बाढी, पहिराबाट मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने


पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएकाले सो निर्णय गरेको हो । यद्यपि दाहसंस्कारका लागि ‘शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपत् प्रकोप (बाढी, पहिरो)कै कारण मृतकको मृत्यु भएको स्पष्ट यकीन भएको’ मुचुल्का भने तयार पार्नुपर्ने बैठकले निर्णय गरेको छ । सम्बन्धित वडाको वडाध्यक्षको रोहबरमा स्थानीयवासीलाई साक्षी राखी प्रकोपकै कारण मृत्यु भएको मुचुल्का गरी दाहसंस्कार गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

बाढी र पहिराका कारण हालसम्म जिल्लामा २६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गाउँमा मृत्यु भएकालाई बजारी क्षेत्रमा पु¥याई शव परीक्षण गर्न सकिने अवस्था नरहेको तथा चिकित्सकलाई गाउँमा लगेर शव परीक्षण गर्नसक्ने स्थिति नरहेकाले सो निर्णय गरिएको प्रजिअ ढकालले बताउनुभयो ।

बैठकले जिल्लामा विपत्को स्थितिबारे थप सचेत र सजग भई उद्धार र राहतका कार्यलाई तीव्र र व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सो प्रकारको तयारी गर्ने निर्णयसमेत गरेको छ । बाढी तथा पहिराका कारण पाँचथरमा हालसम्म २६ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । यस्तै आठ जना घाइते भएका छन् ।

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

बाढी र पहिराबाट घाइते बनेका यहाँका चार जना घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–२ र ५ का उनीहरुलाई हिजो र आज नेपाली सेनाको हेलिकप्टर उद्धार गरेको हो । उद्धार गरिएका घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको व्यवस्था गरिएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो । मङ्गलबार राति पहिरामा परी घाइते भएकी मिक्लाजुङ–५ की अन्दाजी ४० वर्षीया दिलकुमारी राईलाई हिजो हेलिकप्टरमार्फत उद्धार गरी धरान पु¥याइएको थियो ।

पहिरामा परी घाइते भएका सोही वडाका २८ वर्षीय विशाल लावतीलाई आज बिहान उद्धार गरिएको छ । यस्तै आजै मिक्लाजुङ–२ की २३ वर्षीया आशा शेर्मा र मिक्लाजुङ–५ का अन्दाजी ५५ वर्षीय दिनेश लावतीलाई नेपाली सेनाको १ नम्बर पृतनाको हेलिकप्टरले उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएको गाउँपालिका अध्यक्ष माखिमले जानकारी दिनुभयो ।

उद्धार गरिएका शेर्मा र लावतीको अवस्था गम्भीर रहेको मिक्लाजुङ–२ का ढकेन्द्र भट्टराईले बताउनुभयो । तीन दिनसम्म अविरल वर्षाका कारण मिक्लाजुङमा मात्रै हालसम्म २१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । सडक मार्गबाट उपचारका लागि लैजाने अवस्था नभएपछि स्थानीय प्रशासनसँगको समन्वयमा उद्धार कार्य जारी रहेको अध्यक्ष माखिमले बताउनुभयो । प्रजिअ ढकालका अनुसार बाढी र पहिराका कारण गम्भीर घाइतेलाई गृह मन्त्रालयको समन्वयमा उद्धार गरी उपचारको प्रबन्ध गर्ने कार्य निरन्तर चल्नेछ ।

मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

यसैबीच पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले पहिरामा पुरिएर थप दुई जनाको मृत्यु भएको पुष्टि गर्दै सनाखत गरेसँगै मृतकको सङ्ख्या २८ पुगेको हो । प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–१ की सहमाया आङ्देम्बे र सोही गाउँपालिका–२ की गीता राईको पहिराले पुरिएर मृत्यु भएको हो । उनीहरुको उमेर भने खुल्न सकेको छैन । पाँचथर प्रहरीले यसअघि नै २६ जनाको मृत्यु भएको पुष्टि गर्दै सनाखत गरिसकेको छ ।

पाँचथरमा अझै छ व्यक्ति बाढी तथा पहिरामा परी बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्तामध्ये दुई जना इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी छन् । उनीहरु पहिरामा परी घाइते भएका पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ चिसापानी पञ्चमीका स्थानीयवासीको उपचारमा आएका थिए । यस्तै पाँचथरमा बाढी तथा पहिरामा परी आठ जना घाइते भएका छन् । घाइतेमध्ये मिक्लाजुङ गाउँपालिकाका चार जनालाई उद्धार गरी थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस