विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने जनाइएको छ । सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो ।
एक हजार ८०० किलो तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ । आज कागजी प्रक्रिया मिलाएर शनिबार सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराई एयरपोर्टमा राख्ने तयारी गरिएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घ, लुम्बिनी होटल सङ्घलगायतका सङ्घसंस्थाले बुद्धमूर्ति स्वागतका लागि भव्य तयारी गरेका छन् । विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइएको जनाइएको छ ।
बुद्धमूर्ति यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नुहुने कार्यक्रम छ । त्यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विषेश प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम छ ।
यो पनि – प्रसारण लाइन निर्माणका लागि सात टावर तयार
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि हालसम्म सात टावर निर्माण सम्पन्न गरिएका छन् । कूल ९४ मध्ये २७ फाउण्डेशनको काम सकिएको छ भने छवटा फाउण्डेशनको काम चलिरहेको छ । त्यस्तै २० टावरका लागि आवश्यक सामग्री फिल्डमा आउने क्रममा रहेको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।
प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।
प्रसारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने सङ्ख्या घटेकाले आइई पुनरावलोकन गरी स्वीकृतिका लागि विद्युत् विकास विभाग पठाइएको घिमिरेले बताउनुभयो । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न रु एक करोड ३१ लाख ३४ हजार ५१० मुआब्जा निर्धारण गरिएको छ ।
आयोजनाले तीनवटै प्याकेजका कामलाई तीव्रता दिइरहेको छ । प्याकेज–१ अन्तर्गत पनि निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ । प्याकेज–१ अन्तर्गतको नदी फर्काउने, बाँध निर्माणलगायत पहिलो प्याकेजका लागि आठ जना भियतनामी प्राविधिक साइटमै परिचालन छन् । उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्शन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो । उनीहरुले अहिले साइटमा क्याम्प निर्माण, रिभर क्रसिङसम्बन्धी काम गरिरहेका छन् । विस्तृत सर्वेक्षण र डिजाइनको काम पनि भइरहेको आयोजनाले जनाएको छ ।
प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । सोअनुसार हाल पाँच ठाउँमा काम भइरहेको छ । पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्कलगायतका काम चलिरहेको छ । सिनो हाइड्रोले हालसम्म पाँचवटा सुरुङको काम सकेको छ । एक सय ९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ ।