ररुपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोवार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ ।

पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था बढेका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक रु चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटेल र यातायात क्षेत्रमा यहाँका व्यवसायीले ठूलो लगानी गरेका छन् ।

बेनी नगरपालिकाको ७ र ८ गरी दुई वटा वडामा समेटिएको बेनीबजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १४.४५ जनघनत्व रहेको बेनी बजारमा २०६८ को जनगणनाको तथ्याङ्कअनुसार दुई हजार घरधुरी र सात हजार जनसङ्ख्या रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस